गण्डकी


कास्की प्रहरीले भन्योः हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही हुन्छ

कास्की प्रहरीले भन्योः हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही हुन्छ

सामाजिक सञ्जालमा भाइरल रवि लामिछानेको तस्बिर


नेपालखबर
पुस ४, २०८१ बिहिबार १४:३२, काठमाडौँ

कास्की जिल्ला प्रहरी कार्यालयले आफ्नो हिरासत कक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएको छ। 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नेगरी अनधिकृत रूपमा सुरुमा डा. निकोलस भुसालको फेसबुक पेजबाट त्यो तस्बिर सार्वजनिक भएको उल्लेख गर्दै कास्की प्रहरीले यसमा संलग्नलाई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने बताएको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा सूचनाको हक र साइबर अपराधसम्बन्धी कानुनमा कारबाही हुन सक्नेतर्फ सचेत गराइएको छ। 

‘जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्बिर केही दिनअगाडि सामाजिक सञ्जालमा हाल चालु रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य–मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको बेहोरा अनुरोध गर्दछ। गोपनीयता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’

भिडिओमा हेर्नुहोस् डा निकोलस भुसालको भनाइ:

सार्वजनिक तस्बिर रवि लामिछानेकै हो कि होइन भन्ने विषयमा विवाद भइरहेका बेला कास्की प्रहरीको विज्ञप्तिले त्यो लामिछानेकै तस्बिर भएको कुरा भने प्रस्ट भएको छ।

यसअघि रास्वपाका नेताहरूले सो तस्बिर लामिछानेकै भएको जिकिर गरिरहेका थिए भने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने त्यो  ‘फेक’ तस्बिर भएको दाबी गरिरहेका थिए।  

उक्त तस्बिरबारे व्यापक चर्चा परिचर्चा भएपछि गृहमन्त्री रमेश लेखकले समेत प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad