एक्सन-एड्भेन्चर विधामा फिल्म ‘हजारौँमा एक’ बन्ने भएको छ। निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा यो फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित छ।
फरक स्वाद, भव्य दृश्य प्रस्तुति तथा उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली चलचित्र उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको हो।
यस फिल्मलाई सञ्चारकर्मी समेत रहेका निर्देशक सुव्रत आचार्यले गर्नेछन्। चलचित्रको कथा सीता मायाले परिकल्पना गरेकी हुन् र उनी नै चलचित्रकी प्रस्तुतकर्ता पनि हुन्।
दीपेन्द्र गौतम 'माइकल' कार्यकारी निर्माताको भूमिकामा रहने फिल्मलाई हरि हुमागाईले खिँच्नेछन्।
चलचित्रको मूल भाषा नेपाली रहने भए पनि यसलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले मलियालम र हिन्दी भाषामा समेत डबिङ गरिनेछ।
चलचित्रका परिकल्पनाकार तथा मुख्य अभिनेता भारतको मलियालम चलचित्र उद्योगसँग आबद्ध रहेका छन्।
मुख्य अभिनेतासम्बन्धी विस्तृत जानकारी केही समयपछि चलचित्रको अफिसियल फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा गरिने निर्माण पक्षले जनाएको छ।
साथै, चलचित्रमा मलियालम चलचित्र उद्योगका केही कलाकार तथा प्राविधिकहरूको पनि सहभागिता रहने निर्देशक आचार्यले जनाए।
चलचित्रको पटकथालाई नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गर्ने कार्य चर्चित लेखक शान बस्नेतले गरिरहेका छन्। चलचित्रको छायांकन यसै वर्षको फागुन–चैत महिनादेखि सुरु गर्ने तयारी भइरहेको छ।
निर्माण पक्षका अनुसार चलचित्रका अधिकांश मुख्य भूमिकामा नेपाली कलाकारहरूको अभिनय रहनेछ। त्यसै गरी, छायांकन टोलीसहित अधिकांश प्राविधिक टोली पनि नेपाली चलचित्र उद्योगकै रहनेछन्। चलचित्रको गीत-संगीत समेत नेपाली सर्जकहरूले नै तयार गर्नेछन्।
करिब चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको ‘हजारौँमा एक’ नेपाली चलचित्र उद्योगका लागि एउटा महत्त्वपूर्ण र भव्य परियोजनाका रूपमा हेरिएको छ।
Shares

प्रतिक्रिया