होटल संघ नेपालले भारतीय पर्यटकहरूको नेपालप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै तथा मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण भारतीय नागरिकहरूको अन्य गन्तव्यतर्फको यात्रा प्रभावित भइरहेको सन्दर्भमा भारतको राजधानी नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने भएको छ।
अप्रिल २८ देखि २९, २०२६ (वैशाख १५ र १६, २०८३) सम्म दुई दिन नयाँ दिल्लीमा सञ्चालन हुने सो कार्यक्रममा होटल संघ नेपालका देशैभरका एक सयभन्दा बढी सदस्य होटलहरूको उल्लेखनीय सहभागिता रहने संघले जनाएको छ।
नेपाली दूतावास, नयाँ दिल्लीको सहकार्य र तथा नेपाल पर्यटन बोर्डको सहयोगमा संघले आयोजना गर्ने कार्यक्रममा यस पटक विवाह पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ।
यस अन्तर्गत अप्रिल २८, २०२६ को साँझ 'नेपाल डेस्टिनेसन वेडीङ कनेक्ट' कार्यक्रम आयोजना गरी नेपालका स्तरीय लक्जरी होटल तथा रिसोर्टहरुले प्रवर्द्धन गरिरहेका विवाह पर्यटनलाई वृहत्तररुपमा बढोत्तरी गर्ने गरी प्रतिष्ठित भारतीय वेडिङ प्लानर र वोएट्सहरूबीच नेटवर्किङ गराइने कार्यक्रम छ । कार्यक्रममा आरोग्य पर्यटन प्रवद्र्धनको पनि विशेष कार्यक्रमहरु सञ्चालन हुनेछ।
साथै अप्रिल २९ मा नेपालबाट सहभागी होटल व्यवसायी तथा प्रमुख भारतीय ट्राभल, टूर अपेटरबीच बीटूबी कार्यक्रममार्फत आपसी सम्बन्ध स्थापित गर्दै नेपालका विभिन्न प्याकेजहरु सञ्चालनका लागि सम्झौता समेत गराइने बताइएको छ।
यसैगरी भारतीय पर्यटकहरुको लागि उपयुक्त हुने विभिन्न प्याकेज केन्द्रित प्रस्तुतीकरण गर्नुका साथै सहभागी होटलहरूको प्रोफाइल तथा सेवा उत्कृष्टताको प्रस्तुतीकरण गर्दै नेपाल पर्यटन बोर्डबाट नेपाल पर्यटन प्रवर्द्धन साँझ तथा नेटवर्किङ कार्यक्रमको समापन गरिने संघले जनाएको छ।
गर्मीको छुट्टीमा नेपालको उपयुक्त मौसम प्रति ठूलो संख्यामा भारतीय परिवारहरूको आकर्षण रहेको हुँदा होटल संघ नेपालले आफ्नो स्थापनाको हीरक जयन्ती मनाउने क्रममा विशेष प्याकेजसहित भारतीय बजारमा पर्यटन प्रवर्द्धन गर्न लागेको संघले जनाएको छ।
Shares

प्रतिक्रिया