राजनीति


कर्णालीका लागि मतपत्र पठाइयो, आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी सुरु

कर्णालीका लागि मतपत्र पठाइयो, आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी सुरु

नेपालखबर
फागुन २, २०८२ शनिबार १९:५२, काठमाडौँ

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि बढाएको छ। 

मतदान कार्यका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये रबर म्याटलाई हटाएर ५१ प्रकारका सामग्रीहरू मात्र जिल्ला जिल्लामा पठाउन सुरु गरिएको हो। 

आयोगले हाल मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी लगायतका आवश्यक सामग्रीहरू खरिद गरी ढुवानी कार्य सुरु गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। उनकाअनुसार कर्णाली प्रदेशका केही जिल्लाहरूमा यी सामग्रीहरू पठाइसकिएको र केही पुग्ने क्रममा रहेको छ। साथै कोसी प्रदेश र अन्य जिल्लाहरूका लागि पनि सामग्रीहरू पठाउने तयारी भइरहेको छ। 

उनले भने, ‘हामीले कर्णाली प्रदेशका केही जिल्लाहरूमा यस्ता सामग्रीहरू पठाइसकेका छौँ। ती सामग्रीहरू अब पुग्ने क्रममा छन् र त्योदेखि बाहेकका कोशी प्रदेशका केही जिल्लाहरू र अन्य थप जिल्लाहरूमा गरेर केही सामग्रीहरू जाने तयारी अवस्थामा छन्। तर जति प्राप्त भइरहेका छन् ती सामग्रीहरू आयोगबाट ढुवानी कार्य सुरु भइ नै रहेको छ। यो रोकिँदैन हामी यहाँ हेरेर जाँच गरेर ढुवानी गरिहाल्छौँ।’

आयोगकाअनुसार फागुनको पहिलो हप्ता सम्ममा अधिकांश जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पु¥याइसक्ने लक्ष्य राखिएको छ। सामग्री प्राप्त हुने क्रम जारी रहेकाले जाँचबुझ गरी तत्काल सम्बन्धित गन्तव्यमा पठाउने कार्यलाई निरन्तरता दिइएको सूचना अधिकारी घिमिरेले बताए।

मतपत्रको हकमा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रहरू छपाई र प्याकिङ सम्पन्न भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ हालसम्म १ सय ४२ वटा निर्वाचन क्षेत्रका लागि ६६ वटा जिल्लाको मतपत्र छपाई भइसकेको छ। बाँकी रहेका मतपत्रहरू आईतवारसम्ममा छपाई गरिसक्ने आयोगको तयारी छ।

उनले भने, ‘निर्वाचन आयोगले ५२ प्रकारका निर्वाचन सामग्रीहरू मतदान कार्यमा प्रयोग गर्ने भनेर निर्णय गरे बमोजिम तर अब दुई वटा सामग्रीहरू रबर म्याट बाहेक ५१ प्रकारका सामग्रीहरू मतदान कार्यमा प्रयोग गर्ने भनेर आयोगबाट निर्णय भए बमोजिम विभिन्न प्रक्रियाबाट प्राप्त भइरहेका निर्वाचन सामग्रीहरू अहिले जिल्ला जिल्लामा ढुवानी गर्ने काम भइरहेको छ। ती सामग्रीहरूमा अब मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, अनि स्वस्तिक छाप, त्यस पछाडि यो के भन्छ स्ट्याम्प प्याड, मसी, यस्ता यस्ता प्रकारका सामग्रीहरू अहिले आयोगमा प्राप्त भएर आयोगले आफैँले खरिद गरेका सामग्रीहरू ढुवानी कार्यको सुरु भएको छ।’ 

सूचना अधिकारी घिमिरेकाअनुसार कर्णाली प्रदेशका जिल्लाहरूका लागि मतपत्रहरू ढुवानी भइसकेका छन्। ती मतपत्रहरू आइतबार साँझसम्ममा जिल्ला सदरमुकामहरूमा पुग्ने गरी व्यवस्थापन मिलाइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad