गायक रामकृष्ण ढकालको लगानी रहेको फिल्म ‘मालती मंगले’ को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गतेबाट रिलिज हुने गीतको भिडिओमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई देख्न सकिन्छ।
सार्वजनिक भिडियोको मुख्य आकर्षण भने बलिउडको ब्लकबस्टर चलचित्र ‘मोहब्बते’मा शाहरुख खान र काजोलको भेषमा विजय र वर्षाले गरेको नृत्य हो। निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार चलचित्रको कथामा वर्षाको पात्रले विजयमा शाहरुखलाई देख्ने भएकाले गीतमा त्यसैको झल्को दिने रचनात्मक प्रयास गरिएको हो।
यस डान्सिङ नम्बरमा रामकृष्णसहित गायिका ऋतिका श्रेष्ठको स्वर सुन्न सकिन्छ। गीतमा हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीले संगीत भरेका छन्। रिकेश गुरुङले सङ्गीत संयोजन (एरेन्ज) गरेका हुन्। यस विशेष गीतको भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् भने यसको आकर्षक कोरियोग्राफी रोशन बिकले गरेका हुन्।
यसअघि चलचित्रको शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको थियो।
चलचित्रको नाम सुन्दा धेरैलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकको झल्को आए तापनि निर्माता ढकालले यो पूर्णतः हाम्रै समाजको परिवेशमा आधारित एक फरक साङ्गीतिक प्रेमकथा भएको प्रस्ट पारे।
प्रकु पाण्डेयको पहिलो निर्देशकीय चलचित्र रहेको ‘मालती मंगले’को कथा निर्देशक स्वयंले लेखेका हुन्। सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रका सह-निर्माताहरू बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ हुन्।
यस फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया