ad ad

ग्लोबल


बेलायती महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन

बेलायती महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन

नेपालखबर
भदौ २३, २०७९ बिहिबार २३:३०, काठमाडौँ

बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। बकिङ्घम प्यालेसले ९६ वर्षीया रानीको निधनको घोषणा गरेको हो।

‘आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्वक निधन भयो,’ प्यालेसले भनेको छ। 

बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो।

रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्।

रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमहरुको भनाइ छ। त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ। करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ। 

उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ। उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ।

एलिजावेथ अलेक्जेन्ड्रा मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन्।

त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन्। किनभने उतिबेला उनी रोलक्रममा आफ्नो बुबा र काकापछि तेस्रो स्थानमा थिइन्।

१९४७ मा उनले राजकुमार फिलिपसँग विवाह गरिन्। जो युद्धको समयमा उनका प्रेमी थिए। उनको २०२१ मा निधन भयो।

१९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन्। राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्याभिषेक समारोह आयोजना गरिएको थियो।

उनी कमनवेल्थ प्रमुख, बेलायती सेनाको कमान्डर–इन–चिफ, चर्च अफ इंग्ल्यान्डको सुप्रिम गर्भनरसहित ६०० भन्दा बढी संस्था र च्यारिटीको प्रमुख पनि थिइन्। अब ती सबै पदवी स्वतः उनको छोरामा सर्नेछ।

उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन्।

रानी एलिजावेथको शासनकालमा १५ जना अलगअलग प्रधानमन्त्री बने। जसमा विन्स्टन चर्चिलदेखि नवनियुक्त प्रधानमन्त्री लिज ट्रससम्म छन्।

२०१५ मा उनकी जिजुबजु महारानी भिक्टोरियालाई उछिन्दै उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने रानी बनिन्।

वि.सं २०१७ सालमा पहिलो पटक आएकी थिइन् नेपाल 
रानी एलिजावेथ वि.सं २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। 

तत्कालीन राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो। 

उनको सो भ्रमणले विशेष चर्चा पाएको थियो।

२०४३ मा पनि राजा वीरेन्द्रको निम्तामा उनी नेपाल आएकी थिइन्।

उनको नेपालप्रति विशेष चासो राख्ने गरेको कूटनीतिज्ञहरु बताउँछन्।


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .