बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ वटा चिनियाँ फिल्मको काठमाडौँमा प्रदर्शन सुरु भएको छ।
मंगलबार बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्डप्यानोरामा’ अन्तर्गतको सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ प्रदर्शन गरिएको छ। चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेको हो।

ठमेलस्थित छायाँ सेन्टरमा आयोजित उद्घाटन कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान, नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, निर्देशक तुलसी घिमिरे, नेपालका कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नायक प्रमोद अग्रहरीलगायत चलचित्रकर्मीको उपस्थित रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै मिनिस्टर काउन्सिलर पानले चलचित्र मनोरञ्जनको साधन मात्रै नभएको बताए। ‘चलचित्रले सामाजिक र राजनीतिक परिवेश बुझ्न सहयोग गर्छ। यसले दुई देशको सम्बन्धमा थप निकटता ल्याउँछ,’ उनले भने।

कार्यक्रममा पहिलो फिल्म ‘ट्रयाप्ड’ प्रदर्शन पश्चात निर्देशक झानसँग दर्शक र पत्रकारले अन्तरक्रिया गरेका थिए। निर्देशक झानले आफ्नो किशोर अवस्थाको कालखण्डमा देखेको र सम्झना रहेको परिदृश्यलाई उतार्न यो फिल्म बनाएको बताए।
कार्यक्रमको पहिलो दिन ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ फिल्म पनि प्रदर्शन गरिएको छ। फिल्मको प्रदर्शन ठमेलस्थित छायाँ सेन्टरमा बिहीबारसम्म हुनेछ।

Shares

प्रतिक्रिया