कला


‘सुपरस्टार’ बन्न खोज्दा ‘एक्टर’ बन्न चुकेका प्रदीप

‘सुपरस्टार’ बन्न खोज्दा ‘एक्टर’ बन्न चुकेका प्रदीप

अनिल यादव
माघ २४, २०८१ बिहिबार ११:५०, काठमाडौँ

‘राम्रो एक्टरले पर्फम मात्र गर्दैन, सिचुएसन अक्सेप्ट गर्छ र त्यही सिचुएसनअनुसार रियाक्ट गर्छ।’

अहिले क्यूएफएक्स लगायत देशभरका हलमा प्रदर्शन भइरहेको ‘एक्टरः टेक वन’ जम्माजम्मी यही ‘आइडिया’मा बनेको फिल्म हो। काठमाडौँको कुनै एक रेस्टुरेन्टमा फिल्मको स्क्रिप्ट बोकेर निर्देशकलाई कुरिरहेको छ, एउटा लेखक। हस्याङफस्याङ गर्दै उसको स्क्रिप्ट सुन्न आइपुगेको निर्देशक (निश्चल बस्नेत) सँग धेरै समय छैन। ऊ १० मिनेटभित्र स्क्रिप्ट सिध्याउन लेखकलाई ताकिता गर्छ। 

त्यसपछि सुरु हुन्छ, ‘एक्टर टेक वन’को कथा। अर्थात्, भनौँ सुपरस्टार बन्ने महत्त्वाकांक्षा बोकेका कुशल खड्का (प्रदीप खड्का)को कथा। जसोजसो कुशलको कथा अघि बढ्दै जान्छ, उसोउसो सुरुमा कफी पिउन पनि समय नभएको निर्देशकको कुतूहल जाग्दै जान्छ। 

यो कथामा कुशलले एक्टर बन्नका लागि ‘पर्फम’मात्रै गरेर पुग्दैन, उसले संघर्षका क्रममा आइपर्ने परिस्थितिलाई स्वीकार गर्दै, त्यही परिस्थितिअनुसार रियाक्ट गर्नुपर्छ।

झट्ट सुन्दा रोचक छैन त ‘आइडिया’? सिनेमामा नयाँ पुस्ता आउनु भनेको नयाँ आइडिया भित्रिनु हो। यसर्थमा राजन भुसालको प्रयत्न तारिफयोग्य छ। तर, फिल्म बन्नका लागि आइडिया मात्रैले पुग्दैन। आइडियाको विकास कथामा हुनैपर्छ। 

यो सिनेमा खासमा एकजना पात्रको कथा हो, कुशल। जो एक्टर होइन, सुपरस्टार बन्न चाहन्छ। जोसँग उच्च आत्मविश्वाससँगै उच्च महत्त्वाकांक्षा पनि छ। फिल्म हेर्दा यस्तो लाग्छ, बाँकी पात्रहरू त यो पात्रको आवश्यकताअनुसार निर्देशकले बलजफ्ती उभ्याइरहेका छन्। 

सुपरस्टार बन्ने लक्ष्य बोकेका कुशल डेब्यु सिनेमाको खोजीमा हुन्छ। फिल्म निर्माणको बहानामा विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहको नजरमा पर्छ ऊ। उसलाई स्टार बनाउने सपनासहित प्रमुख पात्रमा अनुबन्धित गरेर निर्देशक विवेक शर्मा (दिव्य देव)ले फिल्मको सुटिङ थाल्छ। सुटिङ आधा पनि नसकिँदै प्रहरीले सुटिङको बहानामा भएको सुन तस्करी थाहा पाउँछ। 

त्यसपछि निर्देशक पुग्छ, प्रहरी खोरमा। कुशलको स्टार सपनामा ‘ब्रेक’ लाग्छ। कुशललाई जसरी पनि फिल्म खेल्नु छ। हिरासतमा पुगेका विवेक उनलाई स्टार बनाएरै छाड्ने ‘ललिपप’ देखाउँछ। फिल्म सुटिङ जसरी पनि सिध्याएर रिलिज गर्नका लागि आफूसँग एउटा योजना भएको बताउँछ। त्यही योजना पछ्याउने क्रममा कुशलले भोग्ने घटनाक्रम नै यो फिल्मको कथा हो। 

यो फिल्मको सबैभन्दा महत्त्वपूर्ण पात्र कुशलको क्यारेक्टर नै विश्वसनीय हुनबाट चुकेको छ। न उसले दर्शकमा भावनात्मक सम्बन्ध नै गाँस्न सक्छ। फिल्मको सुटिङ रोकिएपछि उसले लिएको गाडीदेखि अपार्टमेन्ट सबै गुम्छ तर त्यतिबेला पनि यो पात्रप्रति दर्शकलाई दया जाग्दैन। 

विवेकको योजनाअनुसार कुशललाई धीरजंग (राजवल्लभ कोइराला)को घरसम्म पुग्नु छ। त्यसका लागि ऊ पोखरामा रहेकी धिरजंगकी छोरी प्रेरणा (दिव्या रायमाझी) भेट्न पुग्छ। प्रेरणालाई फकाउन पनि यहाँ कुशलले मेहनत गर्नुपर्दैन, उसको गितारको धुनले आफँै मोहित हुन्छे प्रेरण।

प्रमुख पात्रको सबैभन्दा ठूलो उद्देश्य कसरी प्राप्त होला त? दर्शकमा उत्सुकता हुनु स्वाभाविक हो। जसका लागि कुशलले प्रेरणासँग झुटो प्रेमको नाटक गरिरहेको छ। असली प्रेमिका प्रकृति (आना शर्मा)सँग पनि बच्नु छ उसलाई। 

कुशलको प्रमुख उद्देश्य भनेको धीरजंगको घरभित्र प्रवेश गर्नु हो। जसका लागि प्रेरणा र प्रकृति एउटै अपार्टमेन्टमा बसेको थाहा पाउँदा पनि ऊ परिस्थितिलाई स्वीकार गर्दै ‘रियाक्ट’ गरिरहेको छ। तर, निर्देशकले प्रमुख पात्रको यो उद्देश्य यति सहजै सफल बनाइदिन्छन् कि दर्शक जिल खान्छन्। प्रमुख पात्रले कुनै संघर्ष नै गर्नुपर्दैन। एउटा दुर्घटना गराएर त्यति सहजै प्रोटागोनिस्टलाई एन्टागोनिस्टको घरमा पुर्‍याउनु थियो भने पोखरा पठाएर प्रेरणा फकाउनुपर्ने किन? पात्रले चाहेको कुरा निर्देशकले यति सहजै पुर्‍याइदिएपछि कथा रोचक कसरी हुन्छ? 
जब निर्देशकले आफूलाई कथाको सेवक होइन, मालिक ठान्न थाल्छ त्यसपछि हुने भनेकै यस्तो दुर्घटना हो।

फिल्मको पहिलो हाफमा कथाले लय समात्न सकेकै छैन। प्रहरीले सुटिङस्थलबाट सुन पक्राउ गरेसँगै कथामा उच्च तनाव र द्वन्द्वको विकास हुन सकेको भए कथावाचनका हिसाबले यो फिल्म अत्यधिक प्रयोगात्मक सिनेमा बन्न सक्थ्यो। दोस्रो हाफको अन्त्यतिर निर्देशकले फिल्ममा केही सस्पेन्स सिर्जना गर्न त खोजेका छन् तर प्रमुख पात्रलाई सुरुदेखि नै विश्वसनीय ढंगले अघि नबढाउँदा त्यो पनि अर्थहीन बन्न पुगेको छ। 

फिल्मभित्र विमानस्थलमा हुने सुन तस्करीको अनुसन्धानमा एकजना इन्सपेक्टर नेतृत्वको टोली खटाइएको देखाइएको छ। पहिलो त उपत्यकाभित्र प्रहरी वृत्तहरूको इन्जार्च पनि डीएसपी हुने गर्छन्। झन् त्यसमाथि सुन तस्करीमाथिको अनुसन्धान प्रायःजसो सीआईबी एवम् काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्ने गर्छ। तर, यहाँ प्रहरीलाई पंगु देखाउन निर्देशकले सामान्य प्राविधिक ज्ञान पनि राख्न आवश्यक नठानेको देखिन्छ। 

यो पुराना अभिनेता राजबल्लभ कोइरालाको कमब्याक फिल्म हो। कतिपय दर्शक उनको कमब्याक हेर्नकै लागि पनि हलसम्म पुग्न सक्छन्। तर हलभित्र पुगेपछि सबैभन्दा खट्किने प्रश्न हो– राजबल्लभको कमब्याक क्यारेक्टर यस्तै हुनुपर्ने हो त? यो फिल्ममा यो पात्रको औचित्य के? यो पात्रका कारण कथामा त्यस्तो ठूलो अवरोध के आयो? प्रमुख पात्रलाई के खतरा भयो यो एन्टागोनिस्टबाट? निर्देशकले उनको उपस्थितिको उचित जवाफ फिल्ममा पेस गर्न सकेका छैनन्। 

