सरकारको विरोध गर्नेहरूविरुद्ध कडाइ भइरहेको बेला अभिनेता राजेश हमालले खबरदारी गरेका छन्। शान्तिपूर्ण विरोध गर्न पाउने नागरिक हक भएको उनले स्मरण गराएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अभिनेता हमालले सरकारका सय दिनबारे पनि टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘कुनै पनि सरकारको पहिलो सय दिनको मूल्याङ्कन केवल उसका प्रतिबद्धता वा घोषणाहरूका आधारमा होइन, उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा हुनुपर्छ।’
नागरिकले भाषणभन्दा पनि जवाफदेहिता खोजेको उनले औँल्याएका छन्। हमालले भनेका छन्, ‘आज नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेका छन्।’
सरकारका राम्रा नराम्रा कदममा शान्तिपूर्ण रुपमा विरोध जनाउन पाउने नागरिकको लोकतान्त्रिक हक भएको स्मरण गराएका छन्।
‘शान्तिपूर्ण विरोध लोकतन्त्रको प्राण हो, तर हिंसा र आगजनी लोकतन्त्रको भाषा हुन सक्दैन,’ हमालले भनेका छन्, ‘आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्नेहरू सम्मानका पात्र हुन्, तर अपराध गर्ने जोसुकै भए पनि निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्छ।’
उनले अहिलेको अवस्थामा राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्, सबै देशसँग सम्बन्ध राखे पनि देशको हित प्राथमितामा राख्नुपर्ने औँल्याएका छन्।
‘शक्तिशाली राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाले प्रभावित आजको विश्वमा नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ,’ उनले भनेका छन्, ‘हामी सबैसँग मित्रताको हात बढाऔँ, तर कुनै पनि शक्तिको प्रभावले हाम्रो सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न नदिऔँ।’
देशलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्ने उनको मत छ। ‘राष्ट्रको वास्तविक शक्ति संस्थाहरूलाई सबल बनाउनुमा, विधिको शासनलाई सुदृढ गर्नुमा, र दलगत राजनीतिभन्दा माथि नेपाललाई राख्न सक्नुमा निहित हुन्छ,’ हमालले भनेका छन्।
Shares

प्रतिक्रिया