चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा २’ मा रिस्ता गुरूङ अनुबन्ध भएकी छन्। उनी यस फिल्मको मुख्य भूमिकामा देखिने छिन्।
आइतबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै रिस्ता फाइनल भएको जानकारी गराएको हो। अनुबन्ध भएपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन्।
‘पल शाह या आकाश श्रेष्ठको जोडीभन्दा पनि यो टिममा काम गर्न पाउनुनै आफूलाई एकदम भाग्यमानी ठानेकी छु। सबैसँग काम गर्न पाउँदा हुन्छ मलाई। योसँग र त्योसँग भन्ने छैन,’ उनले भनिन्।
निर्देशक पन्तले यस फिल्ममा अभिनेत्रीको जोडी को हो भन्ने बारेमा खुलाएनन्। ‘उहाँ ‘आ बाट आमा २’ को हिरोइन् हो,’ उनले भने, ‘अब उहाँको जोडी को हो, के हो भन्ने कुरा सरप्राइज हो।’
अभिनेत्री गुरुङ ‘मेरो डान्स युनिभर्स २’ कि विजेता हुन्। आगामी असोज ३० गते अर्थात् दसैँको फूलपातीबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावतका साथै साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का अनुबन्धित भइसकेका छन्।
यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ को यो सिक्वेल हो। उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो।
उक्त फिल्मको कथालाई निर्देशक पन्तले निरन्तता दिँदै सिक्वेल निर्माणको घोषणा गरेका हुन्। केही सातापछिनै फ्लोरमा जाने तयारीमा रहेको यस फिल्मको अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री भइसकेको छ।

प्रतिक्रिया