कारोबार


छ वर्षदेखि अलपत्र बस प्रधानमन्त्री कार्यालयको चासोपछि आंशिक सञ्चालनमा

दाताले अनुदानमा दिएका करोडौंका विद्युतीय गाडी सञ्चालनमा नहुँदा ३५ करोड लगानीमा निर्मित चार्जिङ स्टेशनसमेत प्रयोग विहिन
छ वर्षदेखि अलपत्र बस प्रधानमन्त्री कार्यालयको चासोपछि आंशिक सञ्चालनमा

प्रदीप आचार्य
चैत १८, २०८२ बुधबार १७:३०, बुटवल

लुम्बिनी आउने पर्यटकहरूलाई लक्षित गरी एशियाली विकास बैङ्क (एडीबी)ंले उपलब्ध गराएको गाडी बुधबारदेखि आंशिक रूपमा सञ्चालन शुरू गरिएको छ। कानुनी उल्झन देखाउदै काठमाडौ फिर्ता पठाउन लागिएको थियो । तर प्रधामन्त्री कार्यालयले बस लुम्बिनीमै सञ्चालन गर्नेबारे चासो देखाएपछि बस सञ्चालनमा आएको छ। बुधबार कोषका ५ बस मध्य एउटा सञ्चालन भए। 

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई सुविधा दिने उद्देश्यले एडीबीले ६ वर्षअघि ५ वटा बस र १४ वटा विद्युतीय ट्याक्सी (भ्यान)  दिएका थिए। दाताले अनुदानमा दिएका करोडौंका विद्युतीय गाडी सञ्चालनमा नआएपछि ३५ करोड लगानीमा निर्मित चार्जिङ स्टेशनसमेत प्रयोग विहिन छ।
 
विविध कानुनी उल्झनका कारण बस सञ्चालन हुन नसकेपछि काठमाडौँ लैजाने तयारी अन्तिम चरणमा पुगेको थियो।  अवस्थामा प्रधानमन्त्री कार्यालयको चासोपछि बस लुम्बिनीमै सञ्चालन शुरू गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठले जानकारी दिए। 
‘आजदेखि भारतीय सीमा नाका हुँदै लुम्बिनी आउने पर्यटकहरूलाई लक्षित गरी एउटा बस सञ्चालन गरिएको छ, अर्को एउटा बस पनि ब्याट्री फेरेपछि आजै या भोलिसम्म सञ्चालन गर्छौ,’ श्रेष्ठले भने।
 
प्रधानमन्त्रीको कार्यालयबाट लुम्बिनीका लागि उपलब्ध गराइएका बसहरू तत्काल लुम्बिनीमै सञ्चालन गर्न भन्दै सोमबार मौखिक निर्देशनको उनले बताए। श्रेष्ठले तत्काल एउटा बस सञ्चालन गरिएको जानकारी दिँदै अन्य बस र भ्यानहरू सञ्चालनको लागि चालक र सहचालक नियुक्ति र कार्यविधि बनाउनुपर्ने बताए।


‘विकास कोषसँग साना गाडी चलाइरहेका दुई जना मात्र चालक छन्, बसको लागि सोही अनुसारका चालक आवश्यक पर्छ। अहिले ठूला गाडीको समेत चालक अनुमति पत्र लिएका एक जना चालकबाट काम चलाइएको छ। पछि चालक र सहचालकहरू भर्ना गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने। उनले अहिलेको अवस्थामा गाडीमा यात्रा गर्ने यात्रुबाट भाडा समेत उठाउन नमिल्ने भएकोले स्वैच्छिक रूपमा भाडा दिन चाहनेहरूका लागि डोनेसन बक्स या क्युआर कोडको व्यवस्था गर्ने र पछि कार्यविधि बनाएर त्यसैअनुसार सञ्चालन गर्ने बताए।

किन लगिँदै थियो काठमाडौ? 
लुम्बिनी विकास कोष अन्तर्गत रहेका ती बसलाई दुई साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाउने तयारी गरिएको थियो । कोष आफैँले सञ्चालन गर्न नसक्ने र लामो समय थन्काएर राख्दा बस बिग्रने जोखिम बढेकाले मन्त्रालयको निर्णयअनुसार राजधानी पठाउने तयारी गरिएको थियो।

यसबीच बस काठमाडौँ लैजाने निर्णय सार्वजनिक भएपछि स्थानीयस्तरमा विरोध भएको थियो । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदूषणरहित यातायात सेवा उपलब्ध गराउने उद्देश्यले विद्युतीय बस ल्याइएको थियो। तर सञ्चालन मोडालिटी टुंगो नलाग्दा बस प्रयोगविहीन अवस्थामा थियो। सञ्चालनमा नआउँदा धेरैका ब्याट्री तथा अन्य पार्टपुर्जा बिग्रने समस्यासमेत सिर्जना भएका छन। अहिले पनि एक दुई वटा भ्यान, एउटा बस पूर्ण रूपमा सञ्चालन गर्नसक्ने अवस्था नभएको एक कर्मचारी बताउँछन् । 

एडिबिले दिएका थिए
विसं २०७७ मंसिर र पुसमा एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी परियोजनाअन्तर्गत ५ वटा बस र १४ वटा विद्युतीय ट्याक्सी (भ्यान) लुम्बिनी ल्याइएको थियो। करिब १३ करोड रुपैयाँ बराबरका ती सवारी साधन आयात गरिए पनि सञ्चालनसम्बन्धी स्पष्ट मोडालिटी तय हुन नसक्दा प्रयोगमा आउन सकेनन्। लुम्बिनीका लागि आयात गरिएका विद्युतीय बस सुरुवातमै भैरहवा भन्सार कार्यालयबाट काठमाडौँ लगेर सञ्चालन गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा विद्युतीय बस सञ्चालनको सुरुवात गरेका थिए। पछि बस लुम्बिनी ल्याइए पनि नियमित सञ्चालन हुन सकेन ।

कोषको लापरबाहीका कारण बस र भ्यान लामो समय घामपानीमा थन्काएर राखिएको स्थानीयको आरोप छ। पर्यटक सेवाका लागि ल्याइएका केही भ्यान भने कोषका पदाधिकारी र कर्मचारीले आन्तरिक काममा प्रयोग गर्दै आएका छन् । यी मध्ये केहि गाडी विभागीय प्रमुखहरूले समेत सुविधाका रूपमा प्रयोग गरिरहेको बताइएको छ । कोषका अनुसार जेन्जी आन्दोलनका क्रममा नागरिक उड्डयन प्राधिकरणका सवारी साधनमा क्षति पुगेपछि ती बस काठमाडौँ पठाउने निर्णय गरिएको थियो । तर स्थानीय विरोध र प्रधानमन्त्री कार्यालयको चासोपछि बस लुम्बिनीमै राख्ने निर्णय गरिएको छ। बसहरु लुम्बिनी विकास कोषको दुई नम्बर गेट नजिकै रहेको चार्जिङ स्टेसनमा थन्काएर राखिएको थियो । 

एडीबीले उपलब्ध गराएका ती गाडीहरू सुरुमा लुम्बिनी विकास कोषको नाममा ती गाडी आउन नै सकेनन् । पछि विकास कोषको नाममा आउँदा सेतो प्लेट आएकाले पर्यटक बोक्न समस्या भएको भन्दै कोषले बसहरू थन्काएर राख्यो। एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत बस र भ्यान चार्जिङको लागि लुम्बिनीमा ३५ करोड लगानी गरी सोलर प्लान्ट र चार्जिङ स्टेसन निर्माण गरिएको थियो। बस र भ्यान प्रयोगमा नआउँदा चार्जिङ स्टेसन समेत प्रयोगमा आउन सकेको छैन।

क्लिन इनर्जीले गाडी नेपाल ल्याउँदा भन्सार शुल्क मात्रै ८ करोड रुपैयाँ बुझाएको थियो । वातानुकूलित, अपाङ्गतामैत्री र स्वचालित ढोकासहितका बसमा १९ सिट क्षमता छ भने भ्यान पाँच सिटका छन् । एक पटक पूरा चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्ने क्षमता रहेका बस र भ्यानमा कार्डबाटै रकम भुक्तानी गर्ने सुविधा समेत छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad