ग्लोबल


व्यापक विरोधपछि एपस्टिन काण्डको फाइलमा पुन: राखियो ट्रम्पको तस्बिर

व्यापक विरोधपछि एपस्टिन काण्डको फाइलमा पुन: राखियो ट्रम्पको तस्बिर

तस्बिरमा अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प, जेफ्री एपस्टिन, मेलानिया ट्रम्प र घिसलेन म्याक्सवेल सँगै देखिएका छन्।


नेपालखबर
पुस ७, २०८२ सोमबार १८:६, काठमाडौँ

अमेरिकाको न्याय विभाग (डीओजे) ले यौन अपराधमा दोषी ठहर जेफ्री एपस्टिनसँग राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको तस्बिरसहित पुन: दस्तावेज जारी गरेको छ। यसअघि जारी दस्तावेजमा ट्रम्पको तस्बिर मेटाइएपछि व्यापक विरोध भएको थियो। 

त्यसपछि फेरि उनको तस्बिरसहितको दस्तावेज जारी गरिएको हो। दस्तावेजमा ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको पनि तस्बिर छ।

अमेरिकी न्याय विभागले एपस्टिनबाट पीडित महिला कसैलाई पनि नदेखाइएको बताएको छ।

यसअघि सीएनएनले यसअघि ट्रम्पको त्यो तस्बिरसहित एपस्टिनसँग सम्बन्धित दस्तावेज भएका धेरै फाइल वेबसाइटबाट हटाइएको उल्लेख गरेको थियो। जसमा ट्रम्प पनि थिए। केही अन्य फाइलमा आपत्तिजनक तस्बिर पनि थिए।

यसअघि अमेरिकी न्याय विभागले जेफ्री एपस्टिन अनुसन्धानअन्तर्गत शुक्रबार राति ३ लाख दस्तावेज जारी गरेको थियो। 

जसमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र पप गायक माइकल ज्याक्सनजस्ता प्रमुख व्यक्तिहरू थिए। 

तर डोनाल्ड ट्रम्पको नाम रेकर्डमा लगभग देखिएन। जबकि फेब्रुअरीमा जारी एपस्टिनको निजी जेटको उडान लगमा उनको नाम थियो।

 

एपस्टिन फाइल (फाइल ४६८) को यो तस्बिर, जसमा डोनाल्ड ट्रम्प पनि देखिएका छन्। यसअघि यो तस्बिर हटाइएको थियो।

नयाँ दस्तावेजमा विशेष गरी न्युयोर्क र यूएस भर्जिन आइल्यान्डमा रहेका एपस्टिनका घर तथा केही सेलिब्रेटी र राजनीतिकर्मीका तस्बिर थिए।

तर धेरै पीडितहरूसँगको एफबीआई अन्तर्वार्ता र यौन बेचबिखन आरोपको सट्टा कम राज्यस्तरीय अपराधमा मात्र एपस्टिनलाई सजाय दिने न्याय विभागको निर्णयका प्रतिलिपिजस्ता महत्त्वपूर्ण कागजात जारी गरिएनन्।

यिनको कमीले सन् २००० को दशकमा अभियोजकले मुद्दा कसरी सम्हाले र एपस्टिनलाई किन हल्का सजाय दिइयो भन्नेबारे नयाँ प्रश्न उठाएको छ।

बेलायतका पूर्वराजकुमार एन्ड्रयुजस्ता अन्य प्रमुख व्यक्तिको नाम पनि ती कागजातमा विरलै उल्लेख गरिएका छन्। 

यसअघि ट्रम्पको तस्बिर गायब गरिँदा हाउस ओभरसाइट कमिटीका डेमोक्र्याटिक सदस्यहरूले प्रश्न उठाउँदै सोधेका थिए, ‘अरू के-के लुकाइँदै छ?’

उनीहरूले न्याय विभागलाई ढाकछोप गरेको आरोप लगाउँदै अमेरिकी नागरिकलाई यथार्थ देखाउन माग गरेका थिए। 

ट्रम्पद्वारा आरोप अस्वीकार 

ट्रम्पले निरन्तर रूपमा एपस्टिनको अपराधमा आफ्नो संलग्नता अस्वीकार गर्दै यस विषयमा आफूविरुद्ध आरोप नलगाइएको दाबी गरिरहेका छन्। 

मिडिया रिपोर्टहरूले भने ट्रम्पले एपस्टिनको निजी जेटमा सातपटक सँगै यात्रा गरेको दाबी गरेका छन्।

न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले ती यात्रा १९९३ र १९९७ को बीचमा गरेका थिए।

तर ट्रम्पले कहिल्यै एपस्टिनसँग यात्रा नगरेको र आफूबाट कुनै गलत काम नभएको जिकिर गरिरहेका छन्।  

 

जेफ्री एपस्टिनको विमान लोलिता एक्सप्रेस, जसले किशोरीहरू बोकेर लाँदै थियो। मिडिया रिपोर्टका अनुसार ट्रम्पले पनि यो विमानमा यात्रा गरेका थिए।

 

एपस्टिनका घनिष्ठ मित्र थिए ट्रम्प

ट्रम्प र एपस्टिनबीच एक पार्टीमा भेट भएको थियो। सन् २००२ मा एक पत्रिकासँगको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, ‘म जेफलाई १५ वर्षदेखि चिन्छु। उनी एक अद्भुत मानिस हुन्। हामी दुवैलाई सुन्दर युवतीहरू मन पर्छ।’

जुन भनाइ ट्रम्पका लागि पासो बनेको थियो।

सन् १९९२ मा ट्रम्पले फ्लोरिडाको आफ्नो मार-ए-लागो रिसोर्टमा एपस्टिन र चियरलिडरहरूसँग एक पार्टी आयोजना गरेका थिए।

२०१९ मा एनबीसीले कार्यक्रमको फुटेज जारी गर्‍यो, जसमा ट्रम्पले एक महिलातिर इसारा गर्दै एपस्टिनसँग भनेका छन्, ‘हेर, उनी कति हट छिन्!’

तर सम्पत्तिका विषयमा विवाद भएपछि ट्रम्प र एपस्टिनबीचको मित्रता टुटेको बताइएको छ।

ट्रम्पले पछि सन् २०१९ मा एपस्टिनसँग झगडा भएको र १५ वर्षदेखि उनीसँग कुराकानी नभएको बताएका थिए। 

उनले यसो पनि भनेका थिए, ‘अब म एपस्टिनलाई साथी मान्दिनँ।’

बिल क्लिन्टनलाई बलिको बोको बनाइँदै छ

एपस्टिन फाइलमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनका तस्बिर पनि देखापरेपछि अमेरिकी राजनीतिमा हलचल मच्चिएको छ।

क्लिन्टनका प्रवक्ताले ह्वाइट हाउसले जानाजानी उनलाई ‘बलिको बोका’ बनाइरहेको दाबी गरेका छन्। वास्तविक मुद्दाबाट ध्यान मोड्न त्यस्तो गरिएको जिकिर उनले गरेका छन्। 

संसद्‌को आदेशमा जारी फाइलका तस्बिरमा एपस्टिन र उनका सहयोगी घिसलेन म्याक्सवेलका साथ क्लिन्टन पनि छन्।

जसमा क्लिन्टन म्याक्सवेल र स्विमिङ पुलमा एक युवतीसँग देखिएका छन्। तर महिलाको अनुहार छोपिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad