राजनीति


उपेन्द्रलाई बूढानीलकण्ठ बोलाएर देउवाले गरे अध्यादेशबारे छलफल

उपेन्द्रलाई बूढानीलकण्ठ बोलाएर देउवाले गरे अध्यादेशबारे छलफल

नेपालखबर
माघ २३, २०८१ बुधबार २३:१, काठमाडौँ

सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जसपाका अध्यक्ष उपेन्द्र यादव र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच आज (बुधबार) साँझ देउवा निवास बूढानीलकण्ठमा भेट भएको हो।

‘कांग्रेस सभापति देउवाले अध्यादेशलगायतका विषयमा छलफल गर्न भनेर बोलाएपछि पार्टी अध्यक्ष यादव बूढानीलकण्ठ जानुभएको थियो,’ उपेन्द्रनिकट स्रोतले नेपालखबरलाई बतायो।  

दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको छ। यादवलाई भोलि (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नका लागि बोलाएको पनि स्रोतले बतायो। 

स्रोतले भन्यो, ‘बिहान प्रधानमन्त्रीलाई भेटेर छलफल गर्ने तय भएको छ। त्यहीअनुसार अध्यक्ष प्रधानमन्त्री ओलीलाई भेट्न जानुहुनेछ।’ 

ओलीसँग छलफल गरेलगत्तै यादवले पार्टीले अध्यादेश अध्ययनका लागि बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्ने र थप निर्णय संसदीय दलको बैठकले गर्ने जसपा नेताहरूको भनाइ छ। बिहीबार दिउँसो संसद् बैठक बस्दै छ। त्यसअघि अध्यादेशमा यादव नेतृत्वको दललाई मनाउन ओली देउवा कस्सिएका छन्।   

संसद्मा अध्यादेशको विपक्षमा ५१ वटा सूचना दर्ता भएका छन्। यी सूचना सामूहिक रूपमा विपक्षमा रहेका दलका तर्फबाट एकजनाले अस्वीकृतिको प्रस्ताव पेस गर्नेछन्। 

सरकारले ल्याएको अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत हुनुपर्छ। अध्यादेश स्वीकृत भए संसद् सुरु भएको ६० दिनसम्म जीवित रहन्छ। तर अस्वीकृत भयो भने तत्कालै अध्यादेश निष्क्रिय हुनेछ। 

माघ १८ बाट हिउँदे अधिवेशन सुरु भएको थियो। सरकारले अधिवेशनको मुखैमा ६ अध्यादेश ल्याएको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad