कला


आत्मदाह घटनाले कलाकार पनि आक्रोशित, धुर्मुस भन्छन्: गणेश नेपालीमा म आफ्नै प्रतिबिम्ब देख्छु

‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ’
आत्मदाह घटनाले कलाकार पनि आक्रोशित, धुर्मुस भन्छन्: गणेश नेपालीमा म आफ्नै प्रतिबिम्ब देख्छु

नेपालखबर
असार २६, २०८३ शुक्रबार १५:२१, काठमाडौँ

बिहीबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको आज शुक्रबार मृत्यु भएको छ। राहदानी विभागअगाडि एक युवाले गरेको आत्मदाहले सामाजिक सञ्जाल तातेको छ।

यस घटनाले सर्वसाधारण, राजनीतिकर्मीदेखि कलाकारसम्म सरकारप्रति आक्रोशित भएका छन्। 

नेपाली सेलेब्रिटीहरूले यो आत्मदाह नभई राज्यले गरेको हत्या भन्दै सामाजिक सञ्जालमार्फत आलोचना गरिरहेका छन्।

क्रिकेट रंगशाला निर्माणका क्रममा आर्थिक विवादमा फसेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले त गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देखेको उल्लेख गरेका छन्।

‘लामो समयदेखि पीडा र उकुसमुकुसका बिच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु। राज्य सबै नागरिकको साँचो अभिभावक बनोस् र अब फेरि कसैले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नु नपरोस्’, उनले लेखेका छन्।

उनले देशमा श्रमको सम्मान गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।

त्यस्तै अभिनेत्री पूजा शर्माले पनि गणेश नेपालीको मृत्युलाई सामान्य दुर्घटना नभएको टिप्पणी गरेकी छन्। उनले फेसबुक स्टाटसमार्फत यसलाई ‘राज्यद्वारा गरिएको हत्या’ भनेकी छन्।

‘उनी एक मानव थिए, सपना बोकेका नागरिक थिए तर निर्दयी प्रशासनिक व्यवस्थाको बोझले थिचिए। यो कुनै सामान्य घटना होइन, यो राज्यको गम्भीर लापरबाहीको परिणाम हो। यो हत्या हो’, उनले लेखेकी छन्।

उनले अगाडि लेखेकी छन्, ‘तपाईंहरू आफूलाई नयाँ नेपालका नयाँ नेता भन्नुहुन्छ, तर नागरिकका लागि योजना खोइ? हामीले त देश अन्धकारतर्फ धकेलिएको मात्र देखिरहेका छौँ। पटकपटक तपाईंहरूले आफूहरूमा देश चलाउने स्पष्ट दृष्टि, क्षमता र जिम्मेवारीको अभाव रहेको प्रमाणित गर्नुभएको छ। सम्मान र आधारभूत मानवीय व्यवहार खोजिरहेका नागरिकलाई तपाईंहरूले निराशाबाहेक केही दिन सक्नुभएको छैन।’

कर्मचारीलाई दोषी देखाएर नेताहरू पन्छिन नहुने उल्लेख गर्दै नैतिकताका आधारमा जिम्मेवारी लिन उनले सरकारलाई आग्रह गरेकी छन्।

त्यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि सरकारको नीति-नियममा प्रश्न गरेका छन्।

वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनले लेखेका छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad