अन्तर्वार्ता


‘कांग्रेसमा असोज १४ पछि कठोर निर्णय आउन सक्छ’ (अन्तर्वार्ता)

एक्लै चुनाव लड्दा कांग्रेसको बहुमत आउँछ : जगदीश्वर नरसिंह केसी
‘कांग्रेसमा असोज १४ पछि कठोर निर्णय आउन सक्छ’ (अन्तर्वार्ता)

कांग्रेस नेता जगदीश्वर नरसिंह केसी। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
असोज ११ , काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेस यतिबेला आन्तरिक विवादमा फसेको छ। समानुपातिकको बन्दसूची निर्माणमा देउवा पक्षले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले दिनहुँजसो भेला र खबरदारी कार्यक्रम गरिरहेको छ। र, यस्तो खबरदारी सभाको  नेतृत्वकर्तामध्ये एक हुन् नुवाकोट कांग्रेसका निवर्तमान सभापति एवं पूर्वसभासद जगदीश्वरनरसिंह केसी।

आखिर नेपाली कांग्रेसभित्रको विवादको अन्तर्य के हो? समानुपातिकमा टिकट पाउने र नपाउनेहरुको मात्रै विवाद हो कि यसमा कुनै राजनीतिक–वैचारिक अन्तरविरोध पनि लुकेको छ? शेखर कोइराला पक्षको माग चाहिँ के–के हो? र, चुनावको मुखमा देखा परेको कांग्रेसभित्रको दुई लाइन संघर्षको बिसौनी कहाँनेर छ?

यिनै राजनीतिक एवं संगठनात्मक प्रश्नहरुमा सोमबार नेपालखबरले नेपाली कांग्रेसका शेखर समूहका नेता केसीसँग नेपालखबरकै कार्यालयमा अन्तरंग कुराकानी गरेको छ। सोमबार खबरदारी बैठकमा भाग लिएर सोझै नेपालखबरको कार्यालयमा आइपुगेका केसीले सभापति देउवालाई असोज १४ सम्मको अल्टिमेट दिइएको बताए।

‘आज (सोमबार) पनि हामी बैठक बसेका थियौं। देशभरिका ४०–५० जना साथीहरु थियौं। आजको बैठकले असोज १२ गते एक घण्टा पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको छ। १३ गते खबरदारी सभा अन्तरगत नै विजयादशमीको चियापान समारोह गर्ने निर्णय भएको छ,’ केसीले नेपालखबरसँग भने, ‘१४ गतेसम्म यो समानुपातिकको सूची सच्चिएन र यत्तिकै गयो भने त्यसपछिको निर्णय ऐतिहासिक र कठोर हुन सक्छ।’

नेपाली कांग्रेसभित्र शेखर पक्षले ६०–४० प्रतिशतको भागबण्डा खोजेको हो? भन्ने प्रश्नमा केसीले प्रकाशनमान, कृष्ण सिटौला, विमलेन्द्र, रामचन्द्र आदि नेतालाई मिलाउने जिम्मा देउवाकै भएको बताए।

केसीले भने, ‘१४ औं महाधिवेशनमा शेखर समूह र संस्थापन पक्ष समूह मात्र हो। संस्थापन पक्ष समूहमा रामचन्द्र पौडेल गाँसिनुभयो। प्रकाशमान उतै गाँसिनुभयो। कृष्ण सिटौला उतै गाँसिनुभयो। शशांक कोइराला उतै गाँसिनुभयो। सुजाता कोइराला उतै गाँसिनुभयो। विमलेन्द्र निधि पनि उतै गाँसिनुभयो। यस कारण, ४० मा जम्मैलाई ल्याएर राख्ने काम नगर्नुस्। उहाँहरुलाई सभापतिले दिने भाग हो। आफ्नो ६० प्रतिशतबाट उहाँहरुलाई भाग दिनु पर्यो। अरु जम्मैको भाग यता ल्याएर गाँस्न हामी तयार छैनौं।’

त्यसैगरी हाल माओवादी लगायतका दलसँग भइरहेको गठबन्धनप्रति पनि शेखर समूहको असहमति रहेको केसीले बताए। तर, कांग्रेसको केन्द्रीय कमिटी बैठकले नै गठबन्धन गरेर चुनावमा जाने भनिसकेकाले गठबन्धन गर्न बाध्य भइएको बताउँदै उनले १ सय सिटभन्दा तल ओर्लन नहुने सभापति देउवालाई सुझाव दिए।

