ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनिक प्रविधियुक्त आठवटा पर्दासहित साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको छ।
नयाँ भवन निर्माणका लागि केही वर्षदेखि बन्द रहेको सिनेमा हल शुक्रबार आयोजित विशेष समारोहबीच औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो।
वि.सं. २०५२ सालदेखि करिब २७ वर्षसम्म निरन्तररूपमा दर्शकलाई चलचित्र प्रदर्शन सेवा प्रदान गरेको गुण सिनेमाले २०७९ सालदेखि नयाँ भवन निर्माण सुरु गरेको थियो।
आधुनिक संरचना, विश्वस्तरीय प्रविधि र सुविधासहित पुनर्निर्माण सम्पन्न भएपछि गुण सिनेमा पुनः दर्शकको मनोरञ्जनका लागि खुला गरिएको हो।
मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजको व्यवस्थापनमा सञ्चालन हुने गुण सिनेमामा ४१ देखि २६० सिट क्षमताका आठवटा हल छन्। सबै हलको कुल सिट क्षमता करिब एक हजार चार सय रहेको छ।
सिनेमाका हलहरूमा विश्वस्तरीय चलचित्र प्रदर्शन तथा ध्वनि प्रविधि जडान गरिएको छ। हलहरूमा जीडीसी सर्भर, पल्ज तथा जेबीएल स्पिकर, डीटीएसःएक्स प्रविधि, एआईबी–३००० प्रोसेसरसहितको इमर्सिभ साउन्ड सिस्टम, बार्को टुके लेजर प्रोजेक्टर र सिल्भर स्क्रिन प्रयोग गरिएको छ। यी प्रविधिले दर्शकलाई स्पष्ट दृश्य, प्रभावशाली ध्वनि र उत्कृष्ट सिनेमाटिक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
पुनः सञ्चालन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गुण सिनेमा प्रालिका अध्यक्ष दिजेन्द्र शाक्यलाई आठवटै पर्दाको चलचित्र प्रदर्शन इजाजतपत्र हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष डीसीले गुण सिनेमाको पुनः सञ्चालनले नेपाली चलचित्रको प्रदर्शन क्षेत्रलाई थप व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले अत्याधुनिक पूर्वाधारसहित सञ्चालनमा आएको गुण सिनेमाले दर्शकलाई गुणस्तरीय चलचित्र प्रदर्शन सेवा उपलब्ध गराउनुका साथै नेपाली चलचित्रको बजार विस्तारमा समेत योगदान पुर्याउने बताए।
गुण सिनेमाको पुनरागमनसँगै ग्वार्को तथा आसपासका दर्शकले एकै स्थानमा विभिन्न चलचित्र हेर्न पाउने भएका छन्।
Shares

प्रतिक्रिया