ad ad

अन्तर्वार्ता


कांग्रेस सत्ता गठबन्धन तोड्ने धन्दामा छैन, त्यो एक वर्षमा आफैँ टुट्छ : रमेश लेखक (अन्तर्वार्ता)

कांग्रेस सत्ता गठबन्धन तोड्ने धन्दामा छैन, त्यो एक वर्षमा आफैँ टुट्छ : रमेश लेखक (अन्तर्वार्ता)

नेपालखबर
माघ ८, २०७९ आइतबार १८:५०, काठमाडौँ

सत्ता गठबन्धनभित्रको समीकरण बदल्ने अपेक्षाका साथ कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो। सभामुख र उपसभामुखको निर्वाचन भइसक्दा कांग्रेसको सो प्रयास सफल भएको देखिँदैन। तर, दुवै पदमा गठबन्धन उम्मेदवारले सहज जित हात पारेका छन्। जसका कारण इतर समूहले सभापति शेरबहादुर देउवाले गरेको निर्णयको आलोचना गरिरहेको छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले के तयारी गर्दैछ? यही विषयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी :

सभामुख र उपसभामुखको चुनाव पनि सकियो। कांग्रेसले अपेक्षा गरेजस्तो सत्ता गठबन्धन टुट्ने स्थिति देखिएन नि?
हामी यो गठबन्धन तोड्ने, गठबन्धनको बीचमा छिर्ने धन्दामा हामी छैनौँ। त्यस्तो गतिविधिमा छैनौँ। बाहिर प्रचार के के गरिन्छ, त्यो थाहा छैन। प्रधानमन्त्री आफैँले चार वटा पद– राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख–का लागि सर्वदलीय सहमति खोज्ने भन्नुभयो। त्यसोभए ठिक छ, हामी कुरा गर्न तयार छौँ भन्यौँ हामीले। तर, प्रधानमन्त्रीले कुरा अगाडि बढाउनुभएन। हामीले उम्मेदवारी दियौँ। 

अब उहाँले अझै कुरा गर्न चाहनुभयो भने हामी कुरा गर्न तयार छौँ। उहाँहरुले कुरा गर्न चाहनुभएन भने हामी हाम्रो कोर्समा अगाडि बढ्छौँ। यो गठबन्धन तोड्ने, भत्काउनेभन्दा पनि हामी प्रतिपक्षको भूमिका निर्वाह गर्छौं। 

हामीले एउटा कुरा राम्ररी के बुझेका छौँ भने यो गठबन्धन एक वर्षमा आफैँ भत्किन्छ। यो कसैले भत्काउनुपर्ने गठबन्धन नै होइन। कांग्रेसभित्र कसैले सत्ता गठबन्धन भत्काउन लाग्नुपर्छ भन्छ भने त्यो कुरा नबुझेको हो। जुन कुरा आफैँ भत्किँदैछ, त्यसलाई भत्काउन लाग्नुको कुनै अर्थ छ र!

आफैँ भत्किन्छ त भन्नुभयो तर सत्ताधारी दलहरुबीच भागबण्डा मिलिसकेको देखिन्छ। कसरी भत्किन्छ?

कसरी भत्किन्छ भने कुनै पनि राजनीतिक गठबन्धनका लागि, सहकार्यका लागि आधारभूत मान्यताहरुमा त एकता हुनुपर्यो नि। तर, अहिलेको सत्ता गठबन्धनमा त्यस्तो छैन। गणतन्त्र मान्ने र गणतन्त्र नमान्नेहरु एकै सरकारमा। संघीयता मान्ने र संघीयता नमान्नेहरु एकै सरकारमा। संविधानका आधारभूत मान्यताहरुमै मतान्तर भएका मानिसहरुको सरकार छ। 

अहिलेलाई त विभिन्न मन्त्रालयहरुको भागबण्डा, व्यवस्थापनका लागि उहाँहरु एकठाउँमा आउनुभएको छ। यो कुरा बुझिएकै छ। तर, यो संविधानको कार्यान्वयनको परिस्थिति आउँदाखेरी संघीयतालाई बलियो बनाएर यो संविधानको कार्यान्वयन गर्न उहाँहरु एक ठाउँमा उभिनुहुन्छ त? प्रदेश चाहिँदैन भनेर प्रदेशमा चुनाव नलडेका मानिसहरु सरकारमा बस्नुभएको छ। उहाँहरु प्रदेशलाई अधिकार दिन तयार हो?

