अमेरिकी युद्ध विभागले ‘यूएस इन्डो-प्यासिफिक कमान्ड’को नाम परिवर्तन गरेको छ।
बीबीसीका अनुसार इन्डो-प्यासिफिक कमान्डबाट इन्डो शब्द हटाएर पुरानै नाम ‘यूएस प्यासिफिक कमान्ड’ राखिएको हो।
१९४७ जनवरी १ मा अमेरिकाका तत्कालीन राष्ट्रपति ह्यारी एस. ट्रुम्यानको कार्यकालमा स्थापित यो कमान्ड ७० वर्षभन्दा बढी समयसम्म अमेरिकी प्यासिफिक कमान्डको नामले नै सञ्चालन भएको थियो। पछि इन्डो शब्द थपिएको थियो।
अहिले फेरि इन्डो शब्द हटाइएको हो। यो अमेरिकाको एकीकृत लडाकु कमान्डहरूमध्ये सबैभन्दा पुरानो र ठुलो कमान्ड हो।
अमेरिकी प्यासिफिक कमान्डले सामाजिक सञ्जालमा लेखेको छ, ‘यूएस प्यासिफिक कमान्डको पुरानो नाम फर्काउनाले कमान्डको इतिहासको सम्मान हुन्छ र प्यासिफिक क्षेत्रमा सेवा गर्ने सबैमा गर्व र सामूहिक भावना जगाउँछ।’
साथै कमान्डले दोस्रो विश्वयुद्धपछि क्षेत्रीय सुरक्षा संरचना स्थापना गर्नेदेखि कोरियाली युद्ध, भियतनाम युद्ध र असंख्य मानवीय कार्यसम्म भूमिका खेलेको यूएस प्यासिफिक कमान्ड नाम दशकौँको सैन्य विरासत र लामो समयदेखिको क्षेत्रीय साझेदारीको प्रतीक भएको उल्लेख गरेको छ।
कमान्डका अनुसार ‘यसको जिम्मेवारीको विशाल क्षेत्र संयुक्त राज्य अमेरिकाको पश्चिमी तटको समुद्री क्षेत्रदेखि भारतको पश्चिमी सीमासम्म फैलिएको छ र यो यस्तै रहनेछ।’
कमान्डको मुख्य लक्ष्य क्षेत्रीय सहयोगी र साझेदारहरूसँगको सहकार्यमा स्वतन्त्र र खुला क्षेत्र कायम राख्ने काममा अटल रहने उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया