भदौ २० गते रिलिज हुने फिल्म ‘रिमै’ को बुधबार भव्य प्रिमियरको आयोजना गरिएको थियो। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो ।
यो सिनेमाको प्रिमियर शो सुरु हुने अगाडी गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरुप सोरठी नाच समेत प्रस्तुत गरियो। सिनेमाका मुख्य दयाहाङ राई र रिश्मा गुरुङ गुरुङ समुदायको भेषभुषामा देखिए। प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका सेलिब्रेटीहरु पुगेका थिए।
फिल्म हेरिसकेपछि अभिनेता बाट निर्देशक बनेका विल्सन विक्रम राईले ‘रिमै’ मन छुने सिनेमा बनेको बताए। यो सिनेमा हालसम्म गुरुङ समुदायमाथि बनेको उत्कृष्ट सिनेमा भएको आफ्नो बुझाई रहेको उनको भनाई थियो।
फिल्मकी मुख्य अभिनेत्री रिश्मा गुरुङले पनि आफ्नो करिब ८ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेकाले सिनेमा हेरिरहँदा रोचक लागेका अनुभव सेयर गरिन्। ‘म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु। म जुन शहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ। त्यसैले अमेरिकामा रहँदा यो सवै मिस गरिरहेकी थिएँ। आज रिमै हेरिरहँदा त्यो सवै भुलेर नयाँ अनुभव बटुले । सिनेमा निकै राम्रो बनेको छ। लामो समयपछि काजी र मैंयाको जोडी पुन पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ,’ उनले भनिन् ।
यस फिल्मका निर्देशक खिलबहादुर गुरुङ आफुले विगत ३ वर्ष यता रातदिन रिमै बाहेक अरु केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुशी लागेको बताए । ‘हामीले इमान्दारीताका साथ सिनेमा निर्माण गरेका छौं । दर्शकले मन पराई दिनु हुन्छ भन्ने विश्वास छ । आज प्रिमियर शोबाट मिलेको प्रतिक्रियाले सिनेमाको व्यापारमा अझै प्लस गर्ने विश्वास छ,’ निर्देशक गुरुङले भने ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन्।
Shares

प्रतिक्रिया