नेपाली सिनेमाका 'महानायक' राजेश हमाल अब जापानी सहरहरूमा झुल्किने भएका छन्। तर यसपालि उनी कुनै फिल्मको सुटिङ वा स्टेज शोका लागि नभई आफ्नो जीवन–कथा बोकेको पुस्तक 'युगदेखि युगसम्म' लिएर त्यहाँका पाठकमाझ पुग्न लागेका हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा जापानका ६ वटा प्रमुख सहरहरूमा हमालको 'बुक–टुर' हुने निश्चित भएको छ। 'युगदेखि युगसम्म: सपना, साधना र सफलता' शीर्षक दिइएको यो भ्रमणमा हमालले टोकियोदेखि ओकिनावासम्मका नेपाली शुभचिन्तक र पाठकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्नेछन्।
कहाँ, कहिले हुँदैछ कार्यक्रम: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको सह-आयोजना तथा फाइनप्रिन्ट बुक्सको पहलमा हुन लागेको यो टुरको तालिका यस्तो छ:
फेब्रुअरी ११: टोकियो
फेब्रुअरी १४: सिजुओका
फेब्रुअरी १७: ओसाका
फेब्रुअरी १९: फुकुओका
फेब्रुअरी २०: ओकिनावा
राजेश हमाल भन्छन्– 'म निकै उत्साही छु। केही महिनाअघि जापान भ्रमणमा रहँदा पाठकहरूले देखाएको चासोले यो टुरका लागि प्रेरित गरेको हो।'
'यसपालि म उहाँहरूसँग मेरो जीवन, विचार र साधनाबारे प्रत्यक्ष कुराकानी गर्नेछु', उनले भने।
हमालको यो पुस्तक पत्रकार तथा लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो। पुस्तकमा उनको बाल्यकाल, कूटनीतिक परिवारको पृष्ठभूमि, फिल्मी संघर्ष र नेपाली समाजप्रतिको उनको दृष्टिकोण समेटिएको छ।
बढ्दो जापानी बजार र नेपाली पुस्तक एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले महानायक हमाल र उनको पुस्तकलाई जापानमा प्रस्तुत गर्न पाउनु गौरवको कुरा भएको बताएका छन्। यस्तै, फाइनप्रिन्टका सिइओ नीरज भारीका अनुसार जापानमा नेपाली विद्यार्थी र कामदारको संख्या बढेसँगै नेपाली साहित्यको माग पनि ह्वात्तै बढेको छ।
'नेपाल बाहिर फैलिँदो पुस्तक बजारसँग जोडिने एउटा महत्त्वपूर्ण कडीका रूपमा हामीले यो टुरलाई लिएका छौं,' भारीले भने, 'विदेशमा नेपाली पुस्तक सजिलै पुर्याउने संयन्त्र निर्माण गर्ने हाम्रो मुख्य उद्देश्य हो।'
यो बुक–टुरलाई नेपाल एयरलाइन्सले सहयोग गरेको छ। पछिल्लो समय जापान नेपालीहरूको आकर्षक गन्तव्य बनेकाले पनि यसपटकको बुक–टुरले नेपाली साहित्य र सिनेमाको सम्बन्धलाई विदेशमा झन् मजबुत बनाउने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया