कला


‘रातो र चन्द्र सूर्जे’ अब नेपथ्यको म्यूजिक भिडियोमा


नेपालखबर
साउन ७ ,

कवि गोपालप्रसाद रिमालले राणाकालमै लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ संगीतबद्ध भएको केही दसकपछि अब म्यूजिक भिडियोका रुपमा प्रस्तुत भएको छ।

यस कवितालाई निकैपछि अम्बर गुरुङले वीररसमा संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए। उतिबेलै गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो।

नेपाली झण्डाको महिमा गाउने क्रममा हाम्रो गौरवमयी इतिहास र गाथा बयान गर्ने यो गीतलाई पछिल्लो समय लोक रक ब्याण्ड नेपथ्यले गाउँदै आएको छ। यसले रेडियो नेपालका पुराना श्रोतामा मात्र यस गीतलाई सीमित नराखेर नयाँ पुस्ताको अझ ब्यापक घेरामा लगिदिएपछि दिन प्रतिदिन लोकप्रियता बढ्दै गएको छ।

‘पुरानै गीतलाई हाम्रो थप प्रयास स्वरुप नयाँ एरेन्जमेन्टले सजाएपछि श्रोताहरुलाई सुनाउँदै आएका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘सन् २००२ यता ब्याण्डका हरेक जसो कन्सर्टमा नछुटाइकन यो गीत प्रस्तुत हुने गरेको छ।’

मुलुकमा माओवादी द्वन्द्वले एकातिर बढ्दो हत्या हिंसा र अर्कोतिर अधिनायकवादी शासनका अभ्यासहरु बढ्दै जाँदाको क्रममा नेपथ्यले आफ्नो कन्सर्टमा केहि राष्ट्रिय भावना बोकेका गीतहरु थपेको थियो। ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ गीत समेत थपेर दिइएका प्रस्तुतीलाई ब्याण्डका श्रोता दर्शकले अत्यन्त उत्साहका साथ मनपराएको संकेत दिएपछि नेपथ्यले यी दुवै गीतलाई लगातार गाउँदै आइरहेको छ।

संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति ब्याण्डले प्राप्त गरेपछि केहि वर्षअघि तयार भएको नेपथ्यको एल्बम ‘मेरो देश’ मा यसलाई समेटिएको थियो।

त्यसैगरि नौ वर्षअघि नेपाली सेनाले यस गीतलाई ‘सैनिक गीत’ बनाउने निधो गरेपछि उसका प्रत्येक जस्तो औपचारिक कार्यक्रममा यो धुन बजाउँदै आइरहेको छ।

‘म्यूजिक भिडियोमा नेपथ्य ब्याण्डकै लाइभ कन्सर्टका दृश्यहरुलाई संयोजन गरिएको छ,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘गीत गाउँदा दर्शकहरुमा देखिएको ब्यापक उत्साह र उर्जाले नै शब्दको शक्ति देखाउने भएकाले यस्तो निर्णय लिएका हौं।’

5. Nepathya performing Rato Ra Chandra Surya in Dallas

ब्याण्डले लामो समयदेखि लगातार स्वदेश र विदेशका कन्सर्टहरुमा गाउँदै आएको यो गीत अब म्यूजिक भिडियो बन्न लागेकोमा गायक अमृत प्रशन्नता प्रकट गर्छन्।

‘मायाप्रितीका गीत गाउने नेपथ्यलाई गम्भीर भूमिकामा मोड्न यस गीतको महत्वपूर्ण योगदान छ,’ अमृत भन्छन्, ‘नेपथ्य प्रेमीहरुको यो प्रिय गीतले अब शब्द र संगीत मात्र नभइ दृश्य पनि बोक्ने भएको छ।’

नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ वटा स्वर्णीम वर्षहरु बिताइसकेको छ। पप गीतहरुबाट सुरु भएको यो समूह कालक्रममै लोक रक ब्याण्ड बन्न पुग्यो। युवा पुस्तामा लोकप्रिय यस ब्याण्डले पछिल्लो समय मुलुकको परिस्थितीलाई आफ्ना श्रोतासम्म लगिदिने संवाहकको भूमिका पनि निभाउँदै आएको छ।

‘यो गम्भीर भाव बोकेको पुरानो गीतलाई युट्युब पुस्तासम्म लैजाने उद्देश्यले यसको भिडियो तयार पारेका हौं,’ नेपालयका किरणकृष्ण भन्छन्, ‘हरेक कन्सर्टमा गाउने बेला दर्शकमा देखिने उत्साहलाई नै यसको ब्यापक माँगका रुपमा बुझेर हामीले यस्तो निर्णय लिएका हौं।’

साउन ७, २०७६ मंगलबार १०:५०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad