जेठ १५ गते रिलिज भएको फिल्म ‘रोल नं १’ ले दर्शकको राम्रो साथ पाइरहेको छ। केही सिनेमा हलका अघिल्लो दिन नै हाउसफूल हुन थालेपछि यो फिल्मले व्यवसायिक रूपमा पनि लय समात्न थालेको निर्माण टिमको भनाइ छ।
शो सुरु हुनुभन्दा २४ घण्टाभन्दा अगाडि नै ‘रोल नं १’ का कतिपय शो हाउसफूल भइसकेका छन्। स्कुलहरूले पूरै शो नै बुक गरेर आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन लैजान थालेका छन्। जसका कारण बुधबारका कतिपय शो हाउसफूल भएका छन्।
‘हाम्रो चलचित्रमा आएको सकारात्मक वर्ड अफ माउथले काम गर्न थालेको छ। केही स्कुलहरूले आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन ल्याउन थालेका छन्। त्यसैले आजका कतिपय शो हिजो नै हाउसफूल भइसकेका छन्,’ निर्माता विनोद पौडेलले भने।
स्कुलले आफ्ना विद्यार्थीलाई सिनेमा देखाउने क्रम सुरु भएको र यसले निरन्तरता पाउनेमा निर्माता पौडेल ढुक्क छन्। सिनेमा हेर्नेहरूले विद्यार्थी, शिक्षक र अभिभावकले नै हेर्नै पर्ने चलचित्र भन्दै प्रतिक्रिया दिएपछि ‘रोल नं. १’ हेर्नेको संख्या क्रमशः थपिँदै गएको निर्माण पक्षको भनाइ छ।
‘सबैले चलचित्र राम्रो र हेर्नैपर्ने भन्ने बताएपछि हेर्न आउनेहरूको संख्या थपिँदै छ’, निर्माता पौडेलले भने, ‘हामी यही दिनको प्रतिक्षामा थियौँ।’
निर्माता पौडेलको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पनि सकारात्मक प्रतिक्रियाका कारण चौथो दिनबाट पिकअप लिन थालेको हो। स्कुल-स्कुल र गाउँ-गाउँबाट गाडी रिजर्ब गरेर यो चलचित्र हेर्न आएपछि सिनेमाले ऐतिहासिक ग्रस कलेक्सन गरेको थियो।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा जोन योञ्जनको निर्देशन छ। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल-कलाकार निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्।
Shares

प्रतिक्रिया