प्रस्तुत छ, नेता केसीसँग अरुण बराल र केशव सावदले गरेको कुराकानी–  

  

चुनावको मुखमा कांग्रेसभित्र विवाद देखिएको छ। संस्थापन इतर समूहले छुट्टै भेलाहरु गरिरहेको छ। भेला आयोजना गर्नेमा तपाईं अग्रपंक्तिमा देखिनुभएको छ। चुनावको मुखमा समानुपातिकको बन्दसूचीलाई लिएर कांग्रेसमा विवाद चर्किनुको चुरो कुरो के हो? एक ढिक्का भएर लड्नु पर्नेबेलामा तपाईंहरु किन संस्थापन पक्षसँग निहुँ खोजिरहनुभएको?
यसलाई निहुँ खोजेको भन्दा पनि पार्टीभित्र समान अवसर र न्यायका लागि हो। अवसर समान पाउनु पर्यो। न्याय पनि सबैलाई हुनु पर्यो। यो पक्ष, ऊ पक्ष होइन कि पार्टीभित्र त्याग, तपस्या, बलिदानी, निष्ठा, आदर्श, लोकप्रियता, जनप्रियता, जनताको दुःख–सुखमा भिजेका मान्छेले टिकट पाउनुपर्छ।

तर, हामीले समानुपातिकको सूची नआएसम्म पार्टीभित्र न्यायका लागि एक प्रकारको आवाज उठायौँ। निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूची हेरिसकेपछि पार्टीभित्र समान न्याय पनि भएन, समान अवसर पनि भएन भन्ने देखियो।

एकलौटी ढंगले पार्टीको समानुपातिक सूचीमा नाम जाँदा सभापति पक्षकै धेरैमाथि अन्याय भएको छ। पार्टीको इतर पक्षलाई त झनै बाइपास गरिएको अवस्थामा यो अन्यायपूर्ण सूची निर्वाचन आयोगमा गयो। यो अन्याय नहोस्, यसलाई सच्याउनुपर्छ।

असोज १६ गतेभन्दा अगाडि पार्टीका सबै नेताहरु बसेर पार्टीभित्र एकता कायम गर्न पर्यो, पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति हो। बल हो। यो बल कायम राख्नु सभापतिजीको दायित्व हो।

त्यसकारण हामीले हाम्रो सभापतिजीसँग सबैलाई मिलाएर जानुस् भनेका हौं। उहाँको ‘अम्ब्रेला’ भित्र हामी सबै छौँ। सबै उहाँका कार्यकर्ता हौं। कसैलाई काखा, कसैलाई पाखा, को नजिक, को टाढा होइन, त्याग तपस्या, बलिदानी, निष्ठा र आदर्शका आधारमा, पार्टीभित्रको निरन्तरताका आधारमा, वरिष्ठताका आधारमा अवसर दिइयोस् भन्नका लागि हामीले खबरदारी सभा गरिराखेका छौं।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा समावेश भएका ११० जनामध्ये शेखर समूहबाट कतिजना पर्नुभएको छ?
म प्रतिशतका रुपमा लिन्नँ। हरेक क्लस्टरमा अन्तिमका दुईवटा नाम, अन्तिमको एउटा नाम निर्वाचित हुँदैनन्। निर्वाचित हुने सम्भावना नै रहँदैन। जुन अन्तिमका दुईवटा र तीनवटा नाम राखिदिएर सूचीमा नाम त छ नि भन्ने जुन आभास मात्रै दिइएको छ, त्यो गलत हो। यसैमा हाम्रो असहमति हो।

किनभने संस्थापन पक्षले कुनै पनि क्लस्टरमा नाम प्रस्ताव गर्छ भने दोस्रो नम्बरमा इतर समूहको नाम हुनुपर्छ। फेरि तेस्रो नम्बरमा उहाँहरुको नाम होस्, चौथो नम्बरमा इतर पक्षको होस्। यसले ब्यालेन्स हुन्छ। 

यसरी हरेक क्लस्टर मिलाउनुपर्यो भन्ने तपाईंहरुको माग हो?
हो, त्यसरी मिलाउनुपर्छ। तर, हरेक क्लस्टरमा ६, ७, ८ नम्बर जुन सम्भावना नै छैन, त्यहाँ नाम राखिदिएर प्रतिशतको हिसाब नै भएन। एउटा पनि निर्वाचित नहुने ठाउँमा केको प्रतिशत? कमसेकम ८–१०–१५ वटा सबै क्लस्टरमा आउनु त पर्यो नि।

हिजो कांग्रेसले समानुपातिकमा ४० सिट ल्याएको थियो, भोलि ५० सिट ल्याउला। ५० सिटमध्ये १८–२० सिट अथवा २२ सिट अर्को पक्षका मान्छे पनि निर्वाचित हुने परिस्थिति हुनुपर्यो। एउटा पनि निर्वाचित नहुने अवस्थामा नाम पर्यो कि परेन, कुनै अर्थ नै छैन।

इतर समूहका एकजना पनि निर्वाचित नहुने गरी समानुपातिकको बन्दसूची बनाइएको छ र?
एउटा क्लस्टरमा एकजना मान्छे छिर्न सक्छन्। मात्र एउटा क्लस्टरमा। नत्र भने कहीँ पनि कोही पनि छिर्ने सम्भावना छैन।

उसोभए, तपाईंहरुले संस्थापन पक्ष र शेखर पक्षबीच ६०–४० प्रतिशतको भागबण्डा गरौं भन्नुभएको हो?
पार्टीभित्र समान अवसर र न्याय दिनुपर्छ। समान न्याय र अवसर दिँदा हरेक निर्वाचन क्षेत्रमा चारजना आकांक्षी होलान्। तीमध्ये निर्वाचनको मैदानमा अघि सारिने मान्छे पपुलर हुनु पर्यो। कार्यकर्ताको बीचमा लोकप्रिय हुनु पर्यो। चुनावमा त जनताको बीचमा जाने हो नि, भोट लिने हो नि। त्यो क्षेत्र कांग्रेसको हातमा पार्ने हो नि।

कांग्रेसले भाग पाएको क्षेत्रमा व्यक्ति केन्द्रित भएर टिकट दिने हो भने हामीलाई कुनै ४० प्रतिशत चाहिन्नँ। व्यक्ति केन्द्रित नभइकन हचुवाका भरमा त्यो क्षेत्रमा फलानोले पाउने, यो क्षेत्रमा फलानोले पाउने भन्ने हो भने आफ्ना मान्छे केन्द्रित हुँदा त अन्याय हुन्छ।

कि टिकट वितरण गर्दा व्यक्ति केन्द्रित भएर लोकप्रियताका आधारमा मान्छे छानौं। हैन भने ४० र ६० को जुन प्रावधान छ, त्यही अनुसार गरौं। यो प्रावधानका प्रतिपादक आजको मेरो पार्टीका सभापति हो। मेरो पार्टीका सभापति जुनबेला गिरिजाबाबुसँग सभापतिमा हार्नुभयो, त्यसपछि उहाँले ४० र ६० प्रतिशतको अवधारणा ल्याएको हो।

उहाँले गिरिजाबाबुसँग हरेक क्षेत्र राजदूत नियुक्त गर्न, केन्द्रीय सदस्य मनोनित गर्न, सांसदका लागि टिकट वितरण गर्न र भ्रातृ संस्थाको मनोनयन अथवा निर्वाचन गर्न ४० प्रतिशत लिनुभयो। त्यो बेलाको संस्थापनले ६० प्रतिशत लिएको हो।

यो प्रक्रिया निरन्तररुपमा चल्यो। सुशील कोइरालाका पालामा त विभाग गठनमा ३५ कि ३६ प्रतिशत भएको थियो, उहाँ (देउवा) ले  पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएर नौ महिनासम्म मिटिङमै भाग लिनुभएन। नौ महिना मिटिङमा भाग नलिने, केन्द्रीय समितिबाट राजीनामा दिनेसम्मको हर्कत उहाँले नै गर्नुभएको हो। उहाँले स्थापित गर्नुभएको नजीरलाई आज पनि कार्यान्वयन गरिदिनुस् भन्ने हाम्रो विनम्रता हो, आग्रह हो, अनुरोध हो।

उहाँ मेरो पार्टीको सभापति हो, मैले उहाँसँग जसरी झुक्दा पनि हुन्छ। मलाई केही फरक पर्दैन। सभापतिज्यू, आदरणीय व्यक्तित्व, अहिले होइन, उहाँ सभापति नहुँदा पनि विद्यार्थीकालदेखि नै उहाँको समीपमा छु। मेरो दाजुसँगको जुन किसिमको सामीप्य थियो, अर्जुन दाइलाई राखेको भात उहाँहरु दुईजनाले बाँडिचुँडी खाएर हिँड्नु हुन्थ्यो। त्यो बेलादेखिको सम्बन्ध हो, यो आजको होइन। उहाँले अहिले पनि हामीलाई भन्दा तँ नै भन्नुहुन्छ। किन भन्दा हिजोदेखिको सम्बन्धले गर्दा हो।

त्यसकारण उहाँ हाम्रो आदरणीय व्यक्तित्व हो। व्यक्तित्वको हिसाबले भन्दा पनि आज हामी उहाँसँग सभापतिको हैसियत र नाताले न्याय मागिरहेका छौं। ४०–६० मा जानुहुन्छ भने तयार छौँ। समान न्यायको हिसाबले जानुहुन्छ, त्यो पनि ठीक छ। व्यक्ति केन्द्रित भएर लोकप्रिय व्यक्तिलाई टिकट दिनुहुन्छ भने त्यो पनि ठीक छ। हामी सबै अप्सनलाई खुला राखेर न्याय होस् भन्नेमा छौँ।

समानुपातिकको सूचीमा पहिलो नम्बरमा संस्थापनको मान्छे छ भने अर्काेमा शेखर समूहको मान्छेको नाम हुनु पर्यो, अर्कोमा प्रकाशमानको, अर्कोमा कुनै अरु समूहको हुनु पर्यो। यसरी मिलाऔं भन्ने हो तपाईंहरुको माग?
तपाईंले जुन प्रकाशमान सिंहको नाम लिनुभयो, गएको १४ औं महाधिवेशनमा शेखर समूह र संस्थापन पक्ष समूह मात्र हो। संस्थापन पक्ष समूहमा रामचन्द्र पौडेल गाँसिनुभयो। प्रकाशमान उतै गाँसिनुभयो। कृष्ण सिटौला उतै गाँसिनुभयो। सशांक कोइराला उतै गाँसिनुभयो। सुजाता कोइराला उतै गाँसिनुभयो। विमलेन्द्र निधि चुनाव लड्नुभयो तर पछि उहाँ पनि उतै गाँसिनुभयो।

यस कारण, ४० मा जम्मैलाई ल्याएर राख्ने काम नगर्नुस्। भोट हाल्ने बेलामा आफू लिने अनि अहिले ४० प्रतिशत तिमीहरु सबै हौ भन्ने कुरो कता–कता आइरहेको छ, यो हामी मान्न तयार छैनौँ। उहाँहरुलाई उहाँ (सभापति) ले दिने भाग हो। आफ्नो ६० प्रतिशतबाट उहाँहरुलाई भाग दिनु पर्यो। ४० प्रतिशत भनेको ४२ प्रतिशत महाधिवेशन प्रतिनिधिले मतदान गरेको पक्ष शेखर कोइराला समूह हो। ४० प्रतिशतमा यो समूहले जे निर्णय गर्छ, त्यही हुन्छ। अरु जम्मैको भाग यता ल्याएर गाँस्न हामी तयार छैनौं।

भनेपछि १४ औँ महाधिवेशनमा देउवालाई सघाउने नेताहरुको जिम्मा सभापति शेरबहादुर देउवाले नै लिनु पर्यो?
मैले जे नाम लिएको छु उहाँहरु मेरा नेता हुनुहुन्छ। १३ औँ महाधिवेशनपछि म पौडेल समूहको भनेर चिनिने मध्येको हुँ। हाम्रै समूहमा हुनुहुन्थ्यो। तर, १४ औैँ महाधिवेशनमा उहाँहरुको जुन भूमिका हो, त्यो भूमिका सभापतिजीको पक्षमा पोजेटिभ देखियो।

उसोभए ४० प्रतिशतमा सबै समूहलाई समेट्नु पर्छ भन्ने जुन भाष्य देउवा पक्षबाट निर्माण भएको छ, यसलाई तपाईंहरु उता (सभापति) तिरै फर्काउन चाहनुहुन्छ?
हो। जति नामहरु आज मैले आदरणीय नेताहरुको लिएको छु, ती नामलाई चित्त बुझाउने काम सभापतिज्यूको हो। ४० प्रतिशत शेखर समूहले जुन नाम दिन्छ, त्यही हो।

तपाईं समानुपातिकको सूची बनाउँदा एकलौटी भयो भनिरहनुभएको छ तर  बन्दसूची निर्वाचन आयोगमा दर्ता गराउँदा शेखर समूहका मान्छे पनि हुनुहुन्थ्यो। दर्ता गर्नुअघि किन कुरा गर्नु भएन र पछि आएर निहुँ खोज्नुभयो? समानुपातिकको सूची कसरी बनाइएको हो? सूची बनाउँदै गर्दाचाहिँ तपाईंहरुले किन विरोध नगरेको?
सभापतिज्यू पक्षीय नेताहरु बसेर एक हप्ता अगाडि नै यो सूची कम्प्लिट भइसकेको थियो। शेखर समूहले दिएको एक–दुईवटा नाम पछाडि–पछाडि हालिएको छ। सभापतिले एक हप्ता अगाडि सबै तयार गर्नुभयो।

संसदीय बोर्डको मिटिङ नाटकीय कुरा हो। मिटिङ देखाउने कुरो हो। तर, संसदीय बोर्डमा भाग लिने नेता स्वयम् अर्जुननरसिंह केसीले सूचीमा राखिएका मान्छेहरुको नाम पढेर सुनाउनुस् भन्नुभएकै हो। को को नाम जाँदैछन् निर्वाचन आयोगमा हामीले यहाँ थाहा नपाउने? नाम पढेर सुनाउनुस् भन्दा नाम सुनाइएन। खामबन्दी बनाएर पठाइयो। त्यो खामबन्दी बनाइएको ठाउँमा जुनसुकै समूहको गए पनि हेर्न पाउने होइन। निर्वाचन आयोगमा त्यही खामबन्दी बुझाइएको हो।

ए, सहमहान्त्री लगायतका नेतालाई खाम बुझाउन मात्रै पठाइयो त्यसो भए?
खाम बुझाउन मात्रै पठाइयो। संसदीय बोर्ड र पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा नाम सुनाइएन। देख्न पाएनन्। हेर्न पाएनन्। त्यसरी बलजफ्ती पठाइयो।

निर्वाचन आयोगमा गइसकेपछि पनि यो लिस्ट जसरी सार्वजनिकीकरण भएको छ, यो आयोगले दिएको लिस्ट त होइन। यो लिस्ट हाम्रो खबरदारी सभा भइसकेपछि बाहिर ल्याइएको हो।

कसले, किन बाहिर ल्यायो?
किनकि यसो हेर्दा शेखर पक्षका पनि केही नामहरु देखियोस् भनेर मान्छेलाई भ्रममा राख्ने हिसाबले ‘यी नाम छ त यिनीहरुले त्यसै नचाँहिदो विरोध गरिराखेका छन्’ भनेर हामीविरुद्ध अफवाह फैलाउन संस्थापन पक्षले नै सार्वजनिक गरेको हो।

नत्र भने निर्वाचन आयोगले कुनै पार्टीको खामबन्दी लिस्ट मिडियामा दिन्छ? व्यक्ति हेर्न जाँदा पनि दिँदैन। दिने नै हो भने एमालेको दिन्थ्यो, माओवादी, जसपा, समाजवादी सबैको लिस्ट दिन्थ्यो।

हाम्रो खबरदारी सभाको मुभमेन्टलाई माइनस गर्नका लागि बन्दसूची सार्वजनिक गर्न लगाए कोटरीका केही मान्छेहरुले। तर, यसले प्लस हामीलाई भयो। किनभने एउटा निर्वाचन क्षेत्रबाट समानुपातिकमा २० जनाको नाम आएको छ। प्रदेशमा १८ जनाको नाम आएको छ। सूचीमा नाम त कता–कता एउटामात्रै झुण्डिएको छ। अनि नाम नहुने जति त विरुद्धमा हुने भए नि। यसले हामीलाई फाइदा गर्यो।

तपाईंहरुले खबरदारी सभा गर्न लागेपछि संस्थापन पक्षले माग सुनुवाइका लागि कुनै पहल गरेको छ?
अहिलेसम्म सुनुवाइका लागि नेताहरुसँगको संवाद अगाडि बढेको छैन। बरु मैले सुनिरहेको सर्वदलीय मिटिङमा पार्टीको आन्तरिक व्यवस्थापन मिलाउनुस् भनेर हाम्रो पार्टी सभापतिलाई अरु दलहरुले भनिरहेका छन् रे। पहिला आफ्नो भित्र मिलाउनुस् अनि सबै दलहरु मिलेर जानुपर्छ भन्ने किसिमको प्रेसर त्यहाँ क्रियट भयो भन्ने बाहिर सुन्नमा आएको छ।

तर, पार्टी सभापति वा त्यो समूहबाट कुनै पहल लिएर बसौं, छलफल गरौं, पार्टीलाई एक बनाएर जानुपर्छ भन्ने किसिमको सन्देश छैन। नेताहरुका बीचमा आन्तरिक रुपमा टेलिफोन भएर छलफल गरेर जानु पर्छ भनिएको छ भने हामीलाई त्यसका बारेमा जानकारी छैन।

तपाईंको कुरा सुन्दा संस्थापन पक्षले तपाईंहरुलाई ‘बाल मतलब’ नै गरेनछ। तपाईंहरु त अब निरीह नै देखिनुहुने भयो हैन त? तपाईंहरुको दबाबलाई संस्थापन पक्षले यसैगरी टेरेन भने अब के गर्नुहुन्छ?
निरीहको कुरा होइन। म मेरो पार्टी सभापतिका अगाडि एउटा कार्यकर्ता, निरीह नै हुँ। म त कार्यकर्ता न हुँ। उहाँले मलाई निरीह हैन, म जस्ता देशभरका मेरो तहका पचासौं हजार कार्यकर्तालाई निरीह बनाउन लाग्नुभो। म निरीह भएर आपत्ति छैन। दुईचोटि सांसद भएको मान्छे हुँ। नेविसंघदेखि राजनीति गरेर आएको हुँ। मेरो आफ्नै इतिहास छ। ०६२/०६३ को आन्दोलनमा गोली लागेको मान्छे हुँ। मलाई आपत्ति छैन। तर, मजस्ता ५० औं हजार कार्यकर्ता निरीह बनाउँदा त्यसले मेरो सभापतिलाई फाइदा हुँदैन। म जस्ता ५० हजार कार्यकर्तालाई निर्भीक र बलियो बनाएर पार्टीमा काम गर्ने वातावरण बनाउनुभयो भने न उहाँ बलियो हुने हो। त्यसकारण यो निर्धो, बलियो, म यसलाई सिध्याउँछु भन्ने सोचाइ नराखिकन मैले सबै कार्यकर्ताको छाता बनेर काम गनुपर्छ भन्ने सोचाइ सभापतिजीले राख्ने हो।

किनभने, दोस्रोचोटि सभापति भएपछि उहाँले पहिलो दिन बोल्दा के भन्नुभएको थियो भने, हिजो जे भयो भयो, अब म सबैको साझा सभापति बनेर, कांग्रेसको सभापति भएर अघि बढ्छु।

हामीलाई के आशा र भरोसा थियो भने अब उहाँ दोस्रोचोटि सभापति भइसक्नुभयो। चारचोटि प्रधानमन्त्री भइसक्नुभयो। अब उहाँलाई के चाहियो? उहाँले त यो पार्टीलाई आजको अवस्थाभन्दा अझ बलियो र जुझारु कांग्रेस बनाएर मैले नेतृत्व छाड्दाखेरि नेपाली कांग्रेस सबैभन्दा ठूलो, बहुमत प्राप्त पार्टी बनाएर छाडें भनेर छाड्ने हो नि। तर, उहाँले सभापति हुँदा कांग्रेस सबैभन्दा कमजोर भयो भन्ने बनाएर छाड्नुभयो भने त्यसले इतिहासमा उहाँलाई अप्ठ्यारो हुन्छ।

कांग्रेसका केही नेताहरुले यस्तै स्थिति रहिरहे पार्टीमा विद्रोह हुन्छ भनिरहेका छन्। संस्थापन पक्षले यसैगरी माग सुनुवाइ गरेन भने कांग्रेसमा विद्रोह गर्नुपर्छ भन्ने मत पनि देखिन थालेको हो?
समानुपातिकको असोज ३ गतेको सूची आइसकेपछि हामी अलि सशंकित भयौं। हामीले नेताहरुसँग विभिन्न चरणको छलफल, सम्वाद बढाउँदै गयौं। नेताहरुलाई भेट्यौं। खबरदारी सभा पनि गर्यौं।

हामीले खबरदारी एकपक्षलाई गरेको होइन। संसदीय बोर्डमा बस्ने, टिकट वितरण गर्ने सबैलाई हाम्रो खबरदारी हो। सभापतिज्यूसँग खबरदारी छँदैछ। शेखर कोइराला त्यहाँ बस्नुहुन्छ, उहाँसँग पनि खबरदारी हो। हाम्रो टिमबाट जितेका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारहरुलाई पनि खबरदारी हो। टिकट वितरण गर्न बसेका जो नेताहरु हुनुहुन्छ, सबैसँग तपाईंहरुले अन्याय नगर्नोस्, न्यायोचित वितरण गर्नोस् भनेर हामीले खबरदारी गरेका हौं। सबै कार्यकतामाथि समान ढंगले न्याय गर्नुहोस् भनेर हामीले खबरदारी सभा गरेको हो।

