ग्लोबल


युक्रेन: रक्षामन्त्रीबाट हटाइएका फेडोरोभलाई नयाँ जिम्मेवारीको प्रस्ताव, तर गरे अस्वीकार

युक्रेन: रक्षामन्त्रीबाट हटाइएका फेडोरोभलाई नयाँ जिम्मेवारीको प्रस्ताव, तर गरे अस्वीकार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रक्षामन्त्री मिखाइलो फेडोरोभ


नेपालखबर
साउन ८, २०८३ शुक्रबार ९:५, युक्रेन (किभ)

मिखाइलो फेडोरोभलाई रक्षामन्त्री पदबाट हटाइएकामा साता लामो विरोध प्रदर्शन भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनलाई नयाँ जिम्मेवारी लिन प्रस्ताव गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले बिहीबार पूर्वरक्षामन्त्री फेडोरोभलाई नयाँ जिम्मेवारी लिन आग्रह गरेका हुन्। तर उनले अस्वीकार गरेका छन्। 

लोकप्रिय सुधारवादी नेता मिखाइलो फेडोरोभले आफू पुरानै पद (रक्षामन्त्री) मा मात्र फर्कन तयार रहेको बताएका छन्। 

उनले उक्त पदमा रहेर आफूले ‘भ्रष्टाचार’विरुद्ध लड्न, ‘झुटको संस्कृति’ निर्मूल गर्न र ‘सेनाको रूपान्तरण’ गर्न सक्ने दाबी गरे।

जेलेन्स्कीले फेडोरोभलाई रक्षामन्त्री पदमा नियुक्ति पाएको ६ महिनामै बर्खास्त गरेपछि उनलाई पुनर्बहाली गर्न माग गर्दै युक्रेनमा आन्दोलन चर्किएको छ। 

‘म रक्षामन्त्रीबाहेक कुनै पनि पद स्वीकार गर्दिनँ,’ फेडोरोभले पत्रकारहरूलाई वितरण गरेको विज्ञप्तिमा भनेका छन्, ‘अन्य कुनै पदमा खरिदसम्बन्धी भ्रष्टाचार रोक्ने, सेनाको रूपान्तरण पूरा गर्ने, शत्रुमाथिको कारबाहीको योजना कार्यान्वयन गर्ने, प्रणालीभित्र झुट र जवाफदेहिताको कमी हटाउने वास्तविक अधिकार हुँदैन।’

गत साता जेलेन्स्कीले फेडोरोभलाई बर्खास्त गर्दा सन् २०२२ मा रुसले आक्रमण गरेपछि किएभमा सबैभन्दा गहिरो राजनीतिक संकट उत्पन्न भएको छ। देशभरि हजारौँ युवाले उक्त निर्णयविरुद्ध प्रदर्शन गरेका थिए।

युक्रेनी सेनालाई आधुनिकीकरण र डिजिटलाइजेसन गर्ने जिम्मेवारीसहित ३५ वर्षीय फेडोरोभलाई जनवरीमा रक्षामन्त्री नियुक्त गरिएको थियो। सैनिक कमान्डसँग लामो समयदेखि भित्री द्वन्द्व भएपछि उनलाई राष्ट्रपति जेलेन्स्कीले बर्खास्त गरेका हुन्। 

उनले सैनिक कमान्डले आफ्नो परिवर्तनको आह्वानलाई प्रतिरोध गरेको आरोप लगाएका छन्। 

केही दिनको प्रदर्शनपछि जेलेन्स्कीले केही दिनअघि मात्र युक्रेनी सेना प्रमुख ओलेक्सान्द्र सिर्स्कीलाई बर्खास्त गरेर उनको ठाउँमा फेडोरोभका सहयोगी तथा सुधारवादी मिखाइलो द्रापाती नियुक्त गरेका छन्। 

फेडोरोभ जेलेन्स्कीका पुराना सहयोगी हुन्। 

सन् २०१९ मा जेलेन्स्की राष्ट्रपति बनेदेखि नै उनीसँग सहकार्य गरेका थिए। उनले प्रारम्भिक चरणमै ड्रोन प्रयोगलाई बढाउने नीति अँगालेका कारण सेना भित्र र बाहिर प्रशंसक बनाएका थिए। 

यो चार वर्ष आधा लामो युद्धमा मुख्य हतियार बन्ने स्पष्ट भइसकेको थिएन। उनले सेनाको सोभियत शैलीको दृष्टिकोण र मानवीय क्षतिको पर्याप्त ध्यान नदिएको भन्दै आलोचना गरेका थिए। 

भ्रष्टाचार, उपकरण अभाव, अनुपस्थिति, भर्ती सैनिकहरूप्रतिको व्यवहार र अलोकप्रिय परिचालन अभियानबाट प्रभावित सेनालाई सुधार्ने प्रयास गरेका थिए। 

रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेयता दशौँ हजार सैनिक मारिएका छन्। यो दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्व बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad