अमेरिकाको न्युयोर्कमा कवि बसन्त चौधरीले एकल कविता वाचन सम्पन्न भएको छ।
कवि चौधरीले विश्व–काव्ययात्राको १९ शृंखलाअन्तर्गत बुधबार साँझ अमेरिकाको न्युयोर्क सहरमा एकल कविचावाचन गरेका हुन्। अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास), न्युयोर्क च्याप्टरद्वारा आयोजित १९ औँ शृङ्खलामा चौधरीले एकल कविता वाचन गरेका हुन्।
कविता वाचनका माध्यमबाट प्रवासी नेपालीहरूलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउँदै नेपाली भाषा–साहित्यको प्रचार–प्रसार गर्ने र नेपाली वाङ्मयको वर्तमान अवस्थाबारे बोध गराउने उद्देश्यले आयोजना गरिएको सो एकल कविता वाचनमा कवि चौधरीले डेढ दर्जनजति कविता सुनाएका थिए।
‘माग्दिनँ प्रभु म तिम्रो स्वर्ग देऊ,
यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ’
ईश्वरलाई सम्बोधन गरेको यसै कविताबाट उनले आफ्नो कविता वाचनको आरम्भ गरेका थिए।
कवि चौधरीको अर्को विशेषता हो प्रेम–कविता। उनले यसपटक प्रेमबाहेक राजनीतिक विसंगति, सामाजिक घटना र प्रकृतिबारे करिब दुई घन्टा कविता पाठ गरेका थिए। उनले कवितावाचन गर्ने क्रममा एक पंक्ति मुक्तक सुनाए।
विछोड पनि माया नै हो
सम्झना भई आइरहन्छ
जति टाढा भए पनि के भो र ?
स्पन्दनले गनगुनाइ रहन्छ।
कविता वाचनकै क्रममा कविताबारे आफ्नो धारणासमेत राखेका थिए। व्यवसायी कवि हुन सक्दैनन् भन्ने मान्यता रहेको भन्दै उनले आफू कवि नभई काव्य उपाशक भएको उनको भनाइ थियो। ‘उद्योगी–व्यवसायीहरू कवि हुन सक्दैन भन्ने आम धारणा छ। त्यसैले, म आपूmलाई कवि होइन्, काव्यको उपासक मान्दछु र आराधना गर्दछु। त्यही उपासनाको क्रममा ममा जुन भावहरु उर्लन्छन्, तिनमा डुबुल्की मार्दा मेरा हातमा कहिले सीपी, कहिले मोती आउँछन् र तिनलाई अक्षरको रुप दिएर सजाउँदा, ती कविता बन्छन्।’ कवितावाचनसँगसँगै उनको व्याख्यान पनि त्यत्तिकै रोचक र प्रभावकारी हुन्छ।
क्विता वाचनका क्रममा उनले आफ्ना दुई लोकप्रिय गजल पनि सुनाएका थिए। कविता वाचनकै क्रममा प्रवासमा बस्नेहरूकै लागि लेखिएको ‘म सन्देश लिएर आएको छु’ र ‘आमा’ कविता वाचन गर्दा श्रोता गम्भीर र विह्वल भएका थिए। ‘आमा’ कविता वाचन गर्नुअघि उनले भने, ‘ ‘आमा’ शब्द उच्चारण गर्ना साथै एक किसिमको स्नेह र ममत्वको भाव नसानसामा सञ्चारित हुन्छन्। प्रेम र वात्सल्य छताछुल्ल भएर हृदयमा तरङ्गित हुन थाल्छन्। र, भावनाका अजस्र स्रोतहरू एकैपटक रसाएर बग्न थाल्छन्। आमाविनाको संसार कस्तो उराठ लाग्दो, एकांकी हुन्छ? यसको अनुभूति मलाई छ। त्यसैले आमा ब्रह्माण्डकै सर्वप्रिय, सर्वपूज्य अनि हृदय र ढुकढुकीभन्दा पनि निकटको नाता हो।’ उनको यो भनाइले कार्यक्रममा उपस्थित सबैलाई गम्भीर र संवेदनशील बनाएको थियो।
यस अघि ८ सेप्टेम्रमा क्यानडामा आफ्नो काव्ययात्रा सम्पन्न गरेर न्यूयोर्क आइपुगेका कवि चौधरीले विश्व–काव्ययात्राको २० औँ शृङ्खला १५ सेप्टेम्बर २०१९ मा भर्जिनियामा प्रस्तुत गर्दैछन्।
Shares

प्रतिक्रिया