कला


नयाँ दिल्लीसहित ११ भारतीय सहरमा जारी ‘नेपाल–भारत रङ्ग महोत्सव’ काठमाडौँमा पनि

नयाँ दिल्लीसहित ११ भारतीय सहरमा जारी ‘नेपाल–भारत रङ्ग महोत्सव’ काठमाडौँमा पनि

नेपालखबर
माघ २४, २०८१ बिहिबार १६:३२, काठमाडौँ

काठमाडौँमा बुधबारदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ। राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गरेको महोत्सव उद्घाटन समारोहमा मन्त्री पाण्डेले दुई देशको सहकार्यमा नाटक महोत्सव आयोजना हुनु खुसीको कुरा भएको भन्दै प्रशंसा गरे। उनले मन्त्रालयले कलासंस्कृतिको संरक्षणमा काम थालेको जानकारी गराउँदै यसरी कार्यक्रम गर्दा दुई देशको सम्बन्ध विस्तार हुनाका साथै आपसी अनुभव आदानप्रदान हुने पनि बताए।

प्रतिष्ठानकी कुलपति निशा शर्माले यसरी सहकार्यमा महोत्सव गर्दा कलासंस्कृति आदानप्रदान हुने बताइन्। उनले भनिन्, ‘नेपाल–भारत रङ्ग महोत्सवलाई एक अर्कासँग सिक्ने अवसरका रूपमा हेरिएको छ, एकअर्काको नाटक हेरेर त्यसबाट नयाँ सीप र कला सिक्न सकिन्छ, त्यो अवसर जुरेको छ।’

महोत्सवको उद्घाटनपछि सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो। यही ३० गतेसम्म चल्ने महोत्सवमा छ वटा नाटक प्रदर्शन गरिने प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन्यो। उनले जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने नाटकमध्ये तीनवटा नेपालका र तीनवटा भारतका प्रदर्शन हुने बताए। कुलपति शर्माका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा माघ १५ गते नै यस्तै महोत्सवसुरु भइसकेको र भारतका ११ सहरमा महोत्सव जारी छ।

भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव यहाँ पहिलो पटक भएको बताउँदै उनले यसपालि महोत्सवमा भारतको संस्कृति मन्त्रालयका निमित्त सचिवसहितका उच्चअधिकारीहरू पनि सहभागी भएका बताए।

महोत्सवअन्तर्गत बिहीबार नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ। महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ।

यही माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ।

कुलपति शर्माले महोत्सवमा सहभागी हुने नेपाल भारतका चर्चित नाटक केवल प्रस्तुति मात्र नभएर एकअर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरुको साझा संवाद हुने र छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

यहाँ प्रदर्शन हुने नेपाली नाटकहरुमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ काठमाडौँमा प्रदर्शन भइसकेपछि नयाँ दिल्लीमा प्रदर्शन हुने छन्भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौँमा प्रदर्शन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad