अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँग लामो समय वार्ताका बाबजुद सहमति पुग्न नसकिएको बताएका छन्।
बीबीसीका अनुसार इरानसँग पाकिस्तानमा जारी शान्ति वार्ताबारे पत्रकार सम्मेलन गरेर उपराष्ट्रपति भान्सले ‘नराम्रो खबर’ रहेको बताएका हुन्।
उनले भने, ‘अमेरिका र इरानबिच वार्ता २१ घण्टादेखि चलिरहेको छ, तर नराम्रो खबर के हो भने हामी सम्झौतामा पुगेका छैनौँ।’
उनले थपे, ‘इरान हाम्रा सर्तमा सहमत भएन।’
अमेरिकाका उपराष्ट्रपति भान्सले वार्तामा कुनै कमजोरी भएको भए त्यो पाकिस्तानका कारण नभएको पनि बताए।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र फिल्ड मार्सल असिम मुनिरप्रति आभार प्रकट गर्दै उनले भने, ‘यदि वार्तामा कुनै कमजोरी भएको भए त्यो पाकिस्तानीहरूको कारणले भएको थिएन। उहाँहरूले उत्कृष्ट काम गर्नुभएको छ।’
अमेरिका र इरानबिच पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार अपराह्नदेखि वार्ता भइरहेको छ।

वार्तामा अमेरिकातर्फ उपराष्ट्रपति भान्स र इरानतर्फ संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले नेतृत्व गरिरहेका छन्।
उपराष्ट्रपति भान्सले वार्ता जारी रहे पनि सहमतिको सम्भावना न्यून देखिएको संकेत गरेका छन्।
Shares

प्रतिक्रिया