नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दी वर्ष (२०८१–०८२) को अवसरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, ललितपुरले आजदेखि तराई-मधेसका जिल्लामा जनसांगीतिक यात्रा कार्यक्रम सञ्चालन गरेको छ।
आइतबार इटहरीबाट सुरु भएको यो यात्रा सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर समापन गरिने प्रतिष्ठानले जनाएको छ।
जनसांगीतिक यात्र पूर्वपश्चिम राजमार्ग वरपरका प्रमुख सहरमा केन्द्रीत रहने प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरीराजमणि पोखरेलले जानकारी दिए।
प्रत्येक प्रदेशमा न्युनतम एक सहरमा एक कार्यक्रम गर्ने तयारी प्रतिष्ठानले गरेको छ। यो सांङ्गीतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय जनकलाकारको प्रस्तुति दिनेछन्।
कार्यक्रममा स्थानीय बरिष्ठ कलाकारको सिर्जना र योगदानलाई सम्मान समेत गरिने प्रतिष्ठानले जनाएको छ।
साङ्गीतिक यात्रा प्रतिष्ठानका स्थानीय जिल्ला शाखाको आयोजना र जनसांङ्गीतिक महासंघको सहकार्यमा सञ्चालन गरिनेछ।
कार्यक्रमको मुख्य उद्देश्य समाजवादी विचारधारा, जनसंस्कृति र प्रगतिशील कलाको प्रवर्द्धन गर्नुका साथै, स्थानीय कला, संस्कृति र राष्ट्रिय सिर्जनाबीच सहकार्यलाई सबल पार्नु रहेको प्रतिष्ठानले जनाएको छ। यस मार्फत युवापुस्तामा समाजपरिवर्तनमा कला र संस्कृतिको भूमिकाबारे चेतना जगाउने अपेक्षा छ।
आज इटहरीपछि भदौ २३ गते सिराहाको लाहानमा, भदौ २४ गते महोत्तरीको बर्दिबासमा, भदौ २५ गते सर्लाहीको हरिवनमा, भदौ २६ गते पर्साको वीरगञ्जमा, भदौ २७ गते मकवानपुरको हेटौँडामा, भदौ २८ गते चितवनको भरतपुरमा भदौ २९ गते नवलपरासी पूर्वको कावासोतीमा कार्यक्रम हुनेछन्।
बुटवल, कोहलपुर, सुर्खेत, धनगढी र भिमदत्तनगरका कार्यक्रमका मिति स्थानीय तयारीका आधारमा तय गरिने प्रतिष्ठानले जनाएको छ।
वि.सं.१९८१ कात्तिक १४ गते पाटनको कुम्भेश्वरमा जन्मिएका कर्माचार्य नेपाली ट्रेड युनियन आन्दोलनका संस्थापकसमेत थिए। उनी तत्कालिन ललितपुर नगरपालिकका मेयर समेत भएका थिए।
कर्माचार्यको जन्मशताब्दी वर्ष कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रतिष्ठानले गएको साउन ९ गते कर्माचार्यको स्मृति दिवसको अवसरमा राष्ट्रिय नाचघर काठमाडौँमा जनसांगीतिक कार्यक्रम गरेको थियो।
Shares

प्रतिक्रिया