कला


शान्तिश्री र रामजी खाँडको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी

शान्तिश्री र रामजी खाँडको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी

नेपालखबर
असार २९, २०८२ आइतबार १७:२, काठमाडौँ

चर्चिक लोक तथा दोहोरी गायिका शान्तिश्री परियार र गायक रामजी खाँडको गीतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।  राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले परियार र खाँडको गीतसहित तीनवटा गीतमाथि प्रहरीमा उजुरी दिएको हो। तीजको नाममा विकृति फैलाउने दुईवटा र एक सदाबहार गीतलाई साइबर ब्युरोमा पुगेर उजुरी दिएको संस्थाका सचिव कमल सरगमले जानकारी दिए। 

ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली, अस्मिता थापा, लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, खाँड र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको हो। खाँड र परियारको गीतको भिडिओमा नायिका प्रियंका कार्की, सुनिल क्षेत्रीसहितका कलाकारहरू नाचेका छन्।  

संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमद्वारा हस्ताक्षर भएको निवेदन ब्युरोका प्रवक्ता दीपक राज अवस्थीलाई हस्तान्तरण गरिएको उक्त संस्थाले जनाएको छ। 
   
उजुरी पत्र लिँदै ब्युरोका प्रवक्ता अवस्थीले तीनवटै  गीत र सम्बन्धित कलाकारमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको सचिव सरगमले जानकारी दिए। 

अश्लिलता फैलाउने र लोकगीतमा सुन्न नसकिने खालका विकृतिजन्य गीतमाथि लोकसञ्चारकर्मी नेपाललगायतको प्रतिबन्ध लगाएको विषयलाई साइबर ब्युरोले स्वागत गरेको छ। 

लोक सञ्चारका नेपालका अध्यक्ष चन्द्रमणि गौतमले निवेदन दर्ता गर्दै भने, 'हामी कसैलाई पनि लाखापाखा गर्दैनौँ। विकृतिजन्य सिर्जना गाउने र लेख्नेदेखि खेल्नेसम्मका जोसुकै कलाकार हुन्  उजुरि दिन्छौँ। प्रहरीले पनि हाम्रो उजुरीलाई सकारात्मक रुपमा स्वीकार्दै कारबाही प्रक्रिया अगाडि  बढाउछौँ भन्नुभएको छ हामी आशावादी छौँ।'

संस्थाका प्रवक्ता शिखर गजरकोटेले प्रहरीले गीतसंगीतका नाममा भएका विकृति हटाउन साथ दिन आग्रह गरे। उनले भने, 'तपाईँहरूले हामीलाई साथ दिनुभएको छ हामी पनि तपाईंको कदममा साथ दिन्छौँ विकृति जन्य गीत संगीत नियन्त्रणमा हामी प्रहरीसँगै हातेमालो गरेर अगाडि बढ्नेछौँ।'

त्यस्तै संस्थाका सचिव सरगमले निवेदन बुझाउँदै विकृति फैलाउने अन्य गीतमा पनि साइबरब्युरोको ध्यान जान जरुरी रहेको बताए। 

 'अब यी तीनवटा गीत मात्र होइन अन्य गीतहरूमा पनि प्रहरीको नजर पुग्नुपर्‍यो,' उनले भने, 'हामी तपाइँहरूसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौँ।'

लोकसञ्चारकर्मी नेपालले केही दिन अगाडि मात्रै गृहमन्त्री रमेश लेखकलाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो। लेखककै निर्देशनमा साइबर ब्युरोले अश्लिलता फैलाउने गीत संगीतहरूलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad