जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच विवाद बढेको छ।
अप्रिल २२ मा पहलगाममा २६ जना मारिने गरी भएको आतंककारी आक्रमणको दोष पाकिस्तानलाई दिँदै भारतले दुई देशबीचको सिन्धु जल सन्धि निलम्बन, सीमा नाका बन्द र पाकिस्तानी नागरिकको भिसा रद्दजस्ता धेरैवटा निर्णय गरेको छ।
प्रतिक्रियामा पाकिस्तानले पनि १९७२ को शिमला सम्झौताबाट पछि हट्ने, नदीहरूको पानी रोक्ने वा मोड्ने प्रयासलाई 'युद्धको कार्य' मानिने तथा पूर्ण शक्तिका साथ जवाफ दिइनेलगायत निर्णय गरेको छ।
दुवै देशका राजनीतिक नेतृत्वले एकअर्कालाई कडा चेतावनी पनि दिइरहेका छन्।
यसो भन्छन् अवकाशप्राप्त जनरल
दक्षिण एसियाली राजनीतिमा नजर राख्ने विज्ञहरू भारतले सीमित सैन्य कारबाही गर्ने सम्भावना अस्वीकार गर्दैनन्। जसले पूर्ण युद्ध निम्त्याउन सक्ने चेतावनी बनी उनीहरूले दिएका छन्।
यद्यपि, लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) एसएच पनाग हतारमा सैन्य कारबाहीको निर्णय गर्न नहुने बताउँछन्।
उनले द प्रिन्टमा पाकिस्तान आणविक हतियारले सम्पन्न देश भएको उल्लेख गर्दै ऊसँग भारतीय सेनाको सीमित सैन्य कारबाहीको जवाफ दिन पर्याप्त शक्ति रहेको भनी लेख लेखेका छन्।
उनले लेखेका छन्, ´भारतसँग कुनै पनि क्षेत्र- चाहे मिसाइल होस्, ड्रोन होस् वा वायुसेना, त्यस्तो प्रविधि छैन जसले बिनाक्षति पाकिस्तानसँग लड्न सकोस्। पाकिस्तानसँग जवाफ दिने शक्ति छ, यसका लागि हामी तयार हुनुपर्छ।`
एक अन्तर्वार्तामा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सेनाको तयारीबारे भनेका छन्, ´हामीलाई तयारी गर्नु पर्दैन। हामीले पहिले नै तयारी गरिसकेका छौँ। हामी कुनै पनि परिस्थितिका लागि तयार छौँ।`
शनिबार उनले यसो पनि भनेका छन्, 'यदि कुनै पनि प्रकारको दुस्साहसी काम गरियो भने २०१९ मा जस्तै जवाफ दिइनेछ।'
उनी पुलवामा आतंकवादी हमलापछि बालाकोटमा भारतले गरेको हवाई आक्रमणलाई संकेत गर्दै थिए। जतिबेला दुई देशका वायु सेनाबीच झडप भएको थियो।
भारतीय सेनाको शक्ति

ग्लोबल फायर पावरका अनुसार २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ।
सन् २०२५ मा विश्वव्यापी सैन्य शक्तिका हिसाबले भारत १४५ देशमध्ये चौथो स्थानमा छ भने पाकिस्तान १२औँ स्थानमा।
भारतीय सेनामा लगभग २२ लाख सैनिक, ४,२०१ ट्यांक, लगभग १.५ लाख बख्तरबन्द गाडी, १०० स्वचालित तोप र ३,९७५ टोइड तोप छन्। साथै मल्टी ब्यारेल रकेट तोपको संख्या २६४ छ।
भारतीय वायुसेनामा ३ लाख १० हजार वायुसेना र ५१३ लडाकु विमान र २७० परिवहन विमानसहित कुल २,२२९ विमान छन्। कुल विमानमा १३० आक्रमणकारी, ३५१ प्रशिक्षण विमान र ६ वटा ट्यांकर फ्लिट विमान छन्।
भारतीय सेनाका तीनवटै शाखासँग कुल ८९९ हेलिकप्टर छन्, जसमध्ये ८० वटा आक्रमणकारी हेलिकप्टर छन्।
भारतीय नौसेनामा १.४२ लाख नौसैनिक र दुई विमानवाहक पोत, १३ विध्वंसक, १४ फ्रिगेट, १८ पनडुब्बीर १८ कर्भेटसहित कुल २९३ जहाज छन्।
यस्तै भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे कभरेज छ।
पाकिस्तानी सेनाको शक्ति
ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा लगभग १३.११ लाख सैन्य कर्मचारी, १.२४ लाख नौसेना कर्मचारी र ७८ हजार वायुसेना कर्मचारी छन्।
पाकिस्तानसँग कुल १,३९९ विमान छन्। जसमा ३२८ लडाकु विमान, ९० अट्याक टाइप, ६४ यातायात विमान, ५६५ प्रशिक्षक, ४ ट्यांकर फ्लिट र ५७ आक्रमणकारी हेलिकप्टर छन्।
यस्तै पाकिस्तानसँग २,६२७ ट्यांक, १७.५ वाहन, ६६२ स्वचालित तोप, २६२९ टोइड तोप र ६०० बहु-ब्यारेल रकेट तोप छन्।
पाकिस्तानी नौसेनासँग ९ फ्रिगेट, ९ कर्भेट, आठ पनडुब्बी र ६९ गस्ती जहाजसहित जम्मा १२१ युद्धपोत छन्।
पाकिस्तानसँग ३ बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाज छन्। साथै २ लाख ६४ हजार किलोमिटर सडक र ११.९ हजार किलोमिटर रेलवे कभरेज छ।
कोसँग कतिवटा आणविक हतियार?
स्विडेनी थिंक ट्यांक स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को २०२४ को रिपोर्टअनुसार भारतसँग १७२ आणविक हतियार छन् भने पाकिस्तानसँग १७० आणविक हतियार छन्।
यद्यपि, दुवै देशसँग कति आणविक हतियार तैनाथ छन् भन्ने कुरा स्पष्ट छैन।
यो संस्थाले पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्न आणविक हतियार तयार गरिरहेको बताएको छ भने भारतको ध्यान लामो दूरीका हतियार तैनाथमा केन्द्रित छ। यसको अर्थ चीन-लक्षित हतियार पनि छन्।
भारत र पाकिस्तानको छिमेकी तथा विश्वको तेस्रो ठूलो आणविक शक्ति राष्ट्र चीनको आणविक हतियारको संख्या २२ प्रतिशत बढेर ४१० वारहेडबाट ५०० पुगेको छ।
ड्रोनको संख्या

गत वर्ष नोभेम्बरमा प्रकाशित बीबीसी उर्दु संवाददाता शकिल अख्तरको लेखअनुसार भारत र पाकिस्तानले आफ्नो ड्रोनको संख्या द्रुत गतिमा बढाइरहेका छन्।
रक्षा विश्लेषक राहुल बेदीका अनुसार भारतसँग आगामी दुईदेखि चार वर्षमा लगभग पाँच हजार ड्रोन हुनेछन्।
उनका अनुसार पाकिस्तानसँग 'भारतसँग भन्दा कम ड्रोन' छन् तर पनि ऊसँग भएका ड्रोनको क्षमता फरक छ र ती १० देखि ११ प्रकारका छन्।
गत वर्ष अक्टोबरमा भारतले अमेरिकासँग ३.५ अर्ब डलर बराबरको ३१ प्रिडेटर ड्रोन खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।
प्रिडेटर ड्रोन संसारकै सबैभन्दा सफल र खतरनाक ड्रोन मानिन्छ।
साथै भारतले ५०० मिलियन डलर बराबरका बम र लेजर निर्देशित मिसाइल पनि खरिद गर्नेछ, जुन ती ड्रोनमार्फत लक्ष्यमा हान्न प्रयोग गरिनेछ।
राहुल बेदीका अनुसार पाकिस्तानले टर्की र चीनबाट ड्रोन आयात गर्छ। साथै उसले जर्मनी र इटालीबाट पनि ड्रोन खरिद गरेको छ।
पाकिस्तानले बराक र शाहपरजस्ता ड्रोन पनि बनाएको छ।
पाकिस्तानसँग टर्कीको आधुनिक 'बायरक्तार' ड्रोन टीबीटु र एकेन्जी छन्। साथै उसले चीनबाट 'वाङ लङ टु' र 'सीएचफोर'जस्ता ड्रोन पनि प्राप्त गरेको छ। बीबीसी हिन्दीाबाट
Shares

प्रतिक्रिया