सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘वरिष्ठ बलराम’ को फस्टलुक पोस्टरसहित टिजर सार्वजनिक भएको छ। निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो ।
एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन्। रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ। हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निरास देखिएका छन् ।
दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन्। यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन्। उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।
यो फिल्म कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ। पोस्ट प्रोडक्सनमा रहेको यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ।
सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय सिनेमा हो। दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो। मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्।
12
Shares

प्रतिक्रिया