साताैँ हप्तामा प्रदर्शनरत फिल्म ‘अञ्जिला’ भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन गरिएको छ। नगर प्रमुख कैलाशकुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा चलचित्र ५ सय दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक मिलन चाम्सले बताए।
यस विशेष शोमा चलचित्रका निर्देशक मिलन चाम्स स्वयं उपस्थित रहे। चलचित्र हल भएपनि विविध कारणले बन्द भए भए पनि लगातार शो हुनु गौरवको विषय रहेको बताए।
‘चलचित्र हल नभएको स्थानमा लगातार शो हुनु आफैँमा ऐतिहासिक उपलब्धि हो। यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको छ,’उनले भने।
नगर प्रमुख आलेले चलचित्र ‘अञ्जिला’ जस्तो आशयपूर्ण फिल्म आफ्नो नगरपालिकामा प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता अर्थपूर्ण चलचित्रको प्रदर्शनका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए। साथै, उनले राज्यले गर्नुपर्ने काम चलचित्र टिमले गरेको भन्दै एन्जिलाको घर निर्माणका लागि नगरपालिकाको तर्फबाट ५० हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा पनि गरे।
निर्देशक चाम्सले देशभरका स्थानीय सरकारबाट आफुले यस्तै प्रकृतिको सहयोग अपेक्षा गरेको जनाए। हाल ‘अञ्जिला’ सातौँ हप्तामा प्रदर्शन भइरहेको छ। काठमाडौँ उपत्यकासहित देशभर गरी करिब ४० शोहरू जारी रहेका छन्। चलचित्र युनिटले वैशाख १९ गते चलचित्र प्रदर्शनको ५१ औँ दिन विशेष सेलिब्रेसन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।
गत फागुन २९ गते प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ ले वर्ष २०८१ को उत्कृष्ट पाँच चलचित्रको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ। वितरकका अनुसार यसको ग्रस व्यापार १० करोड माथि छ।
यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ। एन्जिला आफैँ फिल्ममा मुख्य भूमिकामा देखिएकी छिन्।
एञ्जिलासहित प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय छ। यस फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।
Shares

प्रतिक्रिया