कवि अस्मिता विष्टको कविता–किताब ‘ब्ल्याकहोलमा गीतहरू’ को शनिबार काठमाडौँ सर्वनाम थिएटरमा विमोचन भएको छ।
कविहरू श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षक गुरुङ सुशान्त र लेखक विष्टले किताब संयुक्त रूपमा विमोचन गरेका हुन्।
‘ब्ल्याकहोलमा गीतहरू’ काव्यिक संरचनाका दृष्टिमा अब्बल भएको र किताबले समकालीन कविताको महत्ता स्थापित गर्ने कवि मुकारुङले बताए।
‘यी कविताले समकालीन कविताको मार्गमा आफ्नै मौलिक शैली समाएका छन्,’ मुकारुङले भने, ‘लिंग, पहिचान, धर्मजस्ता मुद्दा कुनै कालमा गएर असान्दर्भिक हुन सक्छन् । तर, प्रेम मात्रै त्यस्तो विषय हो, जुन सधैं सान्दर्भिक रहन्छ। कवि विष्टले प्रेम कवितामार्फत् प्रेमलाई सर्वकालिक बनाएकी छन्। त्यसैले एकै समयमा कविता लेखिरहेका कविहरूको भीडमा उनी अलग्गै चिनिनेछिन्।’
समीक्षक गुरुङ सुशान्तले विष्टका कवितामा प्रेम, नारी संवेदना, आदिवासी सौन्दर्यका मुद्दा र सामाजिक विषयका प्रतिरोधी आवाज मुखर ढंगले प्रस्तुत भएको विचार व्यक्त गरे।
‘ब्ल्याकहोलमा गीतहरूका कविता खासगरी प्रतिरोधी स्वर हुन्– समाजमा स्थापित पुरातन मान्यताविरुद्ध,’ सुशान्तले भने, ‘प्रेम र नारी केन्द्रित कविता भए पनि यसमा पुरुष–सत्ता विरुद्धका सशक्त कविता छन्। यी कविता निजी स्मृतिका हरफजस्ता देखिए पनि ती राजनीतिक पाठ हुन्। पहिचानका पक्षमा बलियो आन्दोलन गरेको भूमिमा बसेर कविता कर्म गरिरहेकी कविले पहिचानलाई नजिकैबाट छामेका कारण उनका कविताहरू बुलन्द भएका हुन्। यस संग्रहका कविता भावनात्मक रचना मात्रै होइनन्, महिला अनुभवका विशिष्ट दस्तावेज पनि हुन्।’
कवि विमला तुम्खेवाले ‘ब्ल्याकहोलमा गीतहरू’ का कविता समकालीन परिदृश्यका तीखा स्वर भएको बताइन्।
‘यी कवितामा महिला जीवनका दैनिक अनुभूति शानदार रुपले समेटिएका छन्,’ तुम्खेवाले भनिन्, ‘कविताको बान्की र सौन्दर्यमा विशेष शैली र शिल्प छन्, जसले समकालीन विषयमाथि बहस र विमर्श गर्छन्। विम्बका प्रयोग कुशल ढंगले गरिएको छ। कविको निजी अनुभूति मिश्रित यी कविताका भाषा स्पष्ट र सुकोमल छन्।’
त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापनरत कवि अस्मिता विष्टले आफ्नो कविताका भावभूमि जीवन अनुभव, अध्ययन र अवलोकनबाट सिर्जित भएको बताइन्।
‘यी कविताप्रति पाठकले दर्शाएको सद्भावबाट म असाध्यै उत्साहित छु,’ विष्टले भनिन्।
विमोचन कार्यक्रममा कविहरू रिमा केसी, प्रज्वल अधिकारी, देवव्रतले ‘ब्ल्याकहोलमा गीतहरू’ का एक–एक कविता सुनाए।
इन्डिगो इन्कले प्रकाशन गरेको ‘ब्ल्याकहोलमा गीतहरू’ को मूल्य ३४९ रुपैयाँ रहेको छ।
Shares

प्रतिक्रिया