आगामी जेठ ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘मितज्यू’ को पहिलो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको हो।
लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर सुन्न सकिन्छ। मल्लकै शब्द र संगीत रहेको गीतको एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन्।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरले नृत्य गरेका छन्। गीतमा तीनै जनाको नाचलाई असाध्यै सुहाएको देख्न सकिन्छ।
यस गीतको कोरियोग्राफी भने मिङ्मा डि लेप्चा हुन्। उनको कोरियोग्राफी र कलाकारको नाचलाई दर्शकले अत्यधिक मन पराएको पाउन सकिन्छ। निर्माण पक्षले यो गीतलाई स्रोता तथा दर्शकले अत्यधिक मन पराउने विश्वास लिएका छन्।
फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मको कथा अनुसार नै गीत राखेको बताए। उनले भने,‘फिल्मको कथाले जुन गीत मागेको थियो,सोही राखेका छौँ। यसमा हामीले कुनै कम्प्रमाइज गरेका छैनौँ। स्रोता तथा दर्शकले पनि यो गीतलाई मन पराइदिनु हुन्छ भन्नेमा म विश्वास छु। र मेरो टिम पनि।’
जनक घर्ती मगर निर्माता रहेको फिल्म ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा बुनिएको हो। यस फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्।
फिल्ममा दयाहाङ, सौगात र तेरियासहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। तेरिया मगरको यो डेब्यु फिल्म हो।
Shares

प्रतिक्रिया