त्यो खबरदारी सभा शेखर कोइराला, गगन थापाहरुले बहिस्कार गरे भन्ने पनि आयो। उहाँहरुलाई हामीले बोलाएनौं। उहाँहरुमाथि पनि त हाम्रो खबरदारी हो नि। तपाईंहरु १०–८ वटा टिकट लिएर नहिँड्नुहोला। अन्याय भो, ४० प्रतिशत भएन भने तपाईंहरु टिकट छाडेर आउनुहोला, १५ औं महाधिवेशनको तयारी आजैबाट सुरु गरौं। हाम्रो उहाँहरुसँग पनि त्यही आग्रह हो। कार्यकर्तामा जब पीडा हुन्छ, अन्याय हुन्छ, त्योबेला कार्यकर्ताले पार्टीभित्र नेताहरुसँग विद्रोहको कुरा उठाउँछन्। त्यो कठोर निर्णय असोज १४ गतेपछि हामी गर्छौं।

असोज १४ गते नै किन?
आज (सोमबार) हामी बैठक बसेका थियौं। देशभरिका ४०–५० जना साथीहरु थियौं। आजको बैठकले खबरदारी सभा अन्तरगत समान न्याय र अवसरका लागि असोज १२ गते दिउँसो १२ बजे एक घण्टा पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको छ। १३ गते खबरदारी सभा अन्तरगत नै विजयादशमी, दीपावली, छठ र भिन्तुनाको अवसरमा चियापान समारोह गर्ने निर्णय भएको छ।

त्यसपछि १४ गतेसम्म यो समानुपातिकको सूची सच्चिएन र यत्तिकै गयो भने अनि त्यसपछि बसेर फेरि साथीहरुबीच सल्लाह गर्ने। त्यसपछिको निर्णय ऐतिहासिक र कठोर हुन सक्छ। त्यो निर्णय जस्तोसुकै पनि हुन सक्छ।

अहिले कांग्रेस, माओवादीलगायतका पाँच दलको जुन गठबन्धन बनेको छ, यसमा शेखर समूह अनुदार देखिएको हो? गठबन्धनमा तपाईंहरुको तीव्र वैचारिक असहमति छ भन्ने सुनिन्छ। सिट बाँडफाँट सम्बन्धी कार्यदलको बैठकमा शेखर पक्ष अनुदार र कठोर अनि देउवापक्षचाहिँ उदार देखिने गरेको चर्चा छ। तपाईंहरु कांग्रेसले १०० सीट छाड्नै हुँदैन भन्ने, देउवा पक्षचाहिँ ७०–८० सिटमै झर्न तयार भन्ने पनि सुनिँदैछ, वास्तविकता के हो? टिकट वितरणमा जस्तै गठबन्धनको राजनीति लाइनमा पनि कांग्रेसभित्र दुई लाइन संघर्ष देखिएको हो?

हामी चुनावमा जाँदैछौं। चुनावमा जाँदा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्छ, एकल सरकार बनाउँछ भनेर जनताको बीचमा जाने हो। तर, एकैचोटि जनताको बीचमा जाँदा नेपाली कांग्रेस ठूलो पार्टी चाहिँ बन्छ भनेर सानो स्वर बनाउने हो? गठबन्धन आवश्यक थियो थिएन, यसको औचित्य कति हो, म भन्न सक्दिनँ। यसमा प्रश्नवाचक चिन्ह छ।

नेपाली कांग्रेस एक्लै चुनावको मैदानमा गएको भए प्रत्यक्षमा ९० सिट भन्दा बढी जित्न सक्ने सम्भावना थियो अहिले। समानुपातिकमा ४५ देखि ५० सिट ल्याउँथ्यो। यो जोड्दा १३८–१४० सिट हुन्थ्यो र कांग्रेसले एकल बहुमतका साथ सरकार बनाउने परिस्थिति निर्माण हुन सक्थ्यो। तर, आज यसबाट हामी बञ्चित भयौं।

एकल सरकार बनाउन सक्ने यत्रो ठूलो ऐतिहासिक पार्टी आज खुम्चिएर १६५ मा ८० सिट लिनलाई धौधौ बनेको अवस्था एकातिर छ। त्यसकारण, पार्टी सभापतिसँग हामीले यो हुँदैन, एकल चुनाव लडौं भन्यौं।

अब १६५ मा ८५ सिट अरु दललाई छाड्न हाम्रो सभापतिजी लचिलो, तर कांग्रेसले पाउने ८० सिटमा आफ्नै पार्टीका सहकर्मी, सहधर्मी, ५० वर्ष सँगै जेलनेल भोगेका आफ्नै साथीलाई ३५ सिट दिन उहाँ तयार हुनुहुन्न। यो कत्ति विडम्बना क्या! विपक्षीलाई उहाँ खुसीका साथ ८५ सिट दिन तयार। आफ्नो पार्टीभित्रका साथीहरुलाई ३५–३६ सिट दिनलाई उहाँ तयारै हुनुहुन्न। यसमा किन कञ्जुस्याइँ? त्यसकारण हाम्रो माग यो छ कि १६५ सिटमा एकल चुनाव लडौं, कांग्रेसको बहुमत ल्याउन सकिन्छ। तर, बहुमत ल्याउने पार्टीले ठूलो पार्टी बन्छु भनेर सानो स्वरमा भन्नुपर्ने परिस्थिति निर्माण भएको छ।

सभापतिजीले जसरी दिनको १८ घण्टा सर्वदलीय मिटिङ बसेर अरु चार दललाई समय दिनुहुन्छ, दिनको १८ मिनेट आफूसँगका सहकर्मी साथीहरु, पार्टीको इत्तर पक्षका साथीहरुलाई दिनोस्, १८ मिनेटमा धेरै छलफल हुन्छ भन्ने हाम्रो भनाइ हो। यसमा धेरै तीता मीठा कुराहरु हुन्छन् र एउटा निचोड निकाल्न सकिन्छ। यसरी अगाडि बढ्नोस्। हाम्रो सभापतिजीसँग विनम्रतापूर्वक आग्रह यही हो।

तपाईंहरुले समानुपातिक सूची मिलाउने बटमलाइन असोज १४ लाई बनाउनुभएको रहेछ, प्रत्यक्षतर्फको अल्टिमेटमचाहिँ कहिलेसम्म? असोज २३ मा त उम्मेदवारी मनोनयन गर्नुपर्ने होला....
समानुपातिकको सूची फाइनल भएपछि प्रत्यक्षतर्फको चुनाव लड्ने साथीहरुलाई छलफलबाट चित्त बुझाउन सकिन्छ। सबै मानिसले टिकट पाउने हैन, टिकट पाउने सीमित मान्छेले हो। तर, मान्छेले चित्त बुझाउनु त पर्यो नि। पार्टीमा लामो समय काम गरेका मान्छेले भोलि अवसर मिल्छ भन्ने आश्वासन पार्टी सभापति अथवा संसदीय बोर्डमा बस्ने नेताहरुले दिए भने कार्यकर्ताले चित्त बुझाउँछ र निर्धक्कका साथ चुनाव प्रचारमा जान्छ। जनताका बीचमा जान्छ, भोट माग्छ। एउटा मान्छेले भोट माग्न जाँदा र नजाँदाको अवस्थामा सय–दुईसय भोट त यसै तलमाथि पर्छ नि। कार्यकर्तालाई सानदारसँग भोट माग्न जाने वातावरण मिलाइदिने कामचाहिँ नेतृत्वको हो।

गठबन्धन गर्ने हो भने कांग्रेसले १०० सिट छाड्नुहुँदैन भन्ने शेखर समूहको बटमलाइन हो कि ९० सिटमा पनि झर्न सकिन्छ?
पहिलो त कांग्रेसले १६५ क्षेत्रमै एक्लै नै चुनाव लड्नुपर्छ भन्ने नै हो। पहिलो चरणमा यो च्याप्टर क्लोज भो। किनभने, पार्टी केन्द्रीय समितिले नै गठबन्धन गरेर जाने निर्णय गर्यो। त्यसपछि दोस्रो चरणमा हामी सय सिटभन्दा कम हुँदैन भन्नेमा गयौं। हाम्रो पार्टीको महामन्त्रीले नै पटक–पटक प्रस्ताव गर्नुभएको छ, कांग्रेसलाई सय सिटभन्दा कम हुँदैन। त्यसकारण कांग्रेसको न्यूनतम सय सिट हो।

स्थानीय चुनावको हैसियत हेरेर सबैले सिट लिए हुन्छ नि त। स्थानीय चुनावको मतभार भन्दा बढी सिट लिन खोज्दाखेरि अहिले नमिलेको हो। तर, कांग्रेसले सय भन्दा तल झर्नुहुँदैन। अहिले पनि हाम्रो मान्यता त्यही हो।

भिडिओ :

 

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad