साउन २३ गतेबाट रिलिज भएको फिल्म ‘मोहर’ हलमा प्रदर्शनरत छ। आक्रामक कमाइ गर्दैं यो फिल्म वर्षकै दोस्रो हिट घोषित भइसकेको छ।
निर्माणपक्षले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ। देशका ४ वटा हलमा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन्।
चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, काठमाडौँस्थित सामाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, कीर्तिपुरको ‘कीर्तिपुर सिनेप्लेक्स’ र न्यूरोडको ‘रञ्जना सिनेप्लेक्स’मा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन्।
म्याङ्गोमा फिल्म हेर्नेमध्ये ३ जना, सिटी स्क्वायरमा फिल्म हेर्नेमध्ये २ जना, कीर्तिपुर सिनेप्लेक्समा फिल्म हेर्ने मध्ये २ जना र रञ्जना सिनेप्लेक्समा फिल्म हेर्नेमध्ये २ जनाले यो पुरस्कार प्राप्त गर्न सक्नेछन्।
दर्शकले फिल्मको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नुपर्नेछ। जसमध्ये, भदौको २३ गतेबाट असोजको ११ गतेसम्म फिल्म हेर्ने दर्शकमध्ये ९ जनाले यो पुरस्कार जित्न सक्नेछन्।
भदौ २३ गते भन्दा अगाडि फिल्म हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राखेको भए यो उपहार योजनामा सहभागी हुन पाउने निर्माणपक्षले जनाएको छ।
विजेताहरुलाई फिल्मको ५१ दिने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने निर्माण पक्षले बताएको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा चुम्बन जंग शाहीले निर्माण गरेको यो फिल्मले बक्स अफिसमा ५ करोड माथिको व्यापार गरिसकेको छ।
यस फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ।
Shares

प्रतिक्रिया