जम्मु कश्मीर लिबरेसन फ्रन्ट (जेकेएलएफ) का अध्यक्ष यासिन मलिकलाई गत वर्ष दिल्लीको अदालतले आजीवन कारावासको सजाय सुनाएको एक दिनपछि जब म उनकी पत्नी मुशाल हुसेन मलिकलाई भेट्न इस्लामावादस्थित उनीहरूको घर पुगेको थिएँ, त्यतिबेला उनी कश्मीरबाट आएका चर्चित मानिसहरूको एक समूहसँग भेट्दै थिइन्।
उनले शिरदेखि पाउसम्म कालो लुगा लगाएकी थिइन्। सदाझैँ उनको अनुहारमा चमक थियो, तर आँखामा उदासीनता!
मुशालका सहयोगीले मलाई विनम्रतापूर्वक ठूलो ड्रोइङ रुमको छुट्टै कुनामा केही समय पर्खन आग्रह गरे। त्यहाँ भित्तामा यासिन मलिकका तस्बिर र कश्मीरका रंगीन टेपेस्ट्रीहरू थिए। कश्मीरको त्यो समूह यासिन मलिकलाई समर्थन गर्न त्यहाँ पुगेको थियो। मैले उनीहरूका केही कुराकानी सुनेको थिएँ।
तीमध्ये एक जनाले भनेका थिए ‘यासिन मलिक एक महान् व्यक्ति हुनुहुन्थ्यो।’ बीचमा कुरा काट्दै मुसल बोलिन्, ‘तपाईं किन उहाँको बारेमा किन ‘हुनुहुन्थ्यो’ भनिरहनुभएको छ? उहाँ यहीँ हुनुहुन्छ, छिट्टै सबै ठीक हुनेछ, म उहाँका लागि पूरा शक्ति लगाउँछु।’

को हुन् मुशाल मलिक?
कश्मिरी मूलकी मुशाल पाकिस्तानी नागरिक हुन्, उनले सन् २००९ मा यासिन मलिकसँग विवाह गरेकी हुन्, जुन विवाहको उत्सव पाकिस्तानभर मनाइएको थियो भने भारतमा यसको आलोचना गरिएको थियो।
पत्रकार तथा विश्लेषक अजाज सैयद भन्छन्– जतिबेला उनीहरूको विवाहका विषयमा धेरै भइरहेको थियो, कतिपय मानिसले यसलाई पाकिस्तानको खुफिया एजेन्सीमार्फत सिर्जना गरिएको जोडीसमेत भनिरहेका थिए। र, दुई जनाबीचको दूरी, भारत–पाकिस्तानबीचको दुश्मनी र यासिन मलिकको राजनीतिलाई हेरेर उनीहरू यहाँसम्म भनिरहेका थिए कि यो सम्बन्ध धेरै टिक्ने छैन। यो विवाह अझै पनि समयको परीक्षामै छ।
मुशालका शब्दमा भने उनीहरूको जोडी एकदमै रोमान्टिक उत्कृष्ट जोडी हो। मुशाल एक प्रख्यात् पाकिस्तानी अर्थशास्त्रीकी छोरी हुन् र उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक गरेकी छन्। उनी चित्रकार, कवि र ११ वर्षीया छोरी रजिया सुल्तानाकी आमा हुन्। उनी पाकिस्तान र विश्वमा कश्मीरका लागि आवाज उठाउने एक अनुहार हुन्।
मुसल इस्लामाबादमा बस्छिन्। उनले भारतीय जेलबाट आफ्ना श्रीमान् यासिन मलिकलाई छुटाउन सक्रिय रूपमा अभियान चलाइरहेकी छन्। अन्तर्वार्ताका क्रममा मलाई बताएअनुसार उनले अन्तिमपटक २०१९ मा आफ्ना पति यासिन मलिकसँग कुरा गरेकी थिइन्, भारत सरकारले कश्मीरको विशेष दर्जा खारेज गर्नुभन्दा ठीक एक दिनअघि।
यासिन मलिकबारे के भन्छिन् मुशाल?
‘यासिन निडर हुनुहुन्छ, यो कुराले मलाई धेरै बल दिन्छ, मेरो मनोबल बढाउँछ र म उहाँकी श्रीमती हुन पाउँदा साँच्चै भाग्यमानी महसुस गर्छु। मैले उहाँसँग थोरै समय बिताए तापनि उहाँलाई मेरो पतिका रूपमा पाएकामा म संसारकै भाग्यमानी महिला हुँ जस्तो लाग्छ।’
‘उहाँ मेरो पति मात्र होइन, मेरो नेता पनि हुनुहुन्छ। उहाँ मेरो माया, मेरो आत्मा हुनुहुन्छ।’
मुशालको नियुक्ति, भारतका लागि सन्देश
मुसल हुसेन मलिक अब पाकिस्तानको कार्यवाहक सरकारमा मानव अधिकार र महिला सशक्तिकरण सम्बन्धी प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त भएकी छन्। उनको यो नियुक्तिबारे पाकिस्तानमा सकारात्मक प्रतिक्रिया व्यक्त भइरहेका छन्।
राजनीतिक विश्लेषक सोहेल वाराइच उनको नियुक्तिलाई प्रतीकात्मक र महत्त्वपूर्ण बताउँछन्। उनी भन्छन्, ‘उनी आफ्ना पतिको पक्षमा बोल्न साहसिलो छिन्, मानवअधिकारका मुद्दामा उनको संलग्नता व्यक्तिगत हो। यसैले यो एक उत्कृष्ट नियुक्ति हो, जसको सबैले प्रशंसा गरिरहेका छन्।’
मुशालको नियुक्तिबारे पत्रकार हमिद मिर भन्छन्, ‘(पाकिस्तानी) अन्तरिम सरकारको मन्त्रिपरिषद्मा पाकिस्तानका सबै प्रान्त, सबै क्षेत्रका जनताको प्रतिनिधित्व छ। यसमा मुशाल कश्मीरको प्रतीक हुन्। यस मन्त्रिपरिषद्का अधिकांश मन्त्री र सल्लाहकार प्राविधिक हुन् र यी नियुक्ति राजनीतिक होइनन्। यो अन्तरिम व्यवस्था हो, यसको एकमात्र उद्देश्य आम निर्वाचन गराउनु हो, र निर्वाचित सरकार नआएसम्म दैनिक कार्य सञ्चालन गर्नु मात्र हो।’
तर सोहेल वाराइचको नजरमा मुशालको नियुक्तिको स्पष्ट राजनीतिक प्रभाव छ।
उनी भन्छन्, ‘यो भारतलाई सन्देश हो– कश्मीर बिर्सिइएको छैन। यसले प्रतीकात्मक रूपमा पाकिस्तानले मुशालको आवाजलाई समर्थन गर्छ। त्यो आवाज जुन उनी आफ्ना पतिको निष्पक्ष सुनवाइ र भारतीय अधिकारीहरूबाट आफ्ना पतिको उन्मुक्तिका लागि उठाइरहेकी छन्।

कश्मीरबारे यासिन र मुशालको विचार एउटै छैन
यासिन मलिकसँग मुशालको भेट सन् २००५ मा इस्लामाबादमा भएको थियो। त्यसपछि यासिन मलिक पाकिस्तान आएका थिए। दुवै एकअर्काको प्रेममा परे र केही वर्षपछि उनीहरूले विवाह गरे।
मुसल श्रीमान्भन्दा २० वर्ष कान्छी छिन्।
मुशालले पाँच वर्षदेखि भारतको भिसा मागिरहेकी छन्, ताकि जेलमा रहेका आफ्ना पतिलाई भेट्न पाइयोस्। यद्यपि उनी सन् २०१४ सम्ममा पाँचपटक भारत आइसकेकी छन्। उनले आफ्नो वैवाहिक जीवकाको अधिकांश समय पाकिस्तानमा एक्लै बिताएकी छन्। उनले छोरीलाई एकल अभिभावक बनेर हुर्काइरहेकी छन्।
उनका पतिजस्तै मुशाल पनि कश्मीर मुद्दामा प्रतिबद्ध छिन्। तर विश्लेषक अजाज सैयद कश्मीरप्रति मुशाल र यासिन मलिकको दृष्टिकोणमा भिन्नता रहेको दाबी गर्छन्।
उनी भन्छन्, ‘यासिन मलिक स्वतन्त्र कश्मीरको कुरा गर्छन् भने मुशाल कश्मीरलाई पाकिस्तानकै हिस्सा मान्छिन्।’
पाकिस्तानको कार्यवाहक मन्त्रिपरिषद् आम निर्वाचनसम्मका लागि गठन गरिएको हो। यो निर्वाचन अर्को वर्षको सुरुमा हुने सम्भावना छ। -बीबीसी हिन्दीबाट भावानुवाद गरिएको
Shares

प्रतिक्रिया