दुर्घटनामा परेको कुशल प्रेरणा र प्रकृतिकै घरमा हुनु, उनीहरूकै अगाडि खाना खानु तर आधा अनुहार देखिएको अवस्थामा पनि दुवैले उसलाई नचिन्नु, यो फिल्मको अर्को हास्यास्पद पाटो हो। हलमा फिल्म हेर्दै गर्दा छेउका दर्शक पनि कानेखुसी गर्दै थिए– ‘आफ्नै ब्वयफ्रेन्डलाई पनि कसरी चिनिन हौ? हामी त गन्धले थाहा पाउँछौँ त!’

प्रमुख पात्र विश्वसनीय बनाउन नसक्दा निर्देशकले फिल्ममा ‘इमोसन्स’ सिर्जना गर्न सकेका छैनन्। निर्देशकलाई प्रदीपको अनुहार पनि देखाउनु छ, अनि कथाभित्र चाहिँ दर्शकलाई पूरै नचिनिएको अनुभूत पनि गराउनु छ? यही द्विविधा कारण उनी चिप्लिएको सहजै अनुमान गर्न सकिन्छ। 

दृश्यका हिसाबले फिल्म झकिझकाउ छ। ठुल्ठूला महल र चिल्ला गाडीहरू प्रशस्तै देखाइएका छन्। ब्याकग्राउन्ड स्कोर पनि फिल्मको मुडअनुसार नै बजेको छ। तर फेरि पनि भन्नुपर्छ, फिल्म मूलतः पटकथामै चुकेको छ। 

यो फिल्ममा प्रदीप खड्काको अभिनय कमजोर छ। उनको पात्रसँग दर्शकले कुनै अपनत्व महसुस गर्दैनन्।  फिल्म हेर्दा पूरै थाकेजस्तो देखिन्छन् उनी। अभिनय त परिष्कृत हुँदै जानुपर्ने हो तर सम्भवतः उनको फिल्म करिअरकै सबैभन्दा कमजोर अभिनय भएको फिल्म हो यो।

यो फिल्ममा आना शर्मालाई हेरेपछि दर्शकले ‘जेरी’मा अनमोल केसीकी प्रेमिका बनेकी आना ‘मिस’ गर्न सक्छन्। बरु यही फिल्मबाट डेब्यु गरेकी दिव्या रायमाझीको अभिनय ठिकठाक छ। यो फिल्ममा छोटो भए पनि सबैभन्दा लोभलाग्दो अभिनयचाहिँ अनोज पाण्डेको छ। इन्सपेक्टर शिव कोइरालाको भूमिकामा उनी स्वाभाविक र जीवन्त लाग्छन्। 

यो फिल्ममा प्रदीपले निर्वाह गरेको पात्रले सधैँ भन्ने गर्छ– ‘म एक्टर बन्न आएको होइन, सुपरस्टार बन्न आएको हो।’ यो फिल्म हेरेपछि लाग्छ, यो संवाद उनकै वास्तविक जीवनमा लागू हुन्छ। अर्थात्, उनी सुपरस्टार त बने होलान्, तर एक्टर हुन अझै बाँकी छ। 

अन्तिम दृश्यमा फिल्म घोषणा गर्ने क्रममा निर्देशकले भन्छन्, ‘फिल्म राम्रो बन्न लागि स्क्रिप्ट नै चाहिन्छ।’ यो फिल्मको सिक्वेल घोषणा भइसकेको अवस्थामा निर्देशकले नै सबैभन्दा पहिले यो सुझाव मनन गर्न आवश्यक देखिन्छ। 

फिल्मको मध्यान्तरतिर पात्रले हुँदै नभएको फिल्मको सुटिङको नाम राखेका हुन्छन्– न यताको, न उताको। खासमा यो फिल्मको कथा पनि त्यस्तै छ– न यताको, न उताको। न सुन तस्करीको कथा राम्रोसँग भन्न सकेको छ, न प्रेमकथा, न सुपरस्टार बन्नका लागि संघर्षरत कुशलको कथा। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad