ग्लोबल


ट्रम्प सवार विमान एयर फोर्स वनमा उड्नासाथ प्राविधिक समस्या

ट्रम्प सवार विमान एयर फोर्स वनमा उड्नासाथ प्राविधिक समस्या

नेपालखबर
माघ ७, २०८२ बुधबार १३:२२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सवार विमान बुधबार स्विट्जरल्यान्डको डाभोसका लागि उडेको केही समयपछि वासिङ्टन नै फर्किएको छ। 

ह्वाइट हाउसका अनुसार प्राविधिक समस्या आएपछि एयर फोर्स वन बोइङ ७४७-२००बी अमेरिकाको वासिङ्टनबाट उडेको केही बेरमै फर्काउनुपरेको हो। 

ट्रम्पको विमान एयर फोर्स वन

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार उडान भरेपछि चालक दलले सानो विद्युतीय समस्या थाहा पाएका थिए। त्यसपछि सावधानीका रूपमा विमान फिर्ता गर्ने निर्णय गरिएको हो। 

यसपछि ट्रम्प अर्को विमानबाट स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्। उनी आज स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) मा भाग लिनेछन्। 

ट्रम्पको विमान चार दशक पुरानो 

ट्रम्पको आधिकारिक यात्राका लागि एयर फोर्स वनका रूपमा बोइङ ७४७-२००बी प्रयोग गरिन्छ।

यस फ्लिटमा यस्ता दुई विमान छन्, जुन झन्डै चार दशक पुराना हुन्। 

अमेरिकी विमान निर्माता बोइङले नयाँ विकल्प विकास गरिरहेको छ, तर यो परियोजनामा ढिलाइ भइरहेको छ। 

गत वर्ष कतारी शाही परिवारले ट्रम्पलाई एक विलासी बोइङ ७४७-८ जम्बो जेट उपहार दिएको थियो, जुन एयर फोर्स वन फ्लिटमा थपिनेछ।

छ वर्षपछि डाभोसमा सम्बोधन गर्दै ट्रम्प 

डोनाल्ड ट्रम्प लगभग ६ वर्षपछि डाभोस पुग्दै छन्।

उनी यसअघि आफ्नो पहिलो कार्यकालमा २०२० जनवरी २१ मा डाभोस पुगेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले बुधबार साँझ ग्रिनल्यान्डको भविष्य निर्धारण गर्ने एजेन्डासहित विश्वलाई सम्बोधन गर्नेछन्।

ट्रम्पको यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।

किनकि अमेरिकाको विदेश र व्यापार नीतिमा आक्रामक परिवर्तन गरिएको छ।

ट्रम्पका सल्लाहकारहरूले अमेरिकाले डाभोसमा पुरानो विश्वव्यापी प्रणाली र नियमरूभन्दा बाहिर गएको स्पष्ट पार्ने बताएका छन्।

ग्रिनल्यान्डविरुद्ध आक्रामक छन् ट्रम्प

ट्रम्पले बारम्बार ग्रिनल्यान्ड कब्जाको धम्की दिइरहेका छन्।

उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि पनि ग्रिनल्यान्ड आफ्नो देशमा गाभ्नैपर्ने जिकिर गरिरहेका छन्।

उनको दाबीअनुसार आर्कटिक क्षेत्रमा बढ्दो गतिविधि, खनिज स्रोत र सैन्य महत्त्वका कारण ग्रिनल्यान्डमा अमेरिकाको नियन्त्रण आवश्यक छ।

मंगलबार मात्र ट्रम्पले सामाजिक सञ्जालमा ग्रिनल्यान्ड, क्यानडा र भेनेजुएलालाई अमेरिकाकै भागका रूपमा देखाइएको सम्पादित राखेका  छन्। 

ग्रिनल्यान्ड कब्जा गर्ने योजनाको विरोधमा उत्रिएका डेनमार्क, बेलायत, फ्रान्स र जर्मनीसहित ८ युरोपेली मुलुकविरुद्ध ट्रम्पले १० प्रतिशत भन्सार कर लगाएका छन्।

अमेरिकी प्रशासनले विरोध जारी रहेमा यो कर २५ प्रतिशतसम्म बढाउन सकिने संकेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad