कला


२ करोड लगानीमा गायिका चौहानले खोलिन् ‘रमणी बाई एलिना’ फेसन स्टोर

२ करोड लगानीमा गायिका चौहानले खोलिन् ‘रमणी बाई एलिना’ फेसन स्टोर

नेपालखबर
साउन ५, २०८३ मंगलबार १३:३६, काठमाडौँ

चर्चित गायिका एलिना चौहानले व्यवसाय सुरू गरेकी छिन्। नयाँ बानेश्वरमा उनले महिलाविशेष फेसन स्टोर ‘रमणी बाई एलिना’ खोलेकी हुन्।

सोमबार परिवारसहित थुप्रै नेपाली सेलिब्रिटीहरूको उपस्थितिमा स्टोरको औपचारिक उद्घाटन गरिएको हो।

विशेषगरी परम्परागत महिला फेसनलाई केन्द्रमा राखेर खोलिएको ‘रमणी बाइ एलिना’ स्टोरमा करिब दुई करोड रुपैयाँ लगानी रहेको एलिनाले बताइन्। 

उक्त फेसन स्टोरमा साडी, कुर्ता, लेहेँगा, चप्पल, ब्याग, चुरा, गहना तथा अन्य शृंगारका सामग्री पाइनेछन्। 

गायिका एलिना स्टेज कार्यक्रममा व्यस्त हुने कलाकारमा पर्छिन्। तर, भविष्यको चिन्ता गर्दैं व्यवसायमा हात हालेको उनले सुनाइन्।

‘कलाकारितामा रहे पनि सधैँ काम नहुन सक्छ। ‍फेरि नेपालमा खासै कलाकारहरूको भविष्य सुरक्षित छैन। बिरामी हुँदा पनि चन्दा उठाएर उपचार गर्नुपर्ने अवस्था छ’, उनले नेपालखबरसँग भनिन्, ‘भविष्यको चिन्ता लागेर नै विकल्प रोज्दै बिजनेसमा आएकी हुँ।’

व्यवसाय सुरू गर्ने प्रेरणा आफूले विभिन्न कलाकारको जीवनबाट पाएको अनुभव उनले सुनाइन्। कलाकारहरू आर्थिक अभावका समाचारका विषयले आफूलाई भविष्यबारे सोच्न बाध्य बनाएको सुनाउँछिन् उनी। 

साथै गीत संगीतबाट कमाएको पैसा यसमा लगानी गरेकी उनको दाबी छ। गायनसँगै व्यवसायलाई एकसाथ अगाडि लैजाने उनको योजना छ।

एलिनाको स्वरमा ‘के माया लाग्छ र?’, ‘कट्टा हान्दिन्छ’, ‘धोकेबाज हौ तिमी’, ‘मिनरल वाटर’, ‘दुश्मन हेरेको हेरै’, ‘छ्ट्यो पिरिम’ लगायतका गीतहरू निकै हिट छन्। शुक्रबार मात्रै एलिनाले आफ्नै लगानीमा तीज गीत ‘नौरती फूली’ ल्याएकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad