त्रिवि क्रिकेट रंगशालाको प्यारापिट एकसाताभित्रमा हस्तान्तरण हुने भएको छ। अहिलेसम्म करिब ९ हजार कुर्सी फिट भइसकेको र बाँकी एकहजार कुर्सी तीन दिनभित्रमा जडान गरिसक्ने निर्माण कम्पनीले जनाएको छ।
त्रिवि क्रिकेट रंगशालामा पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापिट तयार गर्न लागिएको हो। प्यारापिट निर्माण गरिरहेको बीकेओआई केसीडीसी-बीजी जेभीका प्यारापिट निर्माण परियोजना निर्देशक भरत गिरीले आफ्नो सम्झौता अनुसारको काम अन्तिम चरणमा पुगेको बताए।

‘अब करिव एक हजार कुर्सी जडान गर्न बाँकी छ। त्यो पनि अब तीन-चार दिनमा सकिन्छ। सबै सामान आइसकेको छ’, गिरीले शुक्रबार नेपालखबरसँग भने, ‘जेनेरेटर राख्ने भवन पनि त्यतिबेलासम्म तयार भइसक्छ। सरसफाइ र रंगरोगनको काम पनि सँगसँगै भइरहेको छ। एकसाता भित्रमा काम सकेर निर्माण कम्पनी त्यहाँबाट बाहिरिन्छ।’
कुर्सी जडानका लागि आवश्यक केही सामान भन्सारमा रोकिँदा यसअघि तोकेको समयमा तयार नभएको र जेनेरेटर राख्ने भवन आफूले बनाउनु पर्ने भन्ने पनि पछि मात्रै भनिएकाले केही ढिला भएको उनले सुनाए।

फ्लडलाइटमा बिजुली नआएको बेला जेनेरेटर सञ्चालन हुन्छ। त्यसका लागि जेनेरेटर भने निर्माणस्थलमै ल्याइसकिएको छ।
‘यसअघि नपुग सामान अस्ति आयो। हिजोबाट फिटिङ सुरु भएर आज त फिल्डमै कुर्सी जडान भइरहेको छ। जेनेरेटेर राख्ने भवनको भोलि छानो लगाइन्छ’, गिरीले भने।
फ्लडलाइट तयार हुन भने अझै केही समय लाग्ने देखिएको छ। फ्लडलाइटको कामले पनि पछिल्लो समय भने गति लिएको छ।
६ वटा फ्लडलाइट जडान गर्नु पर्नेमा चार वटा पोल जोडिसकिएको छ। फ्लडलाइट बनाउने ठेक्का एमएसआईपीएल एएससी पावर जेभीले पाएको थियो।

कम्पनीका प्रोजेक्ट म्यानेजर शौरभ शाहले दशैँ अगाडि नै काम सक्ने गरी लागि परेको बताए।
‘चार वटा पोल जोडिसकेका छौँ। अब त्यसलाई ठड्याएर सेट गर्न क्रेन ल्याउनुपर्छ। क्रेन राख्नका लागि अहिले ठाउँ तयार गरिरहेका छौँ’, शाहले शुक्रबार साँझ नेपालखबरसँग भने, ‘अहिले हिलो माटो छ। त्यहाँ क्रेन राख्न मिल्दैन। त्यही भएर अहिले माटो झिकेर सुकाउँदै रोलरले पेलेर क्रेन राख्नका लागि फाउन्डेसन बनाइरहेका छौँ। फाउन्डेसन तयार नभएसम्म क्रेन साइटमा बोलाउन मिल्दैन। क्रेनको टायर भासियो भने पोल उठाउनका लागि अप्ठेरो हुन्छ। अब यता ठाउँ पनि तयार हुँदैछ। क्रेन पनि बाहिरबाट मगाएका छौँ। अहिले बोर्डरतिर छ, दुई तीन दिनमा आउँछ।’

फाउन्डेसन तयार हुनेबित्तिकै क्रेन झिकाउने र पोल ठड्याएर सेट गर्न थाल्ने उनले बताए। दुईवटा पोल भने जमिनमै जोड्न बाँकी छ। त्यो काम क्रेन आएर अरु पोल ठड्याउन थालेपछि गर्ने निर्माण कम्पनीले जनाएको छ।
यता सरकारले भने असोज ३ गते दुई तीन वटा पोलमा भए पनि बत्ति बल्ने बनाउन भनेको छ। संविधान दिवशका दिन त्रिवि रंगशालामा कार्यक्रम गर्ने सरकारको तयारी छ।
तर त्यतिन्जेल तयार हुने सम्भावना कम देखिएको छ। क्रेन ल्याएर पोल ठड्याउने काम नभएसम्म त्यसदिनलाई पनि तयार भइसक्छ भन्ने निश्चित नरहेको निर्माण कम्पनीले नै बताएको छ।
‘बत्तिहरू पनि ल्याउने प्रक्रिया मिलाइरहेका छौँ। कागजपत्र सबै नमिलेसम्म अहिले नै भन्ने अवस्था छैन। हामी सकेसम्म दशैँ पहिले नै तयार गर्ने गरी लागिरहेका छौँ। फाइन तिरेर काम गर्न हामीलाई पनि रहर छैन। सकेसम्म चाँडै सकौँ भनेरै लागिरहेका छौँ’, शाहले भने, ‘चाँडै सकाउने भनेर काममा लापरबाहि पनि त गर्नु भएन नि। हामी पाँचदिन भित्रमा पहिलो पोल उचाल्ने योजनाका साथ काम गरिरहेका छौँ।’
६ वटा फ्लडलाइटमा ७० वटाका दरले ४२० वटा लाइट जडान गर्नपर्छ।

सरकारले ६ महिना पहिले दुवै निर्माण कम्पनीसँग छुट्टा छुट्टै सम्झौता गरेको थियो। २०८१ फागुन १९ गते सहरी विकास मन्त्रालय र निर्माण कम्पनी बीकेओआईबीच प्यारापिट निर्माणको सम्झौता भएको थियो। सुरुमा दुई महिनाभित्रमा १० हजार क्षमताको प्यारापिट निर्माण गरिसक्ने सम्झौता थियो।
प्यारापिटका लागि ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँमा सम्झौता भएको थियो। ६ वटा फ्लडलाइटका लागि एसएसआईपीएल–एएससी पावर जेभीसँग २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा सम्झौता भएको हो।

तर सुरुमा सम्झौता भएको अवधिमा काम नसकिएपछि असार मसान्तसम्म सरकारले समय थपिदिएको थियो। त्यो अवधिमा पनि काम नसकिएपछि भने हर्जना तिर्नेगरी निर्माण कम्पनीले काम गरिरहेका छन्। प्रधानमन्त्री नियुक्त भएकै दिन केपी शर्मा ओलीले तीन सय दिनभित्रमा त्रिवि क्रिकेट रंगशाला तयार गर्ने पहिलो निर्णय गरेका थिए।
तुलनात्मक रुपमा द्रुतगतिमा निर्माण भए पनि प्रधानमन्त्रीले तोकेको समयमै भने फ्लडलाइटसहितको रंगशाला तयार हुन सकेन।

सबै तस्बिर- क्यान
Shares

प्रतिक्रिया