ad ad

ग्लोबल


गर्थे एकअर्कालाई धेरै माया, पतिकै चितामा जलेर ‘सती’ गएको आशंका

गर्थे एकअर्कालाई धेरै माया, पतिकै चितामा जलेर ‘सती’ गएको आशंका

जयदेव गुप्ता र श्रीमती गुलापी गुप्ता


नेपालखबर
साउन ४, २०८१ शुक्रबार १४:१९, काठमाडौँ

भारतको छत्तीसगढको रायगढ सहरको छेउमा रहेको चितकाकनी गाउँका सुशील गुप्ता आफ्ना बुवासँगै आमाको पनि अन्तिम संस्कार गर्ने अनुमति पाइयोस् भन्नेमा छन्। 

तर, रायगढ जिल्ला प्रहरीले सुशील गुप्ताकी आमा गुलापी गुप्ता आइतबार रातिदेखि बेपत्ता भएको जनाएको छ। 

गाउँवासी भने गुलापी गुप्ता आइतबार राति ६५ वर्षीय श्रीमान् जयदेव गुप्ताको चितामा जलेर ‘सती’ गएको दाबी गर्छन्। कतिपयले यसलाई ‘आत्मदाह’ भनेका छन्।

गुलापी गुप्ताले ‘आत्महत्या’ गरेको भनिएको श्मशानस्थल अहिले प्रहरीको निगरानीमा छ। मुख्य सडकमा सादा पोसाकमा सशस्त्र प्रहरी तैनाथ छन् र आउने–जाने सबैको निगरानी गरिरहेका छन्।

श्मशानस्थलमा कुनै धार्मिक कार्यक्रम हुनसक्ने आशंका प्रहरीको छ।

श्मशान स्थल सुशीलको घरबाट करिब ५०० मिटर टाढा छ।

सुशील गुप्ता भन्छन्, ‘मध्यरातपछि गाउँलेसँग श्मशान स्थलमा पुग्दा आमाको सारी, चप्पल र चस्मा मेरो बुवाको चिताबाट केही टाढा भेटिएका थिए। मेरी आमाको शव मेरो बुबाको चितामा लगभग जलेको थियो। त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौँ।’

रायगढ सहरबाट करिब २० किलोमिटर पर रहेको कोटार्लिया पञ्चायतको चितकाकनी गाउँ ओडिसाको सिमानाबाट सोही दूरीमा छ।

ओडिसाको हिराकुड बाँधको जलमग्न क्षेत्र पर्सादा जुगनीबाट विस्थापित भएर यस गाउँका धेरै परिवारहरू यहाँ बसोबास गरेका छन्।

तीमध्ये एक हुन् कोल्टा समुदायका जयदेव गुप्ता र उनकी श्रीमतीको परिवार पनि। उनीहरू घरबाट केही दूरीमा टेलर पसल गर्थे। 

के भन्छन् गाउँले?

जयदेव गुप्ताका छोरा सुशील गुप्ता
जयदेव गुप्ताका छिमेकी वृद्ध मंगल खमारी भन्छन्, ‘श्रीमान् श्रीमतीबीच धेरै माया थियो। दुवै धेरै सभ्य र शालीन थिए। डेढ वर्षदेखि क्यान्सरबाट पीडित जयदेवको परिवारै उनको उपचारमा व्यस्त थियो। जयदेवको आइतबार रायगढ अस्पतालमा मृत्यु भयो। साँझ करिब ५ बजे उनको श्मशान स्थलमा अन्तिम संस्कार गरिएको थियो।’

राति १० बजेतिर मानिसहरू फर्किएको सुशील बताउँछन्। करिब ११ बजे सुशील उठ्दा उनकी ५७ वर्षीया आमा गुलापी गुप्ता घरमा भेटिएनन्। घरको मुख्य ढोका पनि खुला थियो।

धेरै खोजीपछि गाउँलेहरू शवदाह गृह पुगे, जहाँ उनीहरूले चितामा आधा जलेको शव भेटे।

गुलापी गुप्ताले श्रीमान्‌कै चितामा जले आत्महत्या गरेको गाउँका सरपञ्च  हरिमती राठियाले बताए।

सरपञ्च राठियाका भतिजा हेमन्तकुमारले भने, ‘राति २:३० बजे श्मशानमा पुग्दा त्यहाँ चिताको आगो बलिरहेको थियो।’

सामान्यतया दाउरा तीन–चार घण्टामा जल्छ, त्यसो भए आठ–नौ घण्टासम्म चिताको आगो कसरी बलिरह्यो?

हेमन्त भन्छन्, ‘गाउँमा हरेक घरबाट काठ संकलन गरिन्छ। काठले ट्र्याक्टर भरिन्छ र सबै काठ चितामा हालिन्छ। यति काठले तीन/चार जनाको दाहसंस्कार गर्न सकिन्छ।’

चक्रधरनगर प्रहरी चौकीका एक प्रहरी जवानले नाम नछाप्ने सर्तमा भने- श्रीमान्-श्रीमतीबीच धेरै माया थियो। 

जयदेव गुप्तालाई बाल्यकालदेखि नै चिन्ने वासुदेव प्रधान भन्छन्, ‘जयदेव बाल्यकालमा मभन्दा एक कक्षा अगाडि पढ्थे। उनी यस क्षेत्रका चर्चित दर्जी थिए। श्रीमान्–श्रीमतीबीच धेरै माया थियो र बजार होस् या खेतबारी, दुवै जना पति–पत्नी सँगै काम गर्न जाने गर्थे।’

जयदेव गुप्ताका बाल्यकालका वासुदेव प्रधान।

टिकट विक्रेताका रूपमा काम गर्ने ५४ वर्षीय राकेश कश्यप भन्छन्, ‘मैले अहिलेसम्म छत्तीसगढ वा मध्य प्रदेशमा यस्तो घटना सुनेको थिइनँ। यो नै पहिलो यस्तो घटना हो, जुन ध्यानमा आयो।’ 

यो घटनाले गाउँवासी स्तब्ध भएका छन्।

के भन्छ प्रशासन?


रायगढ जिल्लाका एसपी दिव्यांग पटेलले परिवारका सदस्यको बयानका आधारमा सबै पक्षमा अनुसन्धान भइरहेको बताए।

राति ११ बजेपछि गुलापी गुप्तालाई के भयो भन्ने प्रत्यक्षदर्शी नरहेको उनले बताए।

दिव्यांग पटेलले सञ्चारमाध्यमलाई भने, ‘यस सम्बन्धमा व्यक्ति बेपत्ताको मुद्दा दर्ता गरिएको छ र घटनाको अनुसन्धान भइरहेको छ।

फोरेन्सिक टोली, मेडिकल टोलीको पनि सहयोग लिइएको छ र जस्तो घटना सार्वजनिक भएको छ, सबै पक्षबाट छानबिन हुन्छ।’

चितामा बाँकी रहेका हड्डी लिएर फरेन्सिक टोली बिलासपुर फर्किएको छ। रिपोर्ट आएपछि पुनः डीएनए परीक्षणको प्रक्रिया सुरु हुनेछ।

तर त्यसबेलासम्म गुलापी गुप्ता सरकारी फाइलमा बेपत्ता व्यक्तिका रूपमा दर्ता रहनेछिन्। 

जयदेव गुप्ता र गुलापी गुप्ताको अन्त्येष्टि र भोज तथा अन्य शोक कार्यक्रम एकैसाथ होस् र प्रहरी र प्रशासनले कुनै अवरोध नगरोस् भन्ने चाहना परिवारजनको छ।

स्वतन्त्रताअघि बनेको कानुन

भारतमा सन् १८२९ मा ब्रिटिस शासनकालमा सती प्रथालाई प्रतिबन्ध लगाउने कानुन बनेको थियो। यो कानुन निर्माणमा राजा राममोहन रायको अभियानको ठूलो योगदान थियो।

महिलाले स्वेच्छाले आत्महत्या गरेको भए पनि यस ऐनअनुसार श्रीमानको मृत्युपछि महिलालाई जलाउने, सती जान सहयोग गर्ने वा दुरुत्साहन गर्ने व्यक्तिलाई हत्याका दोषी मानिन्छ।

भारत स्वतन्त्र भएपछि सती प्रथाको सबैभन्दा चर्चित घटना सन् १९८७ मा सार्वजनिक भएको थियो।

त्यतिबेला राजस्थानको सिकर जिल्लाको दिभ्राला गाउँमा १८ वर्षीया रूप कुँवर श्रीमान्‌को चितामा जलेको पाइएको थियो। 

४ सेप्टेम्बर १९८७ मा भएको यो घटनामा ३२ जना पक्राउ परेका थिए। यद्यपि, सबै मानिस अक्टोबर १९९६ मा रिहा भए।

सरकारको व्यापक आलोचना भएपछि तत्कालीन मुख्यमन्त्री हरिदेव जोशीले राजीनामा दिनुपरेको थियो।

यस क्रममा राजस्थान सरकारले राजस्थान सती निषेध अध्यादेश १९८७ पेस गर्‍यो, जुन १९८८ मा केन्द्रीय सरकारले संघीय कानुनमा पनि समावेश गर्‍यो।

तत्कालीन राजीव गान्धी सरकारको पालामा बनेको यो कानुनमा ‘सती प्रथा’लाई अपराध मानिएको छ। यसमा संलग्नलाई ७ वर्षसम्मको सजाय हुन सक्छ ।

उक्त कानुनमा सती प्रथालाई हत्यासँग जोडिएको छ र यसलाई प्रवर्द्धन गर्नेलाई मृत्युदण्डको सजाय हुने व्यवस्था छ। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .