झन्डै एक महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई १५ बुँदे प्रस्ताव पठाएको छ।
न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार अमेरिकाले पाकिस्तानमार्फत इरानसमक्ष १५ बुँदे योजना पेस गरेको हो।
तर इरानले यसलाई स्वीकार गर्ने वा नगर्ने अनि इजरायल सहमत छ/छैन भन्ने विषयमा भने स्पष्ट भइनसकेको न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ।
रोयटर्स र इजरायलको ‘च्यानल १२’ले पनि अमेरिकाले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे योजना हस्तान्तरण गरेको उल्लेख गरेका छन्।
यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले अमेरिका-इजरायल र इरानबिच सहमतिका लागि आफ्नो देश मध्यस्थता गर्न तयार रहेको बताएका थिए।
१५ बुँदे योजनामा के के छन् भन्ने स्पष्ट भइसकेको छैन। तर ‘च्यानल १२’ का अनुसार अमेरिकाले इरानसँग राखेका मागमा होर्मुज स्ट्रेट खुला राख्नुपर्ने र यसलाई स्वतन्त्र समुद्री क्षेत्र घोषणा गरिनुपर्ने पनि छ।
यस्तै न्युयोर्क टाइम्सले योजनाको प्रतिलिपि प्राप्त नभएको तर नाम नछाप्ने सर्तमा अधिकारीहरूले इरानको ब्यालिस्टिक मिसाइल र आणविक कार्यक्रम पनि समावेश रहेको जानकारी दिएको उल्लेख गरेको छ।
यसअघि नै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘सकारात्मक छलफल’ भइरहेको दाबी गरेका थिए। तर इरानले कुनै वार्ता नभएको बताएको थियो।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
साथै इरानले गरेका आक्रमणका कारण इजरायल तथा अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा पनि मानवीय तथा भौतिक क्षति भएका छन्।
Shares

प्रतिक्रिया