वैशाख १ गतेबाट रिलिज हुने फिल्म ‘पहाड’ को दोस्रो गीत ‘ॐ नम शिवाय’ सार्वजनिक गरिएको छ। निर्देशक तुलसी घिमिरेकै शब्द रहेको गीतमा भारती घिमिरे र शिव परियारको स्वर सुन्न सकिन्छ। रञ्जित सिंह गजमेरले गीतमा संगीत भरेका छन्।
गीतको भिडिओमा नव अभिनेत्री पञ्चमी घिमिरे, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा लगायतलाई देख्न सकिन्छ। फिल्मको कथासँगै जोडिएको यो गीतलाई सेट निर्माण गरेर छायांकन गरिएको निर्देशक तुलसी घिमिरेले बताए।
उनले भने, ‘यो गीत फिल्मका लागि महत्वपूर्ण छ, यो गीतपछि फिल्मको कथाले नयाँ मोड लिन्छ । हामीले झन्डै १३ दिन लगाएर सेट निर्माण गरेर यो गीतलाई तीन रात खिचेका थियौँ, फिल्मको महत्वपूर्ण समयमा आउने गीत भएकाले यसमा अधिकाँस कलाकारलाई फिचर्ड गराएका छौँ।’
निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए।
‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ। यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ’, निर्देशक घिमिरेले भने, ‘ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ।’
यस फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन्। फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन्।
भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन्।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।
Shares

प्रतिक्रिया