केही समयदेखि कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ‘सुन्तली’ चर्चामा छन्। चितवनको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋणले कानुनी झमेलामा परेका उनीहरु छोरीसहित एक्स्ट्रा अर्डिनरी भिसामा अमेरिका पुगेपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ।
हुनत धुर्मुसले अमेरिकाबाटै लामो बकपत्र लेख्दै आफूहरू भागेको नभई १२ वर्षीया छोरी सुबिहानीको उपचारका लागि अमेरिका पुगेको स्पष्टीकरण दिइसकेका छन्। र, रंगशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण सिर्जना गरिदिन उनले सरकारसँग अनुरोध समेत गरेका छन्।
धुर्मुस परिवारसहित अमेरिका पुगेपछी उनी अनुबन्धित भइसकेका फिल्महरू अलपत्रमा परेका छन्। धुर्मुस बसन्त निरौलाको फिल्म ‘पाँच पाण्डव’ मुख्य भूमिकामा अनुबन्धित भएका थिए। जुन फिल्मको गत कात्तिक १५ गते शुभमुहूर्त समेत गरिएको थियो।
तर, मुख्य भूमिकामा रहेका धुर्मुसनै अमेरिका पुगेपछी अब धुर्मुसले फिल्म खेल्ने/नखेल्ने अन्यौलता छाएको छ। साथै सिनेवृत्तमा धुर्मुसले यो फिल्म नखेल्ने भन्ने हल्लाहरु चल्न थालेका छन्। जुन हल्लाबीच ‘पाँच पाण्डव’ का निर्देशक निरौलाले मुख खोलेका छन्।
हिजोमात्रै कुरा भएको बताउँदै धुर्मुस फिल्मको सुटिङको लागि नेपाल फर्किने बताए। ‘हिजैमात्र उहाँसँग मेरो लामो कुरा भएको छ। उहाँले म छोरीको उपचारको चाजोपाचो मिलाएर फर्किन्छु भन्नुभएको छ,’ उनले नेपालखबरसँग भने, ‘उहाँ फर्किनुहुन्छ। धुर्मुस भनेर चिनिएको म पर्दाबाट हो, मलाई कतिखेर फिल्ममा ज्वइन हौं जस्तो लागेको छ। बाध्यता, समय र परिस्थितिले गर्दा अमेरिका पुगेको हो। तपाईंहरु आफ्नो तयारी गर्दै गर्नु म फर्किन्छु भन्नुभएको छ।’
निरौलाका अनुसार एकसाताभित्र धुर्मुसकी छोरीको डाक्टरसँग अपोन्टमेन्ट छ। त्यसपछि घरमै उपचार गर्ने कि अस्पतालमा भर्ना गर्ने भन्ने कुरा निर्णय हुनेछ। त्यो अनुसार धुर्मुसले सेड्युल मिलाउन्छु भनेको बताउँछन् निरौला।
धुर्मुसको लागि आफू कुर्न समेत तयार रहेको बताउँछन् उनी। उनले भने, ‘उहाँले म आउँछु भन्नुभएको छ। तयारी गर्दैं गर्नु दुइतीन आएर वर्कसप गरेर सुटिङ सुरु गर्छु भन्नुभएको छ। त्यो भनेपछी विश्वास छ। खास पुस २५ देखि भनेको हो। उहाँ आउने भनेपछी अब केही दिन ढिला सुरु हुनेछ। उहाँको डेटअनुसार हामी चल्छौं।’
धुर्मुस अमेरिका पलायन भएको हल्लाबीच निरौलाले नेपाल फर्किन लागेको दाबी गरेका हुन्। रंगशालाकै झमेलामा परेका हास्य कलाकार धुर्मुसले गत वर्ष झण्डै पाँच वर्षपछि फिल्म खेलेका थिए। तर, उनको मुख्य भूमिका रहेको फिल्म ‘लाज शरणम्’ बक्सअफिसमा भने खासै चल्न सकेन।
‘पाँच पाण्डव’ मा धुर्मुससहित हरिवंश आचार्य, जितु नेपाल र सागर लम्साल (बले) मुख्य भूमिकामा छन्। सामाजिक कथावस्तुमा आधारित यस फिल्ममा दीपाश्री निरौला र रजनी गुरुङको पनि अभिनय रहनेछ। अन्य कलाकार भने खुलाउन बाँकीनै छ।
कालीरानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। पौडेल चर्चित फिल्म ‘प्रसाद’ का लेखक पनि हुन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस फिल्मका निर्माता काली रानी श्रेष्ठ हुन्।
गतवर्षको दसैंमा रिलिज भएको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ बक्सअफिसमा सफल भएको थियो।
Shares

प्रतिक्रिया