गण्डकी


गण्डकीका नेवार समुदायमा भदौरे जात्राको रौनक

गण्डकीका नेवार समुदायमा भदौरे जात्राको रौनक

नेपालखबर
भदौ ४, २०८१ मंगलबार ९:५१, गण्डकी

सदियौँ पुराना पर्व र परम्परालाई गण्डकीका यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन्। जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ। ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ। नेवार जातिको लोकप्रिय नाच लाखे भने घण्टाकर्ण पर्वदेखि नै नचाउन सुरु हुन्छ।

गत साउन २६ गते लाखे नाचले संस्कृतिमय पोखराको झल्को दियो। नेवाः खलः कचा पृथ्वीचोकले आयोजना गरेको लाखेनाच प्रतियोगितामा २० कलाकार समूहले भाग लिए । तीन समूह अप्रतियोगीका रुपमा मञ्चमा प्रस्तुत भए।

पोखरा प्रदर्शनी केन्द्रमा दिनभर लाखेनाचको रौनक चल्यो। कलाप्रेमीले लाखे हेर्दे नेवारी परिकारको स्वाद लिए। दर्शकलाई नेवारी परिकार चखाउन प्रतियोगितास्थलमै ‘झो भ्वयः’ को प्रबन्ध गरिएको थियो।प्रतियोगितामा पोखराको मोहरिया सिंहनाथ टोल तायःमचाः समिति प्रथम, रामकृष्ण टोल ल्याम्ह पुचः दोस्रो, समाज कल्याण नेवाः खलः राजाको चौतारा तेस्रो र ग्रैहापाटन नेवाः समाज सान्त्वना भयो।

विजेता समूहले क्रमशः ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र ११ हजार एक सय ११ नगद पुरस्कार जिते। लाखे नाचको संरक्षण र पुस्तान्तरणको ध्येयले प्रतियोगिता आयोजना गरिएको मूल संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले बताए।

लाखेनाच घण्टाकर्ण पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ। राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती पाइन्छ। त्यसकै प्रतीकस्वरूप नेवार समुदायले बर्सेनि लाखेनाच प्रदर्शन गर्दै आएका छन्। नेवार समुदाय बसोबास गर्ने ठाउँअनुसार फरक–फरक तरिकाले लाखेनाच नचाउने गरिन्छ। लाखेनाचको प्रचलन र यसको इतिहासबारे पनि विभिन्न तर्क पाइन्छन्।

लाखेनाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन्। राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिंगारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायको बसोबास रहेको बागलुङ सदरमुकाममा पनि अहिले लाखेलगायत नाच प्रदर्शन भइरहेका छन्।

बर्खे नाचलेसमेत चिनिने भदौरे जात्रा आजदेखि सुरु भएको छ। जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन रहेको नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए।

भदौरे जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन हुने उहाँको भनाइ छ। गाईजात्रा पर्वका अवसर पारेर वर्ष दिनभित्र दिवंगगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकाल्ने गरिएको उनले बताए।

बागलुङका नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रुपमा जात्राको परम्परालाई धान्दै आएका छन्। यहाँ नेपाल भाषा मंका खलः र शाक्य कल्याण समाजको अगुवाइमा भदौरे जात्रा र नाचको परम्परा धानिँदै आएको छ।

लाखे र जोगीनाच शाक्य कल्याण समाजले निकाल्दै आएको छ। अन्य नाच नेपाल भाषा मकां खलःअन्तर्गत संरक्षित छन्। नेवार युवाहरुको संस्था नेवाः ल्याम्ह पुचः पनि जात्रा संरक्षणमा सक्रिय छ। झण्डै चार सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट बागलुङ आएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताए।

 ‘भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमको रूपमा जात्रालाई लिइन्छ’, उनले भने, ‘जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खेनाच निकाल्न सुरु हुन्छ।’

भदौरे जात्रामा देखाइने हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन्। घोडा नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्क्याउँदै बजार परिक्रमा गराउने चलन रहेको संस्कृतिकर्मी छोटाले बताए। कटुवाल नाचमा पनि युवाहरु विभिन्न रुपका मुखुन्डो धारण गरेर मृदंगको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ। हली, बाउसे र खेतालालाई रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ।

कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्कहरू महिलाको भेष धारणा गरेर नाचमा सहभागी हुन्छन्। हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढंगले प्रस्तुत गर्ने गरिन्छ।

जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो। नेवारभित्रको शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ। जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन छ।

जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ। जोगीनाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा चुनौती रहेको शाक्य कल्याण समाजका अध्यक्ष राजन शाक्यले बताए।

जात्राले गीत, नृत्य र अभिनयबाट व्यंग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको संस्कृतिकर्मी छोटाले बताए। प्रायः नाच गाईजात्राकै भिन्न स्वरुपजस्ता देखिने गरेको उनको भनाइ छ।

‘जात्राले सामाजिक विकृति, विसंगतिप्रति व्यंग्य मात्र गर्दैन’, उनले भने, ‘मौलिक र परम्परागत मूल्य, मान्यताले पनि यो सुसज्जित छ।’

सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने बेग्लाबेग्लै छ । गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवंगत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ। बास्सा नाचमा देवी, देवताको वेशभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ।

नेपाल भाषा मंकाः खलःका अध्यक्ष राजभण्डारीले पहिलेपहिले भदौरे नाच हेर्नकै लागि मानिसहरू गाउँगाउँबाट बागलुङ बजार झर्ने गरेको बताए। ‘दिनभर जात्रामा रमाउने र चाडबाडलाई किनमेल गरेर साँझ घर फर्कने चलन थियो’, उनले भने, ‘ग्रामीण बजार, सडकको विस्तार आदिले अहिले त्यो चलन हट्यो।’

पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । बागलुङको हरिचौर, हटिया, बलेवालगायत नेवार जातिको बसोबास रहेका ठाउँमा पनि बर्खे नाच देखाउने गरिन्छ।

संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन्। ‘पुस्तान्तरणको अभावमा कतिपय परम्परागत नाच संकटमा छन्, अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ’, अध्यक्ष राजभण्डारीले भने, ‘नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिबारे बुझाउनुपर्ने खाँचो छ।’

म्याग्दी सदरमुकाम बेनी बजारमा पनि साउन शुक्ल चतुर्दशीमा पर्ने घण्टाकर्ण पर्वदेखि बर्खेनाच सुरु भएको नेपाल भाषा मंकाः खलःअन्तर्गतको नेवाः ल्याम्ह पुचःका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बर्खेनाचमा लाखे, नागनागिनी, घोडानाच, श्रीकृष्ण रथयात्रालगायत निकाल्ने गरिएको छ। नयाँ पुस्तामा पुरानो संस्कृतिप्रतिको मोह कम हुँदै जाँदा परम्परागत नाच संरक्षणमा चुनौती थपिएको अध्यक्ष श्रेष्ठको अनुभव छ। बेनीमा तीज पर्वसम्म बर्खेनाच देखाउने चलन छ।

मुस्ताङ र मनाङबाहेक नेवार समुदायको सघन बसोबास रहेका पोखरासहित तनहुँको दमौली, बन्दीपुर, पर्वतको कुश्मा गोरखालगायत जिल्लामा यतिबेला सांस्कृतिक नाच र जात्रा चलिरहेका छन्।

बसाइँसराइ, युवाको विदेश पलायन, आधुनिकताको प्रभाव, मौलिक संस्कृतिप्रतिको अरुचिजस्ता कारणले पुरानो कला र संस्कृति जोगाउने चुनौती भने नेवार समुदायमा पनि थपिएको छ।

समाजमा प्रचलित संस्कृति र परम्परा नास भएर जाने हुन् कि भन्ने चिन्ता नेवार अगुवाहरूलाई छ। नयाँ पुस्तालाई संस्कृति संरक्षणको ज्ञान र सीप हस्तान्तरण गर्नुपर्ने संस्कृतिकर्मी छोटाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad