राजनीति


पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

नेपालखबर
पुस ४, २०८१ बिहिबार १४:३३, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छिन्। 

त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास, निर्माणमा लगानी बढाउँदै जानुपर्ने उल्लेख गरे। उनले विदेशी र स्वदेशी लगानीका क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाई व्यावसायिक बनाउनुका स्थानीयस्तरमा उद्योग स्थापना गरी स्वदेशी माग पूरा गर्नुपर्नेमा जोड दिए। उनले स्वदेशी उत्पादनको निर्यात बढाएर रोजगारी सिर्जना गरी दिगो विकास गर्दै नागरिकको आर्थिकस्तर उकास्न सकिने धारणा राखिन्।

विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन्। 

हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालसहित हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्बन उत्सर्जनमा प्रमुख योगदानकर्ताका रूपमा विकसित र औद्योगिक राष्ट्रहरूले जलवायु संकटको जिम्मेवारी लिनुपर्ने धारणा राखिन्।

जलवायु परिवर्तनले वातावरणीय चुनौती निम्त्याउन न्यूनतम भूमिकामा रहेका राष्ट्रहरूलाई विकसित राष्ट्रहरूले उचित र पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण जोखिममा परेका देशलाई अनुकूलन र हानीनोक्सानी क्षतिपूर्ति उपलब्ध गराउन स्पष्ट रूपमा वित्तीय स्रोत र प्रविधि दिनुपर्ने आवश्यकता औँल्याइन्।

विश्वव्यापी रूपमा सफल, अनुकरणीय र उपयुक्त विकास अभ्यासबाट सकारात्मक पाठ सिक्नुपर्ने बताउँदै उनले केही दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको अनुभव हाम्रा लागि प्रेरणादायी हुने उल्लेख  गरिन्। उत्तरी छिमेकी राष्ट्र चीनले छोटो अवधिमा ठूलो जनसङ्ख्यालाई गरिबीबाट बाहिर निकालेको र आफ्नो अर्थतन्त्रमा आमूलपरिवर्तन गरेकाले चीनबाट नेपालजस्ता मुलुकले चीनको अनुसरण गर्नुपर्ने उनले बताइन्।

लगानीमैत्री र व्यावसायिक वातावरण, वैदेशिक लगानी आकर्षित गर्न द्रुत नीति र संस्थागत सुधार, औद्योगिक तथा भौतिक पूर्वाधारको विकास र सुशासन र संस्थागत क्षमता वृद्धिलगायत क्षेत्रमा सुधार गरेमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने पूर्वराष्ट्रपति भण्डारीले धारणा राखिन्। 

नेपालका लागि चिनियाँ राजदूत छन् सङले सम्मेलनले यहाँको पर्यटन प्रवर्द्धनसँगै जनता–जनताबीच सम्बन्ध स्थापना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबीचमा शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा विभिन्न सहकार्य हुँदै आएको बताउँदै सोहीअन्तर्गत पोखरामा यस किसिमको बौद्धिक बहस गर्न लागिएको जानकारी दिए। 

कार्यक्रम संयोजकसमेत रहेका त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलकको सहकार्यलाई थप प्रगाढ बनाउन, अन्तर आबद्धतालाई अवसरमा रुपान्तरण गर्न, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्न फेवा संवाद आयोजना गरिएको जानकारी दिए।

सिचुवान विश्वविद्यालयका प्राध्यापक यायो लेलेले अनुभव आदानप्रदानसँगै सांस्कृतिक आदानप्रदान, ज्ञान र सीप हस्तान्तरण, मित्रता अभिवृद्धिलगायत क्षेत्रमा सम्मेलन प्रभावकारी र फलदायी बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad