सोमबार विजय दशमीको टीकाको दिन । कोरोनाको महामारीका कारण पहिलेजस्तो उत्साहजनक नभए पनि यसपाली धेरैले घरमै बसेर दसैँ मनाए। पहिले आफ्नतहरुकोमा टीका लगाउन जानेहरुले यसपाली टीका लगाएपछि दसैँ घरमै सीमित भएको जानकारी दिँदै सामाजिक सञ्जालमा तस्बिर पनि राखे।
दसैँलाई घरपरिवार, आफन्त, इष्टमित्र, छरछिमेकी जम्मा भएर रमाइलो गर्दै मनाउने पर्वका रुपमा लिइँदै आएको भए पनि यसपाली कोरोनाले त्यो मान्यतालाई बदलिदियो। धेरैले मन नहुँदा नहुँदै पनि बाध्य भएर ‘यो पटक दसैँ घरपरिवारका साथ, परिस्थितिले साथ दिए अर्को पटक भेटौँला’ भनेका छन्।
दसैँ, तिहारमा सधैँजसो देश-विदेशका कार्यक्रममा व्यस्त हुने कलाकारहरुले यो पटक भने घरमै दसैँ मनाएका छन्।
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले यसपाली घर परिवार र रंगशाला निर्माण परिवासँग बसेर दशै मनाएका छन्। ‘नवदुर्गा भवानीको कृपाले घरपरिवार र रङशाला परिवार दुबैसँग विजया दशमीको टीका आदानप्रदानसँगै ग्रहण गर्ने अवसर प्राप्त भयो। ७७ वर्षीया हजुरआमा, बुवाआमा, श्रीमती , छोरी, भाइहरु र बहिनीसहित परिवारसँग टीका ग्रहण आशीर्बाद सँगसँगै गौरबको परियोजना रङशाला निर्माण अभियानमा १५० जनाभन्दा बढी जनशक्ति, कर्मचारी साथीहरू जो दसैँमा पनि घर नगइ निरन्तर निर्माण अभियानमा जुटिरहनु भएको छ। उहाँहरुलाइ टीका लगाइदिन पाउदा मैले आफूलाई भाग्यमानी ठानेको छु’, टीकापछि सामाजिक सञ्जाल फेसबुकमा कट्टेलले लेखेका छन्।


कलाकार दीपकराज गिरीले पनि दसैँमा ४० जनाको परिवार यो पल्ट परिस्थितिले ५ जनाको बनाएको भन्दै संख्या कम भयो होला आशीर्वाद कम नभएको जानकारी दिएका छन्। ‘आशीर्वाद–२०७७ ! ४० जनाको परिवार यो पल्ट परिस्थितिले ५ जनाको बनायो, संख्या कम भयो होला आशीर्वाद कम भएन’, फेसबुकमा गिरीले लेखेका छन्।

अभिनेत्री स्वेता खड्काले पनि आफूले दसैँ मनाएको फोटा सामाजिकत्र सञ्जालमा पोस्ट गरेकी छन्। ‘ह्याप्पी दसैँ एभ्रिवान’ लेखेर उनले ट्विटरमा दुई वटा फोटो पोस्ट गरेकी छन्।
त्यस्तै अभिनेत्री रेखा थापाले पनि टीका लगाएको फोटो सामाजिक सञ्जालमा फोस्ट गर्दै ‘टीका २०७७, सबैको मंगल होस् भनेकी छन्।

अर्की अभिनेत्री करिष्मा मानन्धरले पनि टीका लगाउँदै र लगाइदिँदै गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। जहाँ उनी परिवारका रमाइलाे गरिरहेका केही तस्बिर देख्न सकिन्छ।

अभिनेता नाजिर हुसेनले पनि टीका लगाएर दसैँ मनाएका छन्। टीकापछि ‘दसैँ टीका २०७७’ भन्दै उनले फेसबुकमा तीनवटा फोटा अपलोड गरेका छन्।

अभिनेत्री झरना थापाले पति निर्माता सुनिलकुकमार थापासँगै र छोरी अभिनेत्री सुहाना थापालाई टीका लगाउँदै गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छन्। ‘हप्पी दसैँ’ भन्दै उनले फेसबुकमा ५ वटा फोटो सेयर गरेकी छन्।

त्यस्तै हालैमात्र कोरोनालाई जितेका वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि यो वर्षको दसैँभन्दा टीकापछिको एक फोटो सामाजिक सञ्जालमा १ फोटो सेयर गरेका छन्।

त्यस्तै गायक रामकृष्ण ढकालले पनि सामाजिक सञ्जालमा दसैँको टीकाको फोटो सार्वजनिक गरेका छन्। तस्बिरमा उनी छोरी र श्रीमतीका साथ दसैँ मनाउँदै गरेको देख्न सकिन्छ। उनले टीकाको फोटोसहित फेसबुकमा दसैँको शुभकामनाका दिनुका साथै सावधानीका साथ दसैँ मनाउन समेत आग्रह गरेका छन्।

Shares

प्रतिक्रिया