ad ad

कला


कलाकारको दसैँ खर्च : छैनन् ठूला योजना

कलाकारको दसैँ खर्च : छैनन् ठूला योजना

फाइल तस्बिर


राधिका अधिकारी
असोज १२, २०७९ बुधबार ८:५५, काठमाडौँ

दसैँ मनाउन भैरहवा जाने तयारीमा रहेका गायक हेमन्त शर्माले यो दसैँका लागि भनेर ५० हजार रुपैयाँ खर्च छुट्टाएका छन्।

हाल काठमाडौं बस्ने शर्माले भैरहवा पुग्दाको पेट्रोल मूल्यसहित ५० हजार खर्च गर्ने छन्। बजारमा देखिएको मुद्रा अभाव, सुस्ताएको व्यापार सबै कुरालाई हेरेर सेकसम्म खर्चमा मितव्ययिता गर्ने शर्माले बताए। 

नायिका अनु शर्माले भने दसैँका लागि बजेट छुट्याएकी छैनन्। आवश्यकता अनुसार सधैँ सपिङ गर्दै आएकाले पनि दसैँमा सपिङ गर्ने उनको मुड छैन। 

अभिनेता भुवन केसीले पनि दसैँ खर्च यति नै भनेर बजेट छुट्टाएका छैनन्। खानपानमा उनी त्यति सौखिन छैनन्। दसैँको टिका र जमरामा भने उनी अहिले पनि बाल्यकालको स्मरण गर्छन्। टिकासँगै दिइने आशिवार्दलाई महत्वका साथ हेर्छन्।

प्रायः काठमाडौंमै दसैँ मनाउने भुवन भन्छन्, ‘दसैँ नजिकिँदैछ भनेपछि नयाँ कपडा लगाउन पाइन्छ, पिङ खेल्न पाइन्छ भन्ने हुन्थ्यो। पुराना दिनका सम्झना मिठा हुने रहेछन्। हिजोआज दसैँभन्दा बाल्यकालिन दसैँका सम्झना मिठा लाग्छन्।’

चलचित्र निर्देशक तथा संगीतकार नारायण रायमाझी यो दसैँ काठमाडौंमै मनाउँनेछन्। प्रायः दसैँ पाल्पामा मनाउँदै आएका रायमाझी यो वर्ष भने काठमाडौंमा हुनेछन्।

परिवारका सबैजसो आफन्त काठमाडौंमै रहेकाले परिवार, आफन्त जम्मा भएर टिका लगाउने र काठमाडौंमै दसैँ मनाउने रायमाझीले सुनाए। उनले पनि दसैँ खर्च भनेर बजेट छुट्टाएका छैनन्। तथापी खानपान र दक्षिणामा केहि रकम खर्च हुनेछ। यति नै खर्च गर्ने यकिन नगरेको रायमाझी बताउँछन्। 

कलाकार दीपकराज गिरीको यो दसैँ डेंगुले बिथिोलिदिएको छ। केही समयअघि उनकी श्रीमतीलाई लामो समय डेंगुले थला पार्यो। दसैँको मुखैमा गिरी आफैँ डेंगु रोगको सिकार भएका छन्। त्यसैले पनि दसैँका त्यति धेरै योजना छैनन्। उनी काठमाडौंको घरमा टिका टालो गरेपछि दहचोक जाने योजनामा छन्। 

पहिलादेखि नै दीपक दसैँमा उस्तो खर्च गदैनन्। यो दसैँमा पनि त्यति धेरै खर्च गर्ने मनस्थितीमा छैनन्। उनी आफू माछामासु खाँदैनन्।

हरेक वर्ष घरमा मासु खानेहरुका लागि खसी काट्ने प्रचलन थियो, यो वर्ष भने बाहिरैबाट चाहिने मात्रै मासु ल्याउने उनको प्लान छ। जेठा छोरा बुहारी विदेशमा छन्। घरमा रहेका छोराको आएको डिमान्डमा जति खर्च हुन्छ त्यो खर्च भने गर्ने गिरीले बताए। 

कलाकार निर्मल शर्मा (गैँडा) ले पनि दसैँका लागि बजेट निर्धारण गरेका छैनन्। परिवारमा आधा मासु खान्छन्, आधा नखाने छन्। त्यसैले मासु बाहिरबाटै ल्याउने उनको तयारी छ। त्यसो त शर्माको घरमा कहिल्यै पनि खसी ढल्दैन।

सधैँ बाहिरबाटै  ल्याएर दसैँ मनाउने गरेका छन्। लत्ता कपडा किन्न दसैँ पर्खिन छाडेको निक्कै वर्ष भैसक्यो। काठमाडौंमै दसैँ मनाउने भएकाले पनि यातायात खर्च लाग्दैन। दक्षिणामा हुने खर्च यति नै भन्ने छैन।

दसैँको अवसरमा निर्मल सपरिवार बालुवाटारको ‘एभोकार्डो’, झम्सिखेलको ‘मोक्ष’ रेस्टुराँमा जाने चलन पुरानै हो। यो वर्ष पनि उनी परिवारका साथमा यी रेस्टुराँमा पुग्नेछन्। मन परेको परिकारमा खर्च गर्नेछन्। तर दसैँका लागि यतिनै खर्च गर्छु भनेर रकम नछुट्याएको शर्माले सुनाए। 

नायिका अशिष्मा नकर्मी अहिले अमेरिकामा छिन्। उनी उतै दसैँ मनाउने छिन्। देशमा रहँदा उनले दसैँको खर्च गर्नु परेन। उनका बुवाले कति खर्च गरे त्यो हिसाव पनि बुझ्नु परेन।

श्रीमानसँग विदेशमा रहेकी अशिष्माले दसैँमा आफन्तको सम्झना र न्यास्रोलाई घुमघाम र किनमेलले पुर्नु पर्ने छ। त्यसैले पनि मन परेका केही सामान किन्न र घुम्नका लागि केही बजेट अनुमान गरेकी छन्।

यो वर्ष नेपालबाट श्रीमानका बुवा आमा पनि दसैँ मनाउन उतै जाने हुँदा पनि उनको दसैँ खर्च बढ्ने छ। अशिष्माका बुवा आमाको रहरसँग सम्झौता गर्ने पक्षमा छैनन्। आफ्नो अवस्थाले भ्याएसम्म बुवा आमाको रहर र खुशीमा सामेल हुने र खर्च गर्ने उनको योजना छ। 

गायिका टिका पुनले  यो दसैँमा ३ लाखको हाराहारीमा खर्च हुने अनुमान गरेकी छन्। उनका छोराछोरी सानै छन्। बजार भाउ आकासिएको छ।

आफ्नो बाल्यकाल थुप्रै रहर मारेर बिताएकाले पनि टिका छोराछोरीका हरेक रहर पुरा गर्ने कोशिस गर्छिन्। टिकाको जिम्मेवारी भदा भदैको पनि छ। उनीसँगै बस्दै आएका उनका दाइका छोराछोरीलाई टिका आफ्ना छोराछोरीलाई सरह दसैँ सपिङ गर्दिन्छिन्। काठमाडौं, दाङ र सुर्खेत ३ ठाउँमा टिकाको दसैँको समय बित्ने छ। 

नायिका सोविता सिम्खडाको आधा दसैँ ओशो तपोवनमा बित्ने छ। फूलपातीसम्म तपोवनमा हुने शिविरमा सामेल हुने सोविता अष्टमीको दिन घर जाने छिन्।

केही वर्षअघिसम्म हरेक वर्ष दसैँताका तपोवनमा हुने शिविरका लागि केही रकम छुट्याउने सोविताले अहिले त्यो खर्च गर्नु पर्दैन। उनी केही वर्षयता तपोवनमै स्थायी रुपमा बस्दै आएकी छन्।

दसैँमा हुने खर्च भनेको सासु ससुरालाई दसैँका लागि किनिदिने केही सामान र भदैनीलाई किनिदिने सामानको मूल्य हो। यसको मूल्य कति पर्छ उनलाई थाहा छैन। उनी आफ्नै लागि भने दसैँमा केही किन्ने योजनामा छैनन्।

भन्छिन्, ‘पहिला पहिला आफ्ना लागि सामान किन्दा रमाइलो लाग्थ्यो। अहिले अरुलाई किनिदिएर उनीहरुको अनुहारमा देखिएको खुशी देख्दा रमाइलो लाग्छ।’ 

एकादशीसम्म घर बस्ने सोविता त्यसपछि माइतीमा टिका लगाउन जाने छिन्। कोजाग्रत पूर्णिमासम्म उनी ओशो तपोवन गैसक्ने छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .