हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ। यतिबेला (आइतबार बिहान) कोसी प्रदेशको पहाडी भेगसहित देशका हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशको पहाडी भेगसहित देशका हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ, पहाडी भेग र कोसी प्रदेशको तराईमा आंशिक बादल देखिनेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा दिउँसो कोसी प्रदेशको पहाडी र हिमाली भूभागसहित बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हुरीको समेत सम्भावना छ।
राति : देशका हिमाली भेगमा साधारणतया बादल लाग्नेछ। पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
काठमाडौँ उपत्यकाको मौसमचाहिँ कस्तो होला?
मौसम महाशाखाका मौसमविद्का अनुसार अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ अर्थात् आकाशमा बादल खासै छैन।
महाशाखाका मौसमविद् डेभिड ढकालले नेपालखबरसँग भने, ‘दिउँसोतिर अलिअलि बादल लाग्ने सम्भावना छ तर आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना एकदमै कम छ।’
उनका अनुसार काठमाडौँ उपत्यकामा आगामी ३ दिनसम्म वर्षा हुने खासै सम्भावना छैन।

Shares

प्रतिक्रिया