इरानले अमेरिकाविरुद्ध संयुक्त राष्ट्रसंघमा उजुरी दिएको छ।
बीबीसी फारसीका अनुसार इरानले अमेरिकाले गरेको हवाई आक्रमणका विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का अध्यक्ष र राष्ट्रसंघका महासचिवलाई विरोधपत्र पठाइएको बताएको हो।
संयुक्त राष्ट्रसंघका लागि इरानका प्रतिनिधि सइद इरावनीले भनेका छन्, ‘अमेरिकाले फेरि संयुक्त राष्ट्रसंघको बडापत्र र यसको अन्तर्राष्ट्रिय दायित्वको ठाडो उल्लंघन गर्दै इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताविरुद्ध व्यापक सैन्य आक्रमण सुरु गरेको छ।’
उनले अमेरिकाको कदम इरान र अमेरिकाबिचको इस्लामाबाद समझदारीपत्र (एमओयू) उल्लंघन पनि भएको उल्लेख गरेका छन्।
यसैबिच इरानको खुजेस्तान प्रान्तको गभर्नरको कार्यालयले बिहीबार बिहान अहवाजमा अमेरिकाले गरेको आक्रमणबाट तीन जनाको मृत्यु भएको जानकारी दिएको छ।
बीबीसी फारसीका अनुसार उपसुरक्षा अधिकारी वलिउल्लाह हयातीले आक्रमणमा धेरै जना घाइते पनि भएको बताएका छन्।
उनका अनुसार आक्रमणबाट भएको क्षतिको मूल्यांकन भइरहेको छ।
इरानको समाचार एजेन्सी इरनाले पनि अहवाज सहरमा गरिएको आक्रमणविरुद्ध सशस्त्र सेनाले गरेको रक्षात्मक कारबाहीका क्रममा रिभोलुसनरी गार्ड एयरोस्पेस फोर्सका एक सिपाहीको मृत्यु भएको जनाएको छ।
यसैबिच इरान रेलवेले तेहरान-मसहद रेलवे लाइनको एक स्थानमा बिहीबार बिहान भएको आक्रमणपछि रेल सेवा स्थगन गरिएको बताएको छ।
अमेरिकी सेनाले बुधबार राति दुई चरणमा गरी इरानका १७० स्थानमा आक्रमण गरिएको बताएको छ।
Shares

प्रतिक्रिया