त्यसैले मैले भन्न खोजेको के हो भने यो गठबन्धनको जग नै कमजोर छ। कुनै पनि संरचना बलियो बन्नका लागि जग बलियो हुनुपर्छ। यो गठबन्धनको राजनीतिक धरातल नै यति विविधतायुक्त छ, कसरी यो गठबन्धन चल्छ? त्यसकारणले यो गठबन्धन आफैँ भत्किन्छ। भत्किसकेपछि के हुन्छ र कसरी राजनीति अघि बढ्छ भन्ने कुरा त्यतिबेलै थाहा हुने कुरा हो। तर, गठबन्धन एक वर्षमा भत्किन्छ।

त्यसोभए राष्ट्रपतिको चुनावमा कांग्रेसले के गर्छ?
मैले भनिहालेँ, प्रधानमन्त्रीले जसरी प्रस्ताव राख्नुभएको छ, त्यो अनुसार उहाँले कुरा गर्न चाहनुभयो भने हामी कुरा गर्न तयारै छौँ। 

तर, गठबन्धनभित्र एमाले ज्यादा निर्णायक छ। प्रचण्डको प्रस्ताव सार्थक होला?
त्यो कुराले पनि यो गठबन्धन धेरै चल्दैन भन्ने स्पष्ट हुन्छ। 

माओवादीसँग तपाईंहरुको गठबन्धन टुटेपछि कांग्रेसका कतिपय नेताले अब प्रतिपक्षमा बस्नुपर्छ, बलियो र उदाहरणीय प्रतिपक्षको भूमिका खेल्नुपर्छ भन्नुभयो। तर, पार्टीले तुरुन्त गठबन्धन ढालेर सरकारमै जानुपर्छ, जान सकिन्छ भनेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुभयो। त्यसो गर्दा कांग्रेसले सशक्त प्रतिपक्षको हैसियत पनि गुमायो भनेर आलोचना भइरहेको छ नि!
यसमा पाँच ओटा कुरामा स्पष्ट हुन जरुरी छ। पहिलो कुरा, हामी सरकारमा जाँदैनौँ। हामी सरकारमा छैनौँ। दोस्रो, हामी प्रमुख प्रतिपक्ष हौँ। प्रतिपक्षकै भूमिकामा रहन्छौँ। तेस्रो कुरा, यो गठबन्धन एक वर्षभन्दा बढी जाँदैन। चौथो, यो गठबन्धन फुटाउन हामी लागेका छैनौँ, लाग्दैनौँ। तर, आफैँ फुट्छ। पाँचौँ, यो गठबन्धन ढलिसकेपछि के हुन्छ, त्यो त्यतिबेला मात्रै थाहा हुन्छ। 

यो कुराले पार्टीमा त असन्तुष्टि छ नि। त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ? 
के असन्तुष्टि छ र?

नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयविरुद्ध नोट अफ डिसेन्ट नै लेख्नुभएको छ। सभापति शेरबहादुर देउवाबाट अब पार्टी चल्दैन, राजीनामा दिनुपर्छ भन्ने वक्तव्यहरु पनि आएका छन्...
त्यस्तो कहीँ छैन। तपाईंले हेर्नुभयो होला, संसदमा हाम्रा नेताहरु बोलिराख्नुभएको छ। संसदमा हाम्रा सबै नेताहरु एकताबद्ध भएर प्रस्तुत हुनुभएको छ कि छैन? २६ गतेदेखि हामी सदनमा बोलिरहेका छौँ। सबैभन्दा पहिले सभापति तथा दलका नेता शेरबहादुर देउवा बोल्नुभयो। त्यसपछि महामन्त्री बोल्नुभएको छ। हिजो सहमहामन्त्री बोल्नुभयो, अर्जुननरसिंह केसी बोल्नुभयो। पर्सि रामचन्द्र दाइ बोल्दै हुनुहुन्छ। तपाईंले सदनमा कांग्रेसका नेताहरुको सम्बोधनमा कहीँ विरोधाभाष देख्नुभएको छ? छैन नि। अब जे देखिन्छ, त्यो भन्नुपर्यो। नदेखिएको अमूर्त कुरा गर्नुभएन। 

पार्टीभित्र छलफलका केही विषय होलान्। त्यो भएन भने त पार्टी कसरी जीवित रहन्छ, भन्नुस् त!

उसोभए पार्टीभित्र अहिले जेजति असन्तुष्टि छन्, त्यो बढेर जाँदैन भन्नेमा ढुक्क हुनुहुन्छ?
जाँदैन। गएको छैन। पार्टीभित्रको छलफललाई अन्तर्विरोधका रुपमा लिनु हुँदैन। आन्तरिक छलफलले पार्टीलाई जीवन्त पार्छ। कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको देखिइसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .