संगीतको न भाषा हुन्छ, न कुनै सिमाना। त्यसैले त एक भेगको भाका अर्को ठाउँमा घन्किदिन्छ। अनि मनमा बसिदिन्छ : अमिट छाप बनेर।
सिन्धुपाल्चोककी गंगा सोनम। जसलाई सानैदेखि डेउडा औधी मनपर्ने। त्यसैले त सुदूरपश्चिमका भाका सुन्नासाथ सुर मिसाउँथिन् उनी। जुन कालान्तरमा लतजस्तै बन्यो।
गत चैत ताका ‘नेपाल आइडल सिजन ६’ को घोषणा भयो। अडिसन खुला भएसँगै गंगाले पनि यसपटक भाग लिने सोच बनाइन्। तर, अडिसनमा कुन गीत गाउने त? दिमागमा फ्याट्टै आयो: डेउडा। त्यसपछि उनले डेउडा नै गाउने निधो गरिन्।
हिमाल हिउँ पडिगयो, काँ छै डाँफ्या चरी
बसिगयो हलीको माया, नछुटिन्या गरी
म तेरो जीवनकी साथी सुवा, नजमान्यै डर
रुपै रैछ चन्द्रजस्तो सुवा, जोवन झनै राम्रो
मनले सोचेकाजसो सुवा जोडी मिल्यो हाम्रो
खेलौँला डेउडा चैतरी
मिलाइदेऊ सुआ पैतली…
यही डेउडा नै गंगाको करिअरको लागि कोशेढुङ्गा बनिदियो। उनले ‘गोल्डेन टिकट’ मात्रै पाइनन्, नेपालीको मनमुटुमा पनि ठाउँ पाइन्। त्यही डेउडाले गंगाको नेपाल आइडलको उपाधिसम्मको यात्रा तय गरिदियो।
‘पहिल्यैदेखि डेउडा मलाई धेरै नै मन पर्ने। डेउडा म धेरै सुन्थेँ। धेरै मन पर्ने भएकाले आइडलमा के गीत गाउने भन्दा ठ्याक्कै याद आयो। त्यो गाउँदा म सहज महसुस गर्छु भन्ने लाग्यो र गाएँ,’ गंगाले सम्झिइन्, ‘एपिसोड सार्वजनिक हुँदा मैले त्यति मन पराउनुहुन्छ भनेर आशा गरेको थिइनँ। आज बेलुका भिडिओ आयो, भोलिपल्ट त फेसबुकदेखि टिकटकमा पूरै क्लिप भाइरल भएछ। फलोअर्स नि बढे। ला! आईडी ह्याक भयो कि भन्ने सोचेको थिएँ। म एकदम सक्ड भएँ।’
हुन पनि गंगाका लागि त्यो किसिमको प्रतिक्रिया अप्रत्याशित थियो। किनकि गंगाले न संगीतको औपचारिक ज्ञान लिएकी थिइन्, न विजेतासम्मको सपनै देखेकी थिइन्। थियो त केवल सुरिलो स्वर, संगीतप्रतिको हुटहुटी। अनि अनुहार र बोलीमा झल्किने निर्दोषपन। जसले धेरैको रोजाइमा परिन् सोनम।
‘आइडल चाहिँ मैले पहिल्यैदेखि हेर्थें। तर, मेरो सोच एकदुई महिना नसिकी जादिनँ भन्ने थियो। एक्कासि सिजन ६ सुरु भएको थाहा पाएँ। अनि एकचोटि ट्राइ गरिदिऊँ न भन्ने भयो। के हुन्छ, कहाँसम्म पुगिन्छ लाग्यो। नभए अर्को चोटि ट्राइ गरौँला भन्ने भयो। नेपाल आइडल नै बन्छु भन्ने थिएन,’ उनले सुनाइन्।
सिन्धुपाल्चोकस्थित इन्द्रावती नगरपालिकामा जुम्ल्याहा सन्तानको रुपमा गंगा जन्मेकी थिइन्। तर, गंगाकी बहिनी जमुना भने बाँच्न सकिनन्। सानैदेखि गंगा लोकगीत र डेउडा मन पराउँथिन्।
‘गाउँमा छँदा म्युजिकबिनै गाउँथे। १० कक्षामा पुगेपछि सबैले गाऊगाऊ भन्नुहुन्थ्यो। एकचोटि गाएको थिएँ, त्यो अहिले टिकटकमा आइरहेको रहेछ। त्यतिबेला प्रतिस्पर्धाभन्दा रमाइलोको लागि गाउँथेँ,’ उनले भनिन्।
फिनालेमा गंगासहित ५ जना प्रतिस्पर्धी थिए। केही एपिसोडमा गंगाले गीतको बोल बिर्सिएकी थिइन्। केही डराएकी गंगा विजेता जो भए पनि खुसी नै हुन्छु भन्ने सोचिरहेकी थिइन्।
‘घोषणा हुँदा अब यहाँसम्म आउँछु आउँदिनँ भन्ने नै थाहा थिएन। सबैले विजेता भइदिए हुन्थ्यो भन्नुभएको थियो। आइडल जितेँ, विजेता भएँ। यो नै ठूलो कुरा हो। दर्शकहरूको धेरै माया पाएर नै आइडल जितेको हुँ। खुसी लागेको छ,’ उत्साहित हुँदै भनिन्।
आइडल बनेसँगै गंगाको जीवनको लय फेरिएको छ। यतिखेर गंगा अन्तर्वार्तासहित गीत रेकर्डिङमा व्यस्त छिन्। नेपाल आइडलमा आएपछि जीवनमा धेरै परिवर्तन आएको गंगा बताउँछिन्।
‘धेरै फोन आइरहेको छ। हुन त मलाई उहाँहरुले रुचाएर फोन गर्नुभएको हो। मसँग बोल्न मन लागेर गर्नुभएको हो। तर, धेरै फोन आएर म चेक गर्न समेत भ्याउँदिनँ। त्यति धेरै आउँछ। हुन त प्रेसरको रुपमा लिदिनँ। तर, प्रेसर चाहिँ हुँदोरहेछ।’
व्यस्तताले गर्दा गंगा गाउँ समेत जान पाएकी छैनन्। आइडल बन्नुअघि गंगा होम भिजिटमा गएकी थिइन्। गाउँ जाँदा आइडलमा आएपछि आफूलाई गरिने व्यवहारमा निकै फरक पाएको अनुभव गरिन्।
‘यताको इमर्जेन्सी काम सकेपछि तीनचार दिनपछि जाने कुरा छ। होम भिजिटको बेला घर गएको थिएँ। नेपाल आइडलमा जानुअघि र गइसकेपछि धेरै फरक पाएँ,’ उनले सुनाइन्, ‘अहिले त सबैले गंगा आयौ भन्नुहुन्छ। नेपाल आइडलको भनेर प्राउड फिल गर्नुहुन्छ। पहिलेपहिले त नेताहरुले पनि चिन्नुहुन्थेन मलाई। को भन्दा उसको छोरी भन्नुहुन्थ्यो। अहिले त नेपाल आइडलबाट आएको गंगा, यसको छोरी हो भन्नुहुन्छ। जेहोस् नेताहरुले पनि चिन्नुहुन्छ। अहिले नचिन्ने कोही छैनन्।’
गंगाका बुवाआमा पनि छोरीको प्रगतिमा निकै खुसी छन्। २० वर्षकै उमेरमा छोरीले पाएको ठूलो सफलतामा गर्वानुभूति भइरहेको छ। तर, सबैले गर्व गरिरहँदा गंगा भने सचेत सुनिइन्।
भन्छिन्, ‘दर्शकहरूले मबाट धेरै आशा गर्नुभएको छ। गल्ती सुधारोस् भन्ने आशा गर्नुभएको छ। त्यहीँ भएर उहाँहरूको लागि केही राम्रो गरौँ भन्नेमा छु। संगीतक्षेत्रमै निरन्तरता दिन्छु।’
केही दिनअघि गंगाले एक अन्तर्वार्तामा सिन्धुपाल्चोकको भोटले जिताएको भन्दै आभार प्रकट गरेकी थिइन्। त्यसपछि थुप्रै दर्शकस्रोताले सिन्धुपाल्चोकले मात्रै नभई नेपालीले जिताएको भन्दै कमेन्ट गरे। युट्युब र टिकटकमा नकारात्मक कमेन्ट आउन थालेपछि गंगाले माफी समेत मागिन्।
‘मलाई यहाँसम्म पुर्याउनका लागि देशविदेशसहित सिन्धुपाल्चोकबासी सम्पूर्णले सहयोग गर्नुभएको छ। अन्तर्वार्तामा चाहिँ अस्ति मैले गलत बोलेछु। त्यतिसारो बोल्न आएन। सरी भन्न चाहन्छु। यहाँसम्म पुर्याउन सबैको ठूलो हात छ। केही नराम्रो बोलेको छु भने माफी चाहन्छु। किनभने बोल्ने अनुभव छैन, हतारिन्छु। बोल्न सिक्दैछु। त्यसको लागि सरी भन्न चाहन्छु,’ उनले भनिन्।
Shares

प्रतिक्रिया