४२ वर्षीया अभिनेत्री शेफाली जरीवालाको अचानक निधनको कारण अझै थाहा हुन सकेको छैन।
उनको मृत्युबारे अनुसन्धान गरिरहेका केही प्रहरी अधिकारीहरूका अनुसार शेफालीले धेरै औषधि प्रयोग गरिरहेकी थिइन्। सम्भवतः खाली पेटमा यी औषधि लिएका कारण अचानक रक्तचाप घटेको अनुमान उनीहरूले गरेका छन्।
समाचार एजेन्सी पीटीआईले एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘जुन २७ को दिउँसो शेफालीले एउटा सुई लगाइन्, जुन सम्भवतः बुढ्यौलीविरुद्धको सुई थियो।’
प्रहरी अधिकारीले भनेका छन्, ‘उनको रक्तचाप द्रुत गतिमा घट्यो र उनी काम्न थालिन्। यसपछि परिवारले उनलाई अस्पताल लगे।’
जुन २७ को राति शेफाली जरीवाललाई अन्धेरीको बेलेभ्यु मल्टी-स्पेसलिटी अस्पताल लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरे। राति १ बजे प्रहरीलाई यसबारे जानकारी गराइएको थियो र त्यसपछि उनको शव पोस्टमार्टमको लागि कुपर अस्पताल पठाइएको थियो।
प्रहरीका अनुसार, ‘अम्बोली प्रहरीले अहिलेसम्म १० जनाको बयान रेकर्ड गरेको छ, जसमा शेफालीका श्रीमान् र आमाबाबुका साथै घरमा काम गर्ने सहयोगी पनि छन्। त्यतिबेला उनीहरू सबै घरमै थिए। तर, अहिलेसम्म कुनै शंकास्पद कुरा फेला परेको छैन। अनुसन्धानका क्रममा प्रहरीको टोली फोरेन्सिक विशेषज्ञहरूसँग उनको घरमा गयो र धेरै चिजको नमुना संकलन गर्यो। यसमा शेफालीका औषधि र इन्जेक्सन पनि छन्।’
शेफाली जरीवालाको मृत्युपछि उमेरसँग सम्बन्धित शारीरिक परिवर्तन रोक्ने एन्टी-एजिङ उपचारमा कस्ता जोखिम हुन्छन् भन्ने विषयमा बहस तीव्र भएको छ।
के भन्छन् प्रसिद्ध अभिनेत्रीहरू?
शेफाली जरीवालाको मृत्युपछि अभिनेत्री मल्लिका शेरावतले इन्स्टाग्राममा एउटा भिडिओ सेयर गरेकी छन्। जसमा उनले आफ्ना फ्यानहरूलाई ‘स्वस्थ जीवनशैली’ अपनाउन सुझाव दिएकी छन्।
उनले भनेकी छन्, ‘मैले कुनै फिल्टर प्रयोग गरेको छैन, मेकअप गरेको छैन। मैले मेरो कपाल पनि बनाएको छैन। म तपाईंहरू सबैसमक्ष यो भिडिओ सार्वजनिक गर्दै छु ताकि हामी सबै मिलेर बोटोक्स, कृत्रिम कस्मेटिक फिलर नो र स्वस्थ जीवनशैली एस भन्न सकौँ।’
यसैबीच एक अन्तर्वार्तामा अर्की अभिनेत्री करिना कपुरले पनि भेनकी छन्, 'म बोटोक्सको विरुद्धमा छु।'
यद्यपि उनी बढ्दो उमेरसँगै अभिनेत्रीहरूका लागि बढ्दो चुनौतीबारे मात्र छलफल गरिरहेकी थिइन् तर यहीबीच उनलाई सोधियो- तपाईं पनि चाउरीपना र बुढ्यौलीबाट डराउनुहुन्छ?
जवाफमा करिनाले भनिन्, ‘म बोटोक्सको विरुद्धमा छु। हो, म आफ्नो हेरचाहका पक्षमा छु, जसको अर्थ स्वस्थ रहनु, आनन्द महसुस गर्नु र प्राकृतिक उपचार हो। यो आफ्नो र आफ्नो प्रतिभाको संरक्षणको कुरा पनि हो किनभने यही नै मेरो हतियार हो। यसको अर्थ तपाईं बिदा लिनूस्, परिवार र साथीहरूसँग समय बिताउनूस्, सेटमा गर्ने भन्दा फरक काम गर्नूस्। सुई र शल्यक्रियातिर लाग्ने होइन।’
तर यी दुवै अभिनेत्रीले शेफाली जरीवालाका विषयमा केही उल्लेख गरेका छैनन्। तर उनीहरूको अभिव्यक्तिलाई जरिवालाकै निधनसँग जोडिएको छ।
के हो बुढ्यौलीविरुद्धको उपचार?
हाम्रो उमेर बढ्दै जाँदा अनुहारमा मसिना रेखा अर्थात् चाउरी देखा पर्न थाल्छन्, अनुहारको छाला पनि बिस्तारै खुम्चिन थाल्छ। तर यसलाई रोक्न आजकल कस्मेटिक सर्जरी, इन्जेक्टेबल फिलर, बोटोक्स आदि प्रयोग गर्ने चलन बढेको छ।
यीमध्ये सबैभन्दा लोकप्रिय बोटोक्स हो, जुन एक शक्तिशाली इन्जेक्सन हो, जसले हाम्रो मांसपेशीलाई धेरै सानो क्षेत्रमा आराम दिन्छ। बोटोक्स निधार वा आँखा नजिकका रेखा, नाक वरिपरिका रेखा कम गर्न प्रयोग गर्न सकिन्छ।
२० वर्षभन्दा पहिले भारतको खाद्य र औषधि प्रशासन (एफडीए) ले कस्मेटिक प्रक्रियामा यसको प्रयोगलाई अनुमोदन गरेको थियो।
द एस्थेटिक क्लिनिक्सका वरिष्ठ कस्मेटिक सर्जन डा. देवराज शोमले हिन्दी समाचार वेबसाइट द लल्लान्टपसँग भनेका छन्, ‘डर्मल फिलर इन्जेक्सन छालाभित्र दिइन्छ। यो त्यही पदार्थबाट बनाइएको हुन्छ, जसबाट हाम्रो छालाका कोष बनेको हुन्छ।’
उनका अनुसार उमेरसँगै छालामा कोलाजेन घट्न थाल्छ, तर फिलरको मद्दतले कोलाजेन फेरि थपिन्छ र अनुहार जवान देखिन थाल्छ।
धेरै मानिसले एन्टी-एजिङका लागि ग्लुटाथियोन इन्जेक्सन पनि प्रयोग गर्छन्। यो एक एन्टी-अक्सिडेन्ट हो, जसले हाम्रो शरीरका कोषमा हुने क्षति रोक्न मद्दत गर्छ। ग्लुटाथियोन प्रायः इन्ट्राभेनस इन्जेक्सन र ट्याब्लेटमार्फत लिइन्छ।
कैलाश अस्पतालको छाला विज्ञान विभागकी वरिष्ठ सल्लाहकार डा. अन्जु झा भन्छिन्, ‘ग्लुटाथियोन पहिले नै हाम्रो शरीरमा हुन्छ। तर उमेरसँगै शरीरले ग्लुटाथियोनको उत्पादन कम गर्न थाल्छ। त्यसैले यो बाहिरबाट लिइन्छ। ग्लुटाथियोन लिने व्यक्तिहरूको छालाको रङमा केही निखार पनि आउने विश्वास गरिन्छ। यदि इन्ट्राभेनस इन्जेक्सन ग्लुटाथियोन लिइयो भने यसको नतिजा अझ राम्रो मानिन्छ। तर यसको साइड इफेक्ट पनि छ। यो एफडीएद्वारा स्वीकृत छैन।’
यो उपचार कति सुरक्षित?
उक्त फिलर वा ग्लुटाथियोन इन्जेक्सन यति खतरनाक हुन सक्छन् कि यसबाट मृत्यु पनि हुन सक्छ?
इन्डियन एक्सप्रेससँग कुरा गर्दै दिल्लीको सर गंगा राम अस्पतालको छाला विज्ञान विभागका अध्यक्ष डा. ऋषि पराशर भन्छन्, ‘अपवादबाहेक यस्ता इन्जेक्सन अहिलेसम्म सुरक्षित साबित भएका छन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यी औषधि दर्तावाल छाला विशेषज्ञको निगरानीमा मात्र लिनुपर्छ।’
त्यही पत्रिकाका अनुसार बोटोक्सको जोखिमबारे अप्रिल २०२४ मा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले २५ देखि ५९ वर्षसम्मका २२ महिलामा यसका हानिकारक असर देखिएको चेतावनी जारी गरेपछि तीव्र बनेको हो। यीमध्ये ११ जनालाई अस्पताल नै भर्ना गर्नुपरेको थियो भने ६ बिरामीमा बोटोक्समार्फत दिइएको विषाक्त पदार्थ स्नायु प्रणालीमा फैलिएको पाइएको थियो। यो यस्तो अवस्था हो जसले मृत्यु पनि गराउन सक्छ।
यसबारे डा. पराशरले भनेका छन्, ‘के प्रमाणित भएको छ भने यी सबै महिलाले स्वास्थ्य सेवा केन्द्र पनि नभएका ठाउँमा बिनाइजाजतपत्र वा अप्रशिक्षित व्यक्तिबाट इन्जेक्सन लिएका थिए।’
यी औषधिको जोखिमबारे अर्का डा. अन्जु झा भन्छिन्, ‘एफडीएले ग्लुटाथियोनलाई अनुमोदन गरेन किनभने यसका केही साइड इफेक्ट देखिए। यसले केही बिरामीमा एनाफिलेक्सिस निम्त्याउन सक्छ, इन्जजेक्सनबाट दिइने औषधिले स्टिवन जोनसनजस्ता रोग निम्त्याउन सक्छ। यो औषधिबाट उत्पन्न हुने अवस्था हो, जसमा मृत्युको सम्भावना हुन्छ। यद्यपि यस्तो हुने सम्भावना निकै दुर्लभ हुन्छ।’
उनका अनुसार छालालाई चम्किलो वा गोरो बनाउन यी औषधिका प्रभाव प्रयोग गरुन्जेल मात्र रहन्छ, सधैँभरि रहँदैन।
डा. अन्जु थप्छिन्, ‘तपाईंले कति औषधि लिइरहनुभएको छ, तपाईंले लिनुपर्छ कि पर्दैन भन्ने कुरा धेरै महत्त्वपूर्ण छ। तपाईंलाई पहिले नै कुनै समस्या त छैन जसलाई यी औषधिका प्रयोग झन् बढाओस्। यसैले राम्रो छाला विशेषज्ञको सल्लाहमा मात्र यो प्रयोग गर्नुपर्छ।’
उक्त औषधिले हृदयघात भने नगराउने उनी बताउँछिन्।
उनी भन्छिन्, तर कहिलेकाहीँ यसको अत्यधिक मात्राका कारण कलेजो र मिर्गौलालाई असर गर्न सक्छ। यी अप्रत्यक्ष असर हुन्। त्यसैले यो उपचार एक विशेषज्ञद्वारा गर्न जरुरी छ, जसलाई कुन मांसपेशीमा सुई लगाउने र कति सुई लगाउने भन्ने थाहा छ। यसको प्रयोग आफैँ नगर्नुहोस्, पार्लरमा नगर्नुहोस् र जानकारी नभएका कुनै पनि डाक्टरबाट पनि नगराउनुहोस्।’
Shares

प्रतिक